जनताको जित भयो : सभामुख सापकोटा

काठमाडाैं । प्रतिनिधि सभाको सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा पुनर्स्थापना हुनुले जनताको जित भएको प्रतिक्रिया दिएका छन्।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला गरेसँगै न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै सभामुख सापकोटाले नेपालको संविधान प्रस्ट रहेको भन्दै त्यही प्रस्टताका साथमा सर्वोच्च अदालतले फैसला गरेको बताए ।

सर्वोच्च अदालतले राजनीतिक निकास दिएको र राज्यका अंगहरूलाई पनि दिशानिर्देश गरेको उनले उल्लेख गरे । सर्वोच्च अदालतले फैसलामा उच्चस्तरीय व्याख्या गरेको र सिद्धान्त प्रतिपादन गरेको उनले बताए। उनले भने, ‘आज जुन फैसला भएको छ यो फैसलाले समग्रमा भन्नुपर्दा नेपाली जनताको जित भएको छ।

लोकतन्त्रको जित भएको छ। संविधानलाई रक्षा भएको छ। र यस अर्थमा यो ऐतिहासिक फैसला भएको छ भन्ने मलाई लागेको छ। यो ऐतिहासिक अबसरमा सबभन्दा पहिला म यो ऐतिहासिक फैसला गर्ने सर्वोच्च अदालतका सम्माननिय प्रधानन्यायाधीशलगायत सम्पूर्ण संवैधानिक इजलासका न्यायाधीशहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु।’

सभामुख सापकोटाले नयाँ अध्यायको सुरुवात भएको भन्दै राजनीतिक दलहरूलाई विगतको समीक्षा गर्दै संसदलाई प्रभावकारी रुपले सञ्चालन गर्नका लागि व्यवस्थित र श्रृङ्खलाबद्ध योजनाका साथमा अघि बढ्न पनि आग्रह गरेका छन्।

प्रतिनिधि सभा विघटन गरेर राजनीतिक व्यवस्थामाथि नै धक्का दिन खोजिएको भन्दै उनले अब त्यस प्रकारको खतराको अन्त्य भएको पनि बताए। उनले भने, ‘हामी सबै बढी चिन्तित नै थियौँ। किनभने देखि प्रतिनिधि सभा विघटन मात्रै भएको होइन, यसको साथसाथै यसले व्यवस्थामाथि नै अलिकति धक्का दिन लागिरहेको थियो।

र राष्ट्रिय हितमा पनि धक्का लाग्ने खतरा पैदा भइरहेको थियो। यो फैसलाले यि सबै खतराहरूको अन्त्य गरेको छ र नयाँ अध्याय सुरुवात गरेको छ। यस अर्थमा म फेरि पनि समस्त नेपाली जनता र यो प्रक्रियामा लाग्ने सबैलाई हार्दिक बधाइ दिन चाहान्छु।’

तपाईको प्रतिक्रिया