‘हामीले प्रतिबद्धताभन्दा धेरै काम गरेका छौं’

नगेन्द्रबहादुर मल्ल अध्यक्ष, डुङ्गेश्वर गाउँपालिका, दैलेख

जनताको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार हो । जनप्रतिनिधिसँग सहजै पहुँच हुने भएकाले पनि नागरिकले स्थानीय सरकारबाट धेरै अपेक्षा गरिरहेका छन् । तर पनि स्थानीय सरकारले नागरिकको अपेक्षाअनुसार काम गर्न नसकेको गुनासो बढेको छ । साढे चार बर्षको अवधिमा स्थानीय सरकारले धेरै काम गरेका छन् । यद्यपि उनीहरुको काम विवादरहित भने हुन सकेका छैनन् । संघीयतापछि गठन भएका स्थानीय सरकारका पहिलो निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल सकिनै लागेको छ । उसो त निर्वाचन आयोगले आउँदो चैतमा स्थानीय तहको अर्को निर्वाचन गर्न प्रस्ताव पनि गरिसकेको छ । यो अवधिमा दैलेखको डुङ्गेश्वर गाउँपालिकाले के कस्ता काम गर्यो ? जनप्रतिनिधिले जनताको बिचमा गरेका प्रतिवद्धता पुरा भए त ? यीनै विषयमा केन्द्रीत रहेर दैलेखको डुङ्गेश्वर गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर मल्लसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

हिजोआज के गर्दै हुनुहुन्छ ?

अहिले जनताले दिएको जिम्मेवारीअनुसार पालिकाको काममा नै व्यस्त छु। हाम्रो पालिकाको पहिलो चौमासिक अवधिमा योजनाहरुको समिक्षामा छौं ।

केही समय बजेट होलिडे, बजेट निकासा लगायतले विकासका काम यो चौमासिकमा हुन सकेनन् । अब दोस्रो चौमासिकको लागि हामी तयारी तीव्र बनाइरहेका छौं । साथै अहिले हाम्रो पार्टीको अधिवेशन पनि चलिरहेको हुँदा त्यतातिर पनि केही समय दिएको छु।

विकासका काम कसरी भइरहेका छन् ?

हाम्रो कार्यकालको यो अन्तिम बर्ष पनि हो । आजसम्म भएका कामको समिक्षा त छदैछ । सँगै विकासका कामहरु भन्नुपर्दा हामीले पहिलो चौमासिकको ६० प्रतिशत काम भइरहेका छन् । भने दोस्रो चौमासिकका कामहरु अन्तर्गत टेन्डर पक्रिया शुरु भएको छन् ।

साथै संघीय सरकार खानेपानी योजनाको काम पनि अगाडी बढाउने अन्तिम तयारी छ । समग्र भन्नुपर्दा हाम्रा पूर्वाधार विकासका कामहरु सडक सुधार, विद्युत नपुगेक ठाउँमा सोलारको विस्तार, कोभिडबाट प्रभावित शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुलाई चलयमान गराउने कामहरु अहिले भइरहेका छन् । त्यसका साथै गाउँपालिका स्तरीय अस्पताल निर्माण पनि शुरु भएको छ ।

यो बर्षको बजेटका प्राथमिकता के छन् त ?

हामीले हरेक बर्षजस्तै पूर्वाधार क्षेत्रलाई नै प्रथामिकता दिएका छौं । पहिलो आवश्यकता भनेको पूर्वाधार नै भएकाले ती आवश्यकता पुरा गर्नेगरी बजेट कार्यान्वयनमा लिइएको छ । त्यससँगै शिक्षा, स्वास्थ्य कृषि, उद्यमशिलतालाई पनि हामीले प्राथमिकता दिएका छौं ।

त्यहीअनुसार काम पनि अगाडी बढिरहेको अवस्था छ । शैक्षिक गुणस्तर कायम गर्नेदेखि सबै नागरिकको पहुँचमा स्वास्थ्य पुर्याउनुका साथै निम्न वर्गलाई माथी उठाउने गरी हाम्रा कार्यक्रम विगतमा पनि थिए । अहिले पनि छन् । त्यसको कार्यान्वयन पनि शुरु भएको छ ।

गत बर्षको बजेट कार्यान्वयन भयो त ?

गत बर्षको बजेट कार्यान्वयनको कुरा गर्दा संघीय सरकार र प्रदेश सरकारका केही योजना बाहेक हाम्रा सबै योजना समयमै कार्यान्वयन भए । पूर्वाधारतर्फका योजना कोभिडका कारण केही समय रोकिए पनि हामीले ती योजना पुरा गर्यौ ।

समग्रमा हाम्रो गत बर्षको ९५ प्रतिशतभन्दा धेरै बजेट कार्यान्वयन भयो । हामीले समिक्षा गर्दा अन्य पालिकाभन्दा सन्तोषजनक बजेट कार्यान्वयन हाम्रो पालिकाको भयो । यो बर्षको बजेट कार्यान्वयन पनि हामीले समयमै सक्नेगरी तयारी गरिरहेका छांै । र त्यस अनुसारको काम अगाडी बढेको छ ।

किनभने योबर्ष हाम्रो कार्यकालको अन्तिम बर्ष हो । त्यसैले पनि हामीले हाम्रा योजना सममै कार्यान्वय पाँच बर्षमा गरेका प्रगति के हुन् त भनेर जनतालाई मुल्याङ्कन पनि गर्न दिनुपर्छ हैन र ?

यसको मतलव तपाइँ फेरि पनि चुनाव लड्नुहुन्छ ?

म निर्वाचन लड्छु भनेर त भनेको छैन । तथापि जनताको माग र पार्टीले टिकट दिएको खण्डमा पछाडीहट्दिनँ ।

फेरी मैले नै जग बसाएको पालिकाको काममा अरुभन्दा म आफै आएँ भने विकासका काम र नीतिगत व्यवस्थाहरुलाई अगाडी बढाउन सहज हुन्छ । जनताको माग भए म पछाडी हट्दिनँ ।

रोजगारी सिर्जना गर्ने योजना के छन् ?

हामीले पालिकाबाट विभिन्न उद्यमशिलता सम्बन्धिका सीपहरु सिकाउने काम गरेका छौं । विशेष गरेर बेरोजगार भएर बसेका निम्न वर्गहरुलाई लक्षित गरेर कृषि पशुपालनसँगै, सिलाइबुनाइ, साना उद्योग सम्बन्धीका सीपहरु सिकाउँदै आएका छौं । धेरै व्यक्तिहरु त्यसमा जोडिएर केही रुपमा स्वरोजगार पनि भइरहनुभएको छ ।

विदेशबाट फर्किएका युवाहरुले सिक्नुभएको सीपलाई विस्तार गर्न प्रत्येक वडाका दुई जना विदेशबाट फर्किनुभएका व्यक्तिहरुमार्फत अन्य मानिसहरुलाई सीप सिकाएर उद्यमी बनाउन लागेका छौं ।

साथै प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत पनि हामीले धेरैलाई बर्षेनी रोजगारी दिने गरेका छांै । समग्रमा अहिले मानिसहरु कृषि क्षेत्रमा, आफै उद्यमी बनेर स्वरोजगार भइरहेको अवस्था छ ।

जनताको बिचमा गरिएका प्रतिवद्धता पुरा भए त ?

हामी निर्वाचित भएर आउने बेला विद्यालयको बेन्चमा बसेर शपथ लिनुपर्ने अवस्था थियो । पालिकामा भौतिक संरचनाहरु थिएनन् । सबै वडामा सडक संजाल पुगेको थिएन । भने सबै जनताको पहुँचमा स्वास्थ्य, खानेपानी लगायतका पूर्वाधारहरु केही पनि थिएनन् । शिक्षाको अवस्था पनि लथालिङ्ग थियो ।

अहिले यी सबैलाई तुलना गर्ने हो भने धेरै परिवर्तन भएको छ । सबै वडामा बाह्रै महिना चल्ने सडक पुगेका छन् । सबै वडामा सेवासहित स्वास्थ्य पुर्याएका छौं । शिक्षा क्षेत्रको गुणस्तर कायम गर्ने काम भएको छ भने अहिले हाम्रा केही वडा बाहेक सबै वडाका भवनहरु निर्माण भइसकेका छन् ।

भने विद्युतको क्षेत्रमा भन्नुहुन्छ भने हामीेले ६५ प्रतिशत जनताको पहुँचमा विद्युत पुर्याइसकेका छौं । समग्रमा हामीले निर्वाचनमा गरेका प्रतिबद्धताभन्दा धेरै काम गरेका छांै । जनता हाम्रो कामदेखि सन्तुष्ट छन् ।

तपाईको प्रतिक्रिया