बडालेकमा विमानस्थल निर्माण कति आवश्यक ?

भरत शर्मा । जाजरकोटमा विकास निर्माणको विषय अहिले सामाजिक संजालमा बहसको विषय बनेको छ । त्यसमध्ये जिल्लाको भेरी नगरपालिका वडा नं. १ बडालेकमा बन्ने भनेर प्रचार गरिएको विमानस्थलका सन्दर्भमा सामाजिक संजालमा छलफल तीब्र छ । भेरी नगरपालिकाका प्रमुखले चीनको फोटो राखेर बडालेक विमानस्थल बन्ने भयो भन्दै सामाजिक संजालमा पोष्ट गरेपछि यो विषय बाहिर आएको हो ।

त्यसपछि आम नागरीकहरुले यो विषयमा आ–आफ्ना धारणाहरु राख्न थालेका छन् । कतिपयले नगर प्रमुखको त्यही पोष्टलाई शेयर गरेर समर्थन गरेका छन् त कतिले बडालेकको नै फोटो राखेर प्रचार सुरु गरेका छन् । तर अधिकांशले भौगोलिक बनावटका कारण त्यो सम्भव नभएको, झुटो प्रचार गरिएको र सस्तो लोकप्रियताका लागि अनावश्यक निर्णय गरिएकोसमेत भनेका छन् ।

विशेषगरी भेरी नगरपालिकाले नगरसभाबाट गरेको निर्णय र जिल्लाबाट प्रतिनिधित्व गर्ने पुर्वमन्त्री शक्ति बस्नेतले यसअघि जाजरकोटीहरुलाई दिएको आश्वासनसँग जोडेर अहिले यो विषयमा छलफल हुन थालेको छ । हालै सम्पन्न भेरी नगरपालिकाको बजेट सभाले नीतिगत निर्णय गरेको छ, “हवाई यातायात सहजताका लागि नगरपालिकाको वडा नं. १ बडालेकमा विमानस्थल निर्माणका लागि संंघीय सरकारसँको समन्वय र सहकार्यमा निर्माण गरीने छ”

नगरपालिकाको यो निर्णय बाहिर आएसँगै यस विषयमा विभिन्न कोणबाट चर्चा परिचर्चा सुरु भएको हो । बडालेकमा विमानस्थल सम्भव वा असम्भव, आवश्यक वा अनावश्यक तथा यस विषयमा नेतृत्वको इमान्दारिता वा झुटो प्रचार भन्ने कुरा छलफलका विषय बनेका छन् । यसमा मुख्य भनेको आवश्यकता र सम्भावनाको के हो भन्ने नै हो । नेपाल जस्तो भौगोलिक विकटता भएको ठाउँको लागि सबैभन्दा प्रभावकारी यातायातको माध्यम हो हवाइ उडान ।

त्यसमध्ये जाजरकोट जस्तो पहाडी जिल्ला, जहाँ बाढीपहिरोका कारणले पटकपटक सडक विग्रने र मर्मत गर्नसमेत समय लाग्ने भएकोले सडक अवरुद्ध हुने ठाउँमा आवतजावतका लागि हवाइमार्ग अति उत्तम विकल्प हो । तर जुन विषय छलफलमा छ त्यो विषय अहिले सम्भव छैन ।

त्यहाँको भौगोलिक अवस्था र लागतको अनुमान गर्दा बडालेकमा तत्काल विमानस्थल आवश्यक होइन । किनकी अहिले चर्चा गरिएको बडालेक र हाल विमानस्थल संचालनमा रहेको रुकुमपश्चिमको चौरजहारीको दुरी धेरै नजिक छ । जाजरकोटको सदरमुकाम खलंगाबाट बडालेक जानभन्दा चौरजहारी जान सजिलो र छिटो हुन्छ । खलंगाबाट मात्र नभई जिल्लाका अन्य भागबाटसमेत बडालेक जानभन्दा चौरजहारी जान नै सहज हुन्छ ।

दुरीको हिसावले नजिक र आवतजावत गर्नसमेत सहज भएको ठाउँ चौरजहारीमा निर्माण भइसकेको विमानस्थललाई नै प्रयोग गर्दा हुनैन र ? राज्यको ठुलो बजेट खर्च गरेर नयाँ विमानस्थल बनाउनुभन्दा त्यही चौरजहारी विमानस्थललाई नै स्तरोन्नति गरेर नियमित जहाज संचालन हुनसक्ने बनाउन सकिदैन र ?

कि आफ्नो जिल्लामा बनेपछि भाडा छुट हुने र चौरजहारीबाट जहाज चढ्दा रुकुम जिल्ला वा चौरजहारी नगरपालिकालाई थप शुल्क तिर्नपर्छ र ? यदि त्यसो होइन भने संचालन भएको विमानस्थललाई प्रयोग गर्न छोडेर नयाँ योजना किन ? स्थानीय तहले विमानस्थल बनाउने होइन, आखिर राज्यबाट संचालन हुने योजना जहाँ सम्भव हुन्छ, कम लागतले निर्माण हुन्छ तथा जहाँबाट बढी नागरिकले लाभ लिन सक्छन्, त्यहाँ पहल गर्न किन कन्जुस्याई ? पक्षपात रहित व्यवहारको पक्षपोषण गर्ने हामीले रुकुम जिल्लामा पर्छ त्यसकारण चौरजहारीको विमानस्थन राम्रो वनाउनु हुँदैन भन्न सान्दर्भिक होला र ?

चौरजहारी विमानस्थल जाजरकोटलाई नै प्राथमिकता दिएर निर्माण भएको देखिन्छ । रुकुमपश्चिमको सदरमुकामका अर्काे विमानस्थल रहेको र चौरजहारी विमानस्थल जिल्लाको सिमाना अर्थात जाजरकोट सदरमुकामको नजिक रहेकोले पनि यसबाट जाजरकोटका नागरीकहरु नै बढी लाभ लिन सक्छन् ।

त्यसकारण राज्यको ठुलो धनराशी खर्च गरेर नयाँ विमानस्थल निर्माणतिर होइन, रुकुमपश्चिमको नेतृत्वसँगसमेत समन्वय गरेर नेतृत्वले चौरजहारी विमानस्थललाई स्तरोन्नति गर्नका लागि केन्द्र सरकारसँग समन्वय गर्नु उपयुक्त हुन्छ । चौरजहारी र जाजरकोट जोड्ने भेरी नदीमा निर्माणाधिन मध्यपहाडीको पुल ८÷१० वर्ष देखि अलपत्र छ । सकिन्छ भने त्यसलाई तत्काल निर्माण गर्न दवाव दिउँ । जसले जाजरकोटलाई रुकुम, सल्यान लगाएतका ठाउँसंग जोड्न सहज हुनेछ ।

बडालेक आफैमा सुन्दर पर्यटकीय स्थल हो । हिउँदमा हिमपात हुने सो ठाउँ जिल्लाकै सुन्दर मध्यको एक हो । तर अहिलेको अवस्थामा त्यहाँ पुग्न निकै कठिन छ । पहाडको टुप्पोमा रहेको सो ठाउँमा अहिलेसम्म मोटरबाट पुगेको छैन । त्यहाँको आफ्नै भौगोलिक बनावट छ, जसले गर्दा त्यहाँको सौन्दर्यता थप बढेको छ । अग्लो डाँडोमा केही समथर जमिन भए पनि प्रयाप्त खानेपानी, सिजनमा पाक्ने काफल र एैसेलु लगायतका फलफुलहरु पाइने उक्त ठाउँ विमानस्थल भन्दा पर्यटकीय क्षेत्र बन्न सक्छ ।

विमानस्थल बनाउदा डाँडो पुरै खन्नुपर्ने हुन्छ, जसका कारण त्यहाँको वनजंगल मासिन्छ । केही तलसम्म सडक पुगेको भए पनि त्यहाँ विमानस्थलका लागि सडक पुराउँदा पुरै वनजंगल सखाप हुन्छ र डाँडो पुरै नांगो बन्न जान्छ, प्राकृतिक सौन्दर्यता हराउँछ सो ठाउँको । त्यसकारण बडालेकलाई कुरुप बनाएर त्यहाँ विमानस्थल बनाउन आवश्यक छैन । बडालेकलाई प्राकृतिक अवस्थामा नै रहन दिएर विमानस्थल बाहेकको लागि प्रयोग गर्न सकिन्छ ।

उक्त ठाउँलाई पर्यटन विकाससँग जोडौं र स्थानीयको आम्दानीको ग्यारेन्टी गरौं । विमानस्थलका लागि तपाइँले ल्याउन सक्ने बजेट नागरिकको जिवनस्तर सुधारमा खर्च गर्नुहोस्, स्वरोजगार र आत्मनिर्भर बनाएर उनीहरुको आर्थिक अवस्था सुधार गर्न खर्च गर्नुहोस् । त्यसपछि मात्र नागरक हवाईजहाज चढ्ने हैसियतमा पुग्न सक्छन् । नभए जहाँ विमानस्थल बनाए पनि जति जहाज उडाए पनि त्यसको उपयोग तपाईले नै गर्ने हो ।

त्यहाँ नागरीकको पहँुच पुग्दैन । गोजीमा गाडीभाडा नभएकोले जिल्लामा भएको एकमात्र पिच बाटोमा घण्टौं पैदल हिँडेर जिल्ला सदरमुकाम आउने गरेका छन् यहाँका नागरिक । विमानस्थल भन्दा पहिले उनीहरुलाई गाडी चढ्ने अवस्थाको सिर्जना गर्नुहोस् । जिल्ला सदरमुकाम भित्रको बजार लाईन जोड्ने गैरीखाली ठाँटी जोड्ने (बढीमा ५ सय मिटर) सडक अहिलेसम्म पुरा हुन सकेन । त्यसले गर्दा स्थानीय स्तरदेखि केन्द्रीय तहसम्म पहुँच राख्ने नेतृत्वको बेइज्जत भएको छ, त्यो पुरा गर्नतिर लाग्नुहोस् ।
आफन्तहरुका डोजरको आम्दानीका लागि खोर्सिएका वडा तथा ग्रामीा बस्ती जोड्ने सडकहरुमा बाह्रै महिना गाडी चल्न सक्ने बनाउनुहोस् ।

गाउँमा सिटामोलसमेत नपाएर ज्यान गुमाउनुपर्ने तथा ऋण गरेर किनेर खानुपर्र्ने अवस्था छ, उनीहरुलाई सिटामोलको सुनिश्चितता गर्नुहोस् । माध्यमिक तह पास गरेको भाईबहिनीहरु आफ्नो नामसमेत लेख्न नसक्ने अवस्थामा छन् । शैक्षिक क्षेत्रको सुधारमा लाग्नुहोस् । दैनिक जीवन निर्वाहका लागि सिंगो गाउँ खाली गरेर जनता कालपहाड जाने गरेका छन् । उनीहरुलाई स्वदेशमै बस्ने खालका योजना तथा कार्यक्रमहरु ल्याउनुहोस् ।

शिक्षित जनशक्ति रोजगारीका लागि भौंतारीरहेको छ । दक्ष जनशक्तिलाई विकास र परिवर्तनमा जोड्नुहोस् । विभिन्न तहका सरकार तथा निकायहरुबाट प्राप्त बजेट खर्च नभई फिर्ता हुने गरेको छ, त्यसलाई सही ठाउँमा खर्च गर्न पहल गर्नुहोस् ।

सबै खालका आयोजना तथा कार्यक्रमहरुमा राज्यको सम्पत्तिको चरम दुरुपयोग भएको छ, त्यसलाई रोक्न पहल गर्नुहोस् । तपाइँबाट जनताले अहिले अपेक्षा गरेका विषय यी हुन् । अग्लो डाँडो मैदान बनाएर विमानस्थल निर्माण गर्नु अहिले जनताको माग होइन ।

(लेखक नेपाल पत्रकार महासंघ जाजरकोटका सचिव हुन् ।)

तपाईको प्रतिक्रिया