सुर्खेत, ३ माघ ।
कर्णालीमा दुई लाख १६ हजार आठसय ८० हेक्टर जमिन खेतीयोग्य छ । जसमध्ये ९९ हजार नौसय ६३ हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउन सकिन्छ । तर हाल ३० हजार ३३ हेक्टर क्षेत्रफलमा मात्रै बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध छ । सिँचाइ सुविधा नभएकै कारण हाल प्रदेशभर ८२ हजार चारसय ५९ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा बाँझै रहेको छ ।
जसमध्ये सुर्खेतमा १७ हजार सातसय ५६ हेक्टर, रुकुमपश्चिममा दश हजार दुईसय ३४, सल्यानमा ६ हजार ६ सय १७, दैलेखमा आठ हजार ६ सय २४, जाजरकोटमा आठ हजार ६ सय ८६, डोल्पामा दुई हजार सातसय ४०, जुम्लामा १४ हजार ५१, कालिकोटमा नौ हजार दुईसय ३४, मुगुमा नौ सय १९ र हुम्लामा तीन हजार पाँच सय ९८ हेक्टर क्षेत्रफल खेतियोग्य जमिन बाँझै छ । खेतियोग्य जमिन बाँझै हुनु र खेति गरिएको जमिनमा पनि न्यून उत्पादन हुँदा कर्णालीमा हाल ४० प्रतिशत नागरिकले खाद्यान्न अभाव भोग्दै आएका छन् ।
यही समस्यालाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले पछिल्लो तीन बर्षमा खेतियोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउँदै उत्पादन बृद्धि गर्ने रणनीति अपनाएको छ । यही रणनीतिअनुसार चालु आर्थिक बर्षमा एउटै मन्त्रालयले ठूला लगानीका तीन सय वटा सिँचाइ आयोजनाहरु निर्माण गर्ने तयारी गरेको छ । प्रदेश सरकारको जलस्रोत तथा उर्जा विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लामा गरी तीनसय ५० वटा सिँचाइ आयोजनाहरु निर्माण गर्न लागेको हो ।
मन्त्रालयका अनुसार दैलेखमा सबैभन्दा बढी र जुम्लामा सबैभन्दा कम आयोजनाहरु निर्माण तथा सञ्चालन हुनेछन् । दैलेखमा ५० वटा र जुम्लामा २२ वटा सिँचाइ आयोजना सञ्चालन गर्न लागिएको छ । त्यस्तै सुर्खेतमा ४३ वटा, जाजरकोटमा ३७ वटा, कालिकोटमा ४२ वटा, हुम्लामा ३५ वटा, मुगुमा २८ वटा, डोल्पामा ३७ वटा, सल्यानमा २७ वटा र रुकुमपश्चिममा २९ वटा सिँचाइ आयोजनाहरु निर्माण गर्न लागिएको हो । आयोजना मध्ये अधिकांश नयाँ, केही पुराना र केही मर्मतसम्हार गर्ने योजना छन् ।
मन्त्रालयका सूचना अधिकारी ताराकेशर वाग्लेका अनुसार सिँचाइ आयोजना मध्ये क्रमागत आयोजनामा निर्माणको काम सुरु भइसकेको छ । मर्मतसम्हार र नयाँ आयोजनाहरु भने निर्माणको तयारीमा छन् । उपलब्ध बजेट कार्यान्वयन र आयोजना सम्पन्न गर्नेगरी जिल्ला मातहतका खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालयहरु पठाइ सकिएको छ । सबै सिँचाइ आयोजना निर्माण भएको खण्डमा उत्पादन बढ्ने सरकारको अपेक्षा छ ।
सुर्खेतमा मात्रै ४३ वटा ठूला सिँचाइ आयोजना
सुर्खेत मात्रै विभिन्न ४३ वटा ठूला सिँचाइ आयोजनाहरु निर्माण गर्न लागिएको छ । जसमध्ये भेरी नदीदेखि सेराघाट लिफ्ट सिँचाइ आयोजना, गोछेखोला सिरेनी लिफ्ट सिँचाइ आयोजना, सिम्ताको मुलखोलो सिँचाइ आयोजना, लेकवेशीको नरसिंङे सिँचाइ आयोजना, राक्से सिँचाइ आयोजना, चिङगाडखोला बेसिन सिँचाइ आयोजना र घाटगाउँ लिफ्ट सिँचाइ आयोजना सबैभन्दा ठूला सिँचाइ आयोजनाहरु हुन् ।
प्रदेश सरकारले चालु आर्थिक बर्षमा सेराघाटका लागि ७० लाख, राक्से र चिङ्गाड खोला बेसिन सिँचाइ आयोजनाका लागि ६०/६० लाख, नरसिंङे र घाटगाउँका लागि ५०/५० लाख र गोछेखोला र मुलखोला लागि ४०÷४० खाल बजेट छुट्याएको छ । नयाँ, मर्मतसम्हार र क्रमागत आयोजना अन्तरगत सबै स्थानीय तहमा सिँचाइ आयोजना निर्माण गर्न लागिएका हुन् । जसमध्ये लेकवेशी नगरपालिकामा मात्रै आठवटा (खारखोला बेवारे, तल्लो नारजले, नरसिङे, बाइसमुल, तालपोखरी, बाघखोर पोखरी आयोजना, चिसापानी चेप्टेढुङ, भट्टेघारी चन्द्रपुर र नारेको टप्पर) सिँचाइ आयोजना छन् ।
युग संवाददाता । । ३ माघ २०७८, सोमबार ०८:०३