२७ बैंकका कर्मचारीले २८ अर्ब रुपैयाँ बुझे तलव भत्ता

काठमाडौं, २५ माघ ।
२७ ओटा वाणिज्य बैंकको कर्मचारीलाई दिइने तलव भत्ता वापतको रकम १८ दशमलव शून्य ९ प्रतिशतले वृद्धि भएको छ । वाणिज्य बैंकहरुले जारी गरेको चालू आव २०७८÷७९ को दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार बैंकहरुले कर्मचारी तलवभत्तामा २८ अर्ब २२ करोड रुपैयाँ खर्च गरेका छन् । गत आव २०७७÷७८ को दोस्रो त्रैमाससम्म यस्तो खर्च २३ अर्ब ९० कारोड रुपैयाँ रहेको थियो ।

वित्तीय विवरणअनुसार कर्मचारी तलवभत्तामा सबैभन्दा बढी खर्च एनआईसी एशिया बैंकले गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्म यो बैंकले १ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ । गत आ.व.को तुलनामा यो बैंकले ३५ प्रतिशतले कर्मचारी तलव भत्तामा खर्च बढाएको हो । गत आवको दोस्रो त्रैमाससम्म यो बैंकले १ अर्ब ३७ करोड रुपैयाँ कर्मचारी तलवभत्तामा खर्च गरेको थियो ।

त्यस्तै दोस्रो बढी खर्च गर्नेमा ग्लोबल आइएमई र तेस्रोमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । ग्लोबल आइएमई बैंकका कर्मचारीलाई दिइने तलवभत्ता गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्म ६ दशमलव ५२ प्रतिशतले वृद्धि भएको छ । यो बैंकले चालू आवको दोेस्रो त्रैमाससम्म १ अर्ब ७३ करोड रुपैयाँ कर्मचारीको तलवभत्तामा खर्च गरेको छ । सोही अवधिमा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई दिइने तलवभत्ता वापतको रकम गत आवको दोस्रो त्रैमाससम्मको तुुलनामा १७ दशमलव ८२ प्रतिशतले वृद्धि भएर चालू आवको दोस्रो त्रैमास सम्ममा १ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।

सबैभन्दा बढी खर्च वृद्धि सिटिजन्स बैंकको
गत आवको दोस्रो त्रैमास सम्मको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्म कर्मचारीका लागि तलव भत्तामा खर्च सबैभन्दा बढी वृद्धि सिटिजन्स बैंकको छ । यो बैंकको कर्मचारीलाई दिइने तलव भत्ता खर्च ५२ दशमलव ५४ प्रतिशतले वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमाससम्म यो बैंकले कर्मचारीलाई तलव भत्ता बापत दिने खर्च ५५ करोड ९५ लाख रुपैयाँ रहेकोमा चालू आवको दोस्रो त्रैमासम्ममा वृद्धि भएर ८५ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै नबिल, सिभिल, एनआईसी एशिया, सिद्धार्थ र कुमारी बैंकको कर्मचारी तलव भत्ता शीर्षकमा ३० प्रतिशतभन्दा बढीले रकम वृद्धि भएको छ । त्यसैगरी प्राइम कमर्सियल, ग्लोबल आइएमई, कृषि विकास, नेपाल बैंक र हिमालयन बैंकले कर्मचारीको तलवभत्ता वापत दिने सकम १० प्रतिशतभन्दा रकमले वृद्धि भएको छ ।

तपाईको प्रतिक्रिया