हिमापातले साढे चारसय क्वीन्टल जडिबुटी कुहियो

हुम्ला, २३ माघ ।
जिल्लाको दक्षिणी क्षेत्रको नेक्पा गाउँमा साढे चारसय क्वीन्टल जडिबुटी कुहिएर नोक्सान भएकोछ । पटक पटक भएको हिमपातले वनमा सङ्कलन गरेर राखिएको व्यापारीको जडिबुटी कुहिएर नोक्सान भएको हो । जडिबुटी ब्यापारी टेकबहादुर लामाले गत पुस यता पटक पटक परेको हिमपातले गर्दा साढे चार सय क्वीन्टल सेतक चिनी जडिबुटी कुहिएर खेर गएको बताउनुभयो ।

सङ्कलकले वनमा सङ्कलन गरिएको सो जडिबुटी खरिद गरेर राखिएकै समयमा हिमपात भएकाले कुहिएको उहाँले बताउनुभयो । खरिद गरेर राखेको नौ सय क्वीन्टल सेतक चिनी जडिबुटीमा आधा मात्र केलाएर राम्रोसँग निकाल्न सकिएको उहाँले बताउनुभयो । कुहिएर खेर जाँदा बीस लाख रुपियाँ बरावर नोक्सानी व्यहोर्नु परेको उहाँले बताउनुभयो ।

हिउँमा छोपिएको जडिबुटी निकाल्न १७ जना कामदारलाई ४९ दिन दैनिक एक हजार पाँचसय रुपियाँ ज्याला दिएर काममा लगाएर अतिरिक्त ज्याला व्यहोर्नुपरेको बताउनुभयो । हिमपातले ब्यापार नै बर्वाद भएको बताउदै उहाँले ठूलो नोक्सानी व्यहोर्नुपरेको बताउनुभयो । यता सिमकोट बिमानस्थलमा निकासीका लागि राखिएको जडिबुटी पनि दुई दिनको लगातार हिमपातले कुहिने अबस्थामा पुगेको छ । ब्यापारीलाई बिमानस्थलमा राखिएको जडिबुटी जोगाउन धौ–धौ भएको छ । जडिबुटी व्यापारी रामबहादुर बोहराले डेढसय क्वीन्टल जटामासी हिउँमा भिजेर कुहिने अबस्थामा पुगेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया