सबैभन्दा ठुलो आईपीओे फागुन ४ गतेदेखि निष्कासनमा

काठमाडौं, २५ माघ ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले फागुन ४ गतेदेखि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले रु. ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । निष्काशन गरिने कुल ८ लाख ५० हजार कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता शेयर कर्मचारीहरूलाई सुरक्षित गरिएको छ ।

सर्वसाधारणले बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । यो वर्ष आइपीओ जारी गरेका मध्ये राष्ट्र उत्थानको आइपीओ नै सबैभन्दा ठूलो भएको राष्ट्र उत्थान लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सुधिर प्रसाद लोहनीले बताए । आइपीओमा छिटोमा फागुन ८ गतेसम्म र उक्त अवधिसम्म माग अनुसार आवेदन नपरे ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेवसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २६ करोड रुपैयाँ पुग्नेछ ।

लघुवित्तको संस्थापक सेयरमा ६४ प्रतिशत हिस्सा तीन ओटा बलिया वित्तीय संस्थाको रहेको कार्यकारी निर्देशक लोहनीले बताए । राष्ट्र उत्थानमा नेपाल ग्रामीण विकास संस्थाको ७ लाख ५० हजार कित्ता, राष्ट्रिय वाणिज्य बैंकको ५ लाख ५० हजार कित्ता र प्रभु बैंकको ३ लाख कित्ता शेयर स्वामित्व रहेको छ ।

आईपीओ निष्कासन पश्चात कम्पनीमा संस्थापक शेयरधनीको हिस्सा ६७ दशमलव ३१ प्रतिशत र कर्मचारीसहित सर्वसाधारण शेयरधनीको हिस्सा ३२ दशमलव ६९ प्रतिशत रहने छ । कम्पनीले चालू आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्म खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १४८ प्रतिशत वृद्धि गरेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा १ करोड ४८ लाख रुपैयाँ नाफा गरेकोमा चालू आवको सोही अवधिमा ३ करोड ६८ लाख रुपैयाँ नाफा गरेको छ ।

यस कम्पनीले ९५ ओटा शाखा कार्यालयमार्फत ग्रामीण भेगमा वित्तीय सेवा दिंदै आएको छ । दैलेख र कैलालीमा थप दुई ओटा शाखा खोल्ने तयारी अन्तिम चरणमा पुगेको कम्पनीले बताएको छ । आ.व. २०७७÷७८ को अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २६ दशमलव ९२ रुपैयाँ रहेको थियो भने कम्पनीले आर्थिक वर्ष २०७८÷७९ को अन्यसम्ममा ३० दशमलव ९८ रुपैयाँ पु¥याउने प्रक्षेपण गरेको छ ।

तपाईको प्रतिक्रिया