पहिलो नजरमै एकले अर्कोलाई मन पराए

चन्द्रा रिजाल/भगिराम शर्मा

समय आफ्नै रफ्तारमा अगाडि बड्छ । हिजो समाजमा भएको चलन अहिले छैन । पहिले समाजका आफ्नै मान्यता र अहिलेको मान्यतामा फरक भइरहेको छ । विगतमा परिवार त्यसमा पनि आमाबुवाको निर्णय नै अन्तिम हुन्थ्यो । अर्थात सन्तानले अभिभावकको अनुमति विना निर्णय लिन सक्ने अवस्था थिएन । त्यहीकारण पनि त्योबेला परिवारले नै विहे गरिदिन्थे । अहिलेको जस्तो आपसमा प्रेम गरेर विहे गरिहाल्ने अवस्था उबेला थिएन । विहेपछि मात्र एकले अर्कोलाई चिन्ने मौका मिल्थ्यो । परिवारले विहेका लागि भेट गराउँदा मात्र केटाकेटीले एकअर्कोलाई देख्न पाउँथे । यस्तै भयो जाजरकोटका भगिराम शर्मा र दैलेखकी चन्द्रा रिजालको जीवनमा पनि । विहे हुँदासम्म उनीहरुबिच बोलचाल नै हुन पाएन । विहेपछि कुराकानी हुँदै जाँदा मात्र उनीहरुबिच गहि रो माया बस्यो । प्रस्तुत छ, यो जोडीसँग गरिएको कुराकानीको साराशं :

छिमेकीमार्फत चिनजान
भगिरामको उमेर बढ्दै गयो । उनी २१ बर्षका थिए । उमेर बढ्दै गएपछि घरमा बिवाहको चर्चा चल्न थाल्यो । उनलाई बिवाह गर्न दबाब थियो । २०५२ साल फागुन महिनाको कुरा हो । भगिरामको छिमेकीले एउटा प्रस्ताव लिएर उनको घरमा पुगे । ति छिमेकीले भगिरामको बुवालाई भने, ‘दैलेखकी एक जना केटी छन्, उनैसँग भगिरामको बिवाह गराइदिऔं ।’

भगिरामको बुवाले पनि त्यो कुरालाई इन्कार गरेनन् । कुरा अगाडि बढाउन भने । अनि चन्द्राको घरमा यो प्रस्ताव लिएर गए । चन्द्राको परिवारले पनि केटाको बानी र व्यवहार हेर्ने भन्दै केटालाई लिएर आउन आग्रह गरे । त्यसपछि भगिरामका छिमेकी फेरि भगिरामलाई लिएर चन्द्राको घरमा गए । त्यतिबेला पहिलो पटक भगिरामले चन्द्रालाई देखे । देख्नवित्तिकै उनले चन्द्रालाई मन पराए । चन्द्राले पनि भगिरामलाई मन पराइन् ।

परिवारले टुंगो लगायो
विहे केटाकेटीको भेट गराएपछि दुबै परिवारले बिवाह गरिदिने निधो गरे । दुबै परिवारको सहमती अनुसार भगिरामको परिवार चन्द्रालाई माग्न गए । त्यतिबेला कुराकानी गर्ने कुनै माध्यम थिएन । भगिराम भन्छन्, ‘अहिलेको जस्तो कुराकानी गर्ने माध्यम भएको भए कुराकानी हुन्थ्यो होला, देखेपछि कतिबेला कुराकानी गरौँ जस्तो हुन्थ्यो । तर एकपटक पनि कुराकानी भएन ।’ चन्द्राको परिवार पनि वीरेन्द्रनगरमै सानो चिया पसल गरेर बसेको थियो । कहिलेकाँही भगिराम त्यहाँ गएर चिया खान्थे । चिया चन्द्राले नै बनाएर दिन्थिन् ।

तर लाजले एकपटक पनि बोलाउने र बोल्ने काम भएन । केही महिनापछि बिवाह गराइदिने घर परिवारको सहमति थियो । त्यही सहमति अनुसार २०५२ साल चैत १५ गते रामनवमीको दिनमा बिवाह भयो । बिवाह गर्दा भगिराम २१ बर्षका थिए भने चन्द्रा १८ बर्षको थिइन् । बिवाह भएर आउँदा चन्द्रालाई केही नरमाइलो अनुभुति भइरहेको थियो । कसैसँग पनि चिनजान नभएको बिरानो लाग्थ्यो । उनी केही समयपछि विस्तारै घुलमिल हुँदै गइन् ।

विहेपछि मात्रै बोलचाल
बिवाह भएको दुई दिनपछि मात्र उनीहरुको बोलचाल भयो । शुरुमा भगिरामले नै बोलाए । उनले बोलेको पहिलो शब्द थियो, तिमी र म त बुढाबुढी हौँ हैन र ? अनि चन्द्रालाई केही लाज लागेको थियो । तर उनी पनि भगिरामसँग बोल्न आतुर थिइन् । उनले लजाउँदै त्यसको जफाव दिदै भनिन, ‘तपाइँ हाम्रो घरमा जाँदा नै मलाई आफ्नै बुढोको अनुभुति भइसकेको थियो ।’ अनि दुबै जनाको बोलचाल शुरु भएपछि धेरै कुरा शेयर हुन थाल्यो । एक हिसावले भन्दा उनीनहरुको प्रेम विहेपछि मात्र सुरु भयो ।

अनि लभ परयो
नयाँ साल (बर्ष) सँगै उनीहरु मायाको संसारमा डुबेका हुन् । अहिलेका युवायुवतीहरु पहिले मायामा डुबेपछि मात्र विहे गर्छन् । तर त्यतिबेला त्यस्तो चलन थिएन । उनीहरुको बिचमा जब बोलचाल र कुराकानी हुन थाल्यो, तबमात्र माया बस्न थाल्यो । अनि दुबै जनाले मायाको अनुभुति गर्न थाले । जुनसुकै ठाउँमा जाँदा पनि सँगै जाने, सँगै खाने र हरेक कुरामा सल्लाह गर्न थाले । अझभन्दा बिवाहपछि मात्रै उनीहरुको लभ पर्यो । हनीमुन भन्ने त्यतिबेला नाम नै सुनिन्थेन ।

संघर्षले सफलतातर्फ
उनीहरुले धेरै संघर्ष गर्नुपर्यो । भगिराम डेढ बर्षको हुँदा नै उनको आमाको आमाको निधन भयो । सानो छँदै आमा गुमाएका उनले बाल्यकालदेखि नै दुख र मेहेनत गर्दै आएका थिए । बुवाले नै भगिरामलाई हुर्काए । बिवाहपछि पनि उनले धेरै मेहेनत गर्नुपर्यो । एकातिर घरपरिवारको जिम्मेवारी बढेको थियो भने अर्कोतर्फ आफ्नो जीवनलाई सहज बनाउनु थियो । चन्द्रा पनि मेहेनती थिइन् । दुबै जनाले सल्लाह गरेर वीरेन्द्रनगरमा चिया पसल संचालन गरे । त्यही पसलबाट आम्दानी हुन थालेपछि जीवन चलाउन केही सहज भयो ।

लगत्तै भगिराम साविकको छाप्रेमा रहेको उपस्वास्थ्य चौकीमा कार्यालय सहायकमा नियुक्त भए । त्यसपछि घरपरिवार चलाउन अझै सहज भयो । यता चन्द्राले पनि व्यापारलाई बढाउँदै गइन् । उनको आम्दानी पनि बढ्दै गयो । भगिरामले २०६७ मा खरिदारमा नाम निकाले । उनीहरु दुबै जनाको आम्दानी बढ्दै गएपछि वीरेन्द्रनगरमा घरजग्गा जोडेर सहजताका साथ जीवन निर्वाह गरिरहेका छन् । छोराहरु पनि पढाईसँगै विभिन्न व्यवसायमा लागेका छन् । यसरी सामान्य निम्न परिवारबाट यहाँसम्म आउनुमा एकअर्का साथ र सहयोग भएको उनीहरु बताउँछन् ।

कस्तो थियो बाल्यकाल ?
बुवा जयलाल शर्मा र आमा खड्कदेवी शर्माको कोखबाट विस २०३१ साल फागुन २३ गते जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ३ चुवामा भगिराम शर्माको जन्म भयो । उनी घरको कान्छो छोरा हुन् । उनको एक जना दाई छन् । उनको बुवाले कृषि पेशा गर्दथे । सामान्य परिवारमा जन्मिएका उनको ११ बर्ष सम्मको बाल्यकाल गाउँमै वित्यो । ५ कक्षा सम्म जाजरकोटमै पढेका उनले सानैदेखि दुख गरेका हुन् । उनीहरु वीरेन्द्रनगर आए । वीरेन्द्रगरमा आएपछि उनले ९ कक्षासम्म पढे ।

घरको आर्थिक अवस्था कमजोर हुँदा उनले पढाइलाई रोक्नुपर्यो । अनि सामान्य जागिरमा जोडिएपछि उनले फेरी पढाइलाई निरन्तरता दिए । उनले प्लस टुसम्म पढेका छन् । यस्तै बुवा गणेशप्रसाद जैसी र आमा रुपा रिजालको कोखबाट विसं २०३४ साल जेठ ४ गते दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ६ पिलाडीमा चन्द्रा रिजालको जन्म भएको हो । उनी घरको जेठो छोरी हुन् । उनका नौ दिदी बहिनी र एक भाई छन् । त्यतिबेला छोरीहरुलाई पढाउने चलन थिएन । उनले सामान्य कक्षा बाहेक पढ्न पाइनन् । मिलनसार र मेहनति स्वभावकी उनले सबैको भावना बुझ्न सक्छिन् ।

सल्लाह र सहकार्य
यो जोडीले जुनसुकै काम गर्दा पनि सल्लाह र समझदारीमा गर्छन् । काम गर्नुभन्दा पहिले उनीहरुको बिचमा छलफल हुन्छ । सानो कुरामा पनि सल्लाह गरेर काम गर्छन् । प्रायः भगिराम जागिरका कारण फुर्सद पाउँदैनन् भने चन्द्राले आफ्नो व्यापारमा व्यस्त भएको हुँदा कहिलेकाँही फुर्सद मिलाएर रमाइला ठाउँहरुमा घुम्न पनि जान्छन् ।

तपाईको प्रतिक्रिया