लैङ्गिकमैत्री रिपोर्टिङ गर्ने प्रतिबद्धता

सुर्खेत, ५ माघ ।
कर्णालीमा कार्यरत पत्रकारहरुले लैङ्गिकमैत्री रिपोर्टिङ गर्ने प्रतिबद्धता जनाएका छन् । सञ्चारमाध्यमहरु लैङ्गिकमैत्री भएमात्र सामाजिक रुपान्तरण पनि सम्भव हुने भन्दै उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । सञ्चार माध्यमबाट प्रकाशन तथा प्रशारण हुने सामग्रीमा लिङ्गकै आधारमा हुने विभेद न्यूनिकरणका लागि कलम चलाउने उनीहरुको भनाइ छ ।
लैङ्गिक संवेदनशील पत्रकारिता सम्बन्धी तालिममा सहभागि पत्रकारहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । मिडिया एक्सन नेपालले दुई दिनसम्म आयोजना गरेको कर्णाली प्रदेश स्तरीय उक्त तालिम बुधबार सम्पन्न भएको हो । तालिममा कर्णालीका नौ जिल्लाका २० जना पत्रकारहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्त, विज्ञहरु डा. समिक्षा कोइराला र मञ्जु कर्माचार्यले प्रशिक्षण दिएका थिए ।
सञ्चार माध्यममा लैङ्गिकमैत्री सामग्री उत्पादन गर्न र पत्रकारहरुलाई लैङ्गिकमैत्री रिपोटिंङबारे सीप प्रदान गर्ने उदेश्यले तालिमको आयोजना गरिएको मिडिया एक्सन नेपालका कर्णाली प्रदेश संयोजक ललितबहादुर बुढाले जानकारी दिए । उनका अनुसार एक महिनापछि पुनः दोस्रो चरणको तालिम आयोजना हुनेछ ।

May be an image of 7 people and text

तालिममा सहभागि पत्रकारहरु मध्ये तीन जनालाई लेखनबृत्ति पनि प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष पन्तले जानकारी दिए ।
ंतालिममा मिडियामा महिलाको सहभागिता, समाचारको स्रोतमा लैङ्गिक समानता, पत्रकार आचारसंहिताको पालनालगायतका विषयमा प्रशिक्षण दिइएको थियो । यस्तै कर्णालीमा उठाउन सकिने सवालहरुको बारेमा पनि तालिममा छलफल भएको छ । मिडिया एक्सन नेपालले सात वटै प्रदेश र काठमाण्डौं उपत्यकामा गरी एकसय ४० जना पत्रकारलाई लैङ्गिक संवेदनशील पत्रकारिता सम्बन्धि तालिम दिनेछ । तालिमले पत्रकारहरुको क्षमता विकास हुने र लैङ्गिकमैत्री समाचार लेखनमा सहयोग पुग्ने आयोजक संस्थाको अपेक्षा छ । मिडिया एक्सन नेपालले पत्रकारहरुको क्षमता विकासमा विभिन्न तालिम र कार्यक्रम संचालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया