‘ओमानलाई जितेर प्रशिक्षकको सुखद बिदाइ गर्छौँ’

मस्कट _ओमान । जति बेला नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेब वाटमोरले आफ्नो जिम्मेवारीबाट हट्ने निर्णय गरे, त्यति बेला नेपाली टिम ओमानको अल अमारतस्थित क्रिकेट एकेडेमीको मैदानमा अभ्यास गर्दै थियो । नेपालमा प्रशिक्षकले राजीनामा दिएको समाचार भाइरल बनिसक्दा खेलाडी भने बेखबर थिए ।

अभ्यासबाट होटेल फर्किंदा गाडीमा गाइँगुइँ कुरा हुँदा बल्ल प्रशिक्षकले पक्का गरेका थिए, आफूले राजीनामा दिएको कुरा । नेपालको प्रशिक्षकका रूपमा वाटमोरको ओमान भ्रमण अन्तिम हुनेछ । र, आइतबार ओमानविरुद्धको खेल अन्तिम खेल हुनेछ । त्यसैले खेलाडीहरू ओमान भ्रमणको अन्तिम खेलमा सुखद नतिजा निकाल्दै प्रशिक्षकको सुखद बिदाइ गर्न चाहन्छन् ।

‘‘जित्न त जित्नैपर्छ जसरी पनि । ओमानमा हामी जित्नकै लागि आएका थियौँ । अंक तालिकाको शीर्ष टिमहरूविरुद्ध जित्न सक्यौँ भने यस प्रतियोगितामा पछिलाई पनि सजिलो हुन्थ्यो भन्ने थियो,’’ नेपालका कप्तान ज्ञानेन्द्र मल्लले भने, ‘‘हाम्रो प्रशिक्षकको पनि सम्भवतः त्यो अन्तिम खेल हुनेछ । हामी जितेर उहाँलाई राम्रो फेयरवेल दिने विचारमा छौँ ।’’

ओमान भ्रमणमा नेपालले पीएनजीसँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो । दुवै खेलमा नेपाल विजयी भयो । त्यसपछि आईसीसी क्रिकेट विश्वकप लिग–२ मा पनि नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हरायो । दोस्रो खेलमा ओमानसँग ५ विकेटले हारेको नेपाल तेस्रो खेलमा अमेरिकासँग ६ विकेटले पराजित भयो । अब ओमान भ्रमणको अन्तिम खेल घरेलु टोलीविरुद्ध नै आइतबार अल अमारत क्रिकेट एकेडेमीको मैदानमा खेल्नेछ ।

ओमान प्रतियोगितामा अंक तालिकाको शीर्ष स्थानमा छ । ओमानले १२ खेलबाट २० अंक जोडेको छ । दोस्रो स्थानमा रहेको अमेरिकाले १५ खेलबाट १४ अंक जोडेको छ । सात खेलबाट ६ अंक जोडेको नेपालमा छैटौँ स्थानमा छ । नेपालभन्दा तल पीएनजी छ ।

हारको मुख्य कारण मध्यक्रममा साझेदारी नबन्नु आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल शुक्रबार अमेरिकासँग पहिलोपटक पराजित भयो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल अमेरिकासँग हारेको यो पहिलोपटक हो । त्यसकारण पनि नेपाललाई अन्तिम खेलमा जित्नका लागि दबाब छ । अमेरिकाविरुद्ध नेपालले कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो ।

अमेरिकाविरुद्ध कप्तान ज्ञानेन्द्र मल्लले ५५ रन बनाउनुबाहेक अरूले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । कुनै पनि समय नेपाली ब्याट्सम्यानले अमेरिकी बलरलाई दबाबमा राख्न सकेनन् । कप्तान ज्ञानेन्द्र पनि त्यसलाई हारको मुख्य कारण मान्छन् ।

‘‘यो स्तरमा आएर खेल्दा हामीले २२० भन्दा माथिको रन बनाउन सक्नुपर्थ्यो । सकेनौं । त्यसकारण पनि जित्न गाह्रो भयो । त्यसकारण हामीले ब्याटिङमा अझ राम्रो गर्न सक्नुपर्थ्यो,’’ ज्ञानेन्द्रले थपे, ‘‘सुरुमै विकेट गयो । मध्यक्रममा पनि साझेदारी गर्न चुक्यौँ । मध्यक्रममा राम्रो साझेदारी गर्न सकेको भए तल्लोक्रममा आउने करणहरूलाई फिनिसिङ दबाब हुँदैनथ्यो ।’’

अमेरिकाविरुद्ध कुशल मल्ल र गुल्सन झाले ओपनर स्टेभन टेलरको क्याच छुटाएका थिए । उनै टेलरले ९२ रन बनाए । कप्तान ज्ञानेन्द्रले त्यो दुई क्याच नछुटेको भए अमेरिकालाई दबाबमा राख्न सक्ने सम्भावना भए पनि ब्याटिङ नै मुख्य कमजोरी भएको बताए ।

‘‘क्रिकेटमा सधैँ यस्तो भएको भए भन्ने कुरा हुन्छ । त्यो विकेट लिएको भए हामीले अमेरिकामाथि अझ धेरै दबाब बनाउन सक्थ्यौँ होला । अर्को इन्डबाट अरू ब्याट्सम्यान खेल्न सकिरहेका थिएनन् । सानो स्कोर भएको खेलमा पाएको मौका गुमाउँदा गाह्रो नै हुन्छ,’’ ज्ञानेन्द्रले थपे, ‘‘फिल्डिङमा हाम्रो गल्ती भएकै हो । तर, हामीले ब्याटिङ नै राम्रो गर्न सकेनौँ । कमजोर ब्याटिङ नै हाम्रो हारको मुख्य कारण हो ।’’

तपाईको प्रतिक्रिया