चुनौतीलाई छिचोल्दै सहकारीको व्यवस्थापकसम्म

मञ्जु तिवारी
व्यवस्थापक, हातेमालो जागरण सहकारी संस्था, सुर्खेत

मानिसले जीवनमा प्रगति र सफलता चाहन्छ । यसका लागि यसले मेहनत पनि गर्दछ । तर सबैलाई समयले साथ नदिन पनि सक्छ । मेहनत र दुख गर्दा पनि धेरैले जीवनमा असपलता भोग्दै आएका छन् । तर जसले दुखलाई आत्मसात गर्दै मेहनतलाई निरन्तरता दिए, आज उनीहरु सफल बनेका छन् । यस्तै मध्येकी एक हुन् वीरेन्द्रनगर नगरपालिका वडा नं ८ निवासी मञ्जु तिवारी । जो आज निरन्तरको मेहनतबाट सहकारी संस्थाको सफल व्यवस्थापक बन्न सफल भएकी छन् । आजको जम्काभेटमा उनै तिवारीसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

नयाँ लुगा लगाउन चाडपर्व कुर्नुपथ्र्यो

बुवा उमालाल कँडेल र आमा टिकाकुमारी कँडेलको कोखबाट २०३४ साल असार ८ गते दैलेखको साविक कुशापानी गाविसमा रहेको मामाको घरमा मञ्जुको जन्म भएको हो । मामाको घरमा तीन बर्ष बाल्यकाल विताएकी उनको घर भने सुर्खेतको साटाखानीमा थियो । उनको बाल्यकाल भने सुर्खेत लेकवेशीस्थित साटाखानीमा वित्यो ।
उनी घरको जेठो छोरी हुन् । उनका तीन भाईबहिनी छन् । सामान्य र निम्न आयस्रोत भएको परिवारमा जन्मिएकी उनका बुवाले भारतमा गएर घर खर्च टार्ने गर्थे । घरको मुख्य आम्दानीको स्रोत भनेको कृषि र पशुपालन थियो । उनी बाल्यकालदेखि नै मेहनती र परिश्रमी थिइन् । एकसरो कपडा फेर्नसमेत चाडपर्व नै कुर्नुपथ्र्यो ।
उनले चाडपर्वमा किन्ने कपडा पनि विद्यालय पोशाक नै हुन्थ्यो । एक बर्षमा नयाँ कपडा फेर्दा खुशी महशुस हुन्थ्यो । मञ्जुले ५ कक्षासम्म सुर्खेतको पिपिरामा पढिन् । ६ कक्षादेखि भने उनले अमरज्योति मावि नेवारेमा पढेकी उनले त्यही विद्यालयबाट २०५२ सालमा एसएलसी पास गरिन् । त्यही विद्यालयबाट नै प्लस टु गरेकी उनले व्याचलरसम्म पढेकी छन् ।

घरको काम सकेर विद्यालय

मञ्जुका बुवा घर खर्च टार्नको लागि र छोराछोरीको शिक्षाको भारतमा रोजागारीका लागि जान्थे । उनको आम्दानीको मुख्य स्रोत भनेको कृषि थियो । कृषिबाट मात्र घर खर्च टार्न समस्या थियो । मञ्जुका बुवा भारतमा गएर रोजगारी नगरे घर खर्च टार्न धौधौ हुने भएकाले पनि अधिकांश समय उनी भारतमै रोजगारीमा जानुपर्ने हुन्थ्यो । उनी घरको जेठी छोरी भएको हुँदा घरको काममा आमालाई सघाउनुपथ्र्यो ।

भाइबहिनी साना थिए । उनको आमाले सबै घर धन्दा गरेर एक्लै भ्याउन सक्ने अवस्था थिएन । त्यसैले पनि मञ्जुले आमालाई साँझ र विहान सघाएर विद्यालय जान्थिन् । अरु साथीहरु खेल्ने रमाइलो गर्ने गरे पनि उनी आफ् नो घरको काममा सानैदेखि मेहेनत गर्ने गर्थिन् । शान्त र सालिन स्वभावकी उनी धेरै मेहेनत गरे पनि गाउँका मानिसहरुले आमासँग मात्र हुर्केका छोराछोरी संस्कारी हुन सक्दैनन भन्थे । त्यसले उनलाई प्रेरणा मिल्यो । उनले जसरी भए पनि सफल हुन्छु भन्ने सोच बनाइन् । त्यही अनुसार आफ्ना भाइबहिनीहरुलाई पनि सम्झाउने काम गरिन् । उनले घरको सबै काम गर्न सिकेकी थिइन् ।

विहेपछि जिम्मेवारी थपियो

उतिबेला छोरीहरुलाई पढाउनुपर्छ भन्ने सोच गाउँका मानिसहरुले राख्थेनन् । उनको आमाले भने पाँच कक्षासम्म पढेकी थिइन् । उनको आमालाई शिक्षाको बारेमा जानकारी थियो । उनले घरमा पनि छोराछोरीलाई पढाइलाई पहिलो प्रथामिकता राख्न सहयोग गर्थिन् । छोराछोरीलाई जसरी भए पनि उच्च शिक्षासम्म पढाउनुपर्छ भन्ने सोच राख्थिन् । तर गाउँका सबै मासिनहरुले त्यस्तो सोच राख्दैन्थे । आमाको प्रेरणाले पनि मञ्जुले शिक्षा आर्जन गर्न पाइन् । तर उनी जब एसएलसी पास गरिन् । उनको बिवाहको चर्चा चल्न शुरु भयो । मञ्जुलाई बिवाहपछि पढाइ रोकिन्छ की ? भन्ने चिन्ता थियो । त्यतिकैमा उनको २०५२ सालमा सुर्खेतको कल्यानमा बिवाह भयो । बिवाहपछि उनको जिम्मेवारी धेरै थपियो । उनले अझै धेरै संघर्ष गनुपर्यो ।

गाउँबाट विस्तावित भएपछि पुन‍‌  : पढाइ

उनको बिवाह भएको बर्षदेखि नै माओवादी द्वन्द्व शुरु भयो । उनका श्रीमान् नेपाली सेनामा कार्यरत थिए । गाउँमा बस्ने वातावरण नभएपछि उनीहरु वीरेन्द्रनगर आएर बसे । त्यतीबेला उनीहरुको वीरेन्द्रनगरमा घरसमेत थिएन । माइतीको घरमा बसेका उनीहरु वीरेन्द्रनगरमै भविस्य खोज्न थाले । मञ्जुलाई भने पढाइलाई निरन्तरता दिने सोच थियो । त्यो कुरा उनको श्रीमान् बालाराम तिवारी समक्ष राखिन् । उनले पनि पढाउने कुरामा सकारात्मक थिए । अनि प्लसटु मा २०५५ सालमा भर्ना भइन् । फेरी पढाइलाई निरन्तरता दिइन् । उनका छोराछोरी जन्मि सकेका थिए । परिवारको जिम्मेवारी समेत बढ्दै गएको थियो ।

सामाजिक संस्थामा संलग्न

मञ्जुले विभिन्न सामाजिक संघसंस्थामासमेत काम गरेर समाजसेवा गरेकी छन् । उनी मानव सेवा आश्रमको महिला परिवारमासमेत रहेर काम गरिसकेकी छन् । उनले आश्रममा रहेका मानिसहरुको लागि आर्थिक सहयोगसमेत जुटाउने काम गरिन् । लायन्स क्लवको अध्यक्षसमेत भएर काम गरेकी उनी अहिले पनि लायन्स क्लवको जिल्ला अफिसर भएर सामाजिक काम गरिरहेकी छन् ।

जीवनमा संघर्ष

सानैदेखि संघर्ष गर्दै आएकी उनले विभिन्न अभावहरु झेल्न त पर्यो नै । जुनसुकै काम गर्न पनि धेरै संघर्ष गर्नुपर्यो । उनको घरको आर्थिक अवस्था सामान्य नै थियो । बिवाहपछि पनि उनको आर्थिक अवस्था सामान्य नै थियो । उनको श्रीमान् नेपाली सेनामा कार्यरत थिए । तर एक जनाको जागिरले सबै खर्च टार्न समसया नै थियो । एकातिर छोराछोरी स्याहार गर्नुपर्ने, अर्कोतर्फ आफ्नो आर्थिक जोहोसँगै पढाइलाई पनि निरन्तरता दिनुपर्ने अवस्था थियो । सबै कुरा व्यवस्थापन गर्दै उनले प्लस टु गरिन् । देशमा शान्ति स्थापना भइसकेको थियो । अनि दुबै जनाले आफ्नो करियर बनाउन मेहेनत गरे । उनीहरुले वीरेन्द्रनगरमा घरघडेरी समेत जोड्न सके । उनका श्रीमान् पनि नेपाली सेनाबाट अवकाश पाएर आए । मञ्जु विभिन्न सहकारीमा काम गर्न थालिन् भने उनको श्रीमान्ले व्यापार गर्न थाले । मञ्जुको जीवनमा सहजता हुँदै गयो ।
मञ्जु अहिले हातेमालो सहकारीको व्यवस्थापक छन् भने उनका श्रीमान् व्यापार गर्छन् । सानोदेखि संघर्षमा हुर्के बढेकी उनको अनुभवले संघर्षबाट नै जीवनलाई सहज बनाउन सकिने पुष्टी गर्छ । उनले अन्य व्यक्तीहरुलाई पनि दुखमा नआत्तिन सुझाव दिन्छिन् ।

भावी योजना
उनको नजरमा पछिल्ला पुस्ताहरुमा मौलिक संस्कार हराउँदै गएको छ । उनको भावी योजना भनेको आफ्ना छोराछोरीलाई राम्रो शिक्षादिक्षा दिएर ठुलो मान्छे बनाउने योजना छ भने राम्रो संस्कार सिकाउँदै समाज नै संस्कारी बनाउने योजना छ ।

तपाईको प्रतिक्रिया