जडीबुटी संकलनबाट दुई करोडभन्दा बढी कमाइ

राजन रावत
हुम्ला, २० माघ ।
घना बस्ती भएको ठेहे गाउँका स्थानीयले ययवर्ष जडीबुटी संकलन गरेर दुई करोड भन्दा बढी रुपियाँ कमाइ गर्नुभएको छ । गत असोजदेखि मङ्सिर महिनामा वनबाट जडिबुटी सङ्कलन गरेर बिक्री गरेपछि सो कमाइ भएको हो । सिमकोट गाउँपालिका–२ का जोर बोहराले दुई पटक एक दिन पैदल हिडेर वनमा गएर संकलन गरेको जडीबुटी संकलनबाट दुई लाख कमाइ भएको बताउनुभयो ।

विगत वर्षमा भन्दा बढी कमाइ भएको बताउँदै जडीबुटी संकलनका लागि वन खुला भएको कारण कमाइ राम्रो भएको उहाँको भनाइ छ । बीस दिनमा दुई जना परिवारका सदस्यले जडिबुटी संकलनबाट सो कमाइ गर्नुभएको छ । जडीबुटीको कमाइले दैनिक गुजारादेखि अन्य घरायरी काम गर्न सहज भएको उहाँले बताउनुभयो । त्यसैगरि सोही गाउँका बली रावलले पनि यसवर्ष जडीबुटी सङ्कलन गरेर दुई लाख बीस हजार रुपियाँ कमाइ गरेको बताउनुभयो । उहाँ एक्लैले एक महिनासम्म वनमा गएर जडीबुटी सङ्कलन गर्नुभएको थियो ।

आम्दानीको मुख्य स्रोत जडीबुटी भएको बताउने उहाँले चाँडै हिमपात नभएको भए अझै कमाइ वृद्धि हुने बताउनुभयो । उहाँले जडीबुटी संकलन गरेर वनमै ब्यापारीलाई बिक्री गरेर नगद हात परेको उहाँको भनाइ छ । सो गाउँका जडीबुटी व्यापारी रामबहादुर भण्डारीले यसवर्ष ठेहे गाउँमा जडीबुटी संकलनबाट स्थानीयले दुई करोडभन्दा बढी कमाइ गरेको बताउनुभयो ।

कम कमाइ गर्ने परिवारले चालीस हजार कमाइ गरेको बताउँदै बढी कमाइ गर्नेले दुई लाख तीस हजारसम्म कमाएको उहाँले बताउनुभयो । बेरोजगार बढी भएको र घना बस्ती भएको ठेहे गाउँका लागि जडीबुटी नै आम्दानीको मुख्य स्रोत छ । उहाँले एक परिवारबाट कम्तीमा एक जना र बढीमा चार जनासम्म जडीबुटी संकलन गर्न जाने गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया