कांग्रेसको आसन्न महाधिवेशन

हेमराज भट्ट । नेपालको लोकतीन्त्रकरणको यात्रामा सबैभन्दा प्रमुख योगदान भएको राजनीतिक दल नेपाली कांग्रेसले विसं २०७८ साल भदौ १९ गतेभन्दा पहिले महाधिवेशन गरिसक्नुपर्ने बाध्यतामा छ । नेपालको संविधान, २०७२ र राजनीतिक दल संचालनसम्बन्धी ऐनमा दलहरूले पाँच वर्षमा अधिवेशन गर्नुपर्ने व्यवस्था छ ।

भदौमा विशेष परिस्थतिमा थप हुने ६ महिना पनि पूरा हुँदैछ । तोकिएको समयभित्रमा सबै तहको अधिवेशनका साथै केन्द्रीय महाधिवेशन सम्पन्न गर्न नसके दलको वैधानिक हैसियत गुम्छ। हुनत, अरू धेरै दलको वैधानिकता समाप्तै भइसकेको पनि छ तर, लोकतन्त्रको पर्याय मानिएको नेपाली कांग्रेसलाई यस्ता कुनै बहाना बनाएर आन्तरिक लोकतन्त्र र नेतृत्व विकासको कोसे ढुङ्गा मानिने महाधिवेशन नगर्ने नैतिक अधिकार हुँदैन ।

यसैले अहिलेको विषम परिस्थितिमा पनि १४ औं महाधिवेशन गर्ने तयारी पार्टीले सुरु गरिसकेको छ । तैपनि सबैको मनमा अधिवेशन हुन्छ कि हुन्न भन्ने शंका, अड्कल र दुबिधा भने बाँकी नै छ । कोभिड– १९ को महामारीका कारण विसं २०७७ साल फागुनन ०७ गते गर्ने भनिएको महाधिवेशनको मिति सारिँदै आएको छ ।

कांग्रेसको शीर्ष नेतृत्व, केन्द्रीय पदाधिकारी, केन्द्रीय कार्य समितिका सदस्य र साधारण कार्यकर्ताको मनोभावना आत्मसात गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन गर्न प्रतिबद्ध देखिएका छन् ।

कांग्रेस केन्द्रीय कार्य समितिले अन्तिम वैधानिक मितिपूर्व नै सम्पन्न हुनेगरी २०७८ साल साउनको १२ गते देशैभरको गाउँ/ नगर वडा अधिवेशन, साउन १६ गते नगरपालिका र प्रदेश सभा अधिवेशन, साउन २० गते प्रतिनिधि सभाको क्षेत्रीय अधिवेशन, साउन २३ गते एकमात्र क्षेत्र भएको जिल्ला अधिवेशन, साउन २६ गते एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्ला अधिवेशन, भदौ १ र २ गते प्रदेश स्तरीय अधिवेशन र भदौ १६,१७, १८ र १९ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रक्रियामा ढिलासुस्ती

देशैभरको कृयाशील सदस्यता वितरण र त्यससम्बन्धी विवाद कायमै छ । आफूलाई अनुकूल पदमा पदासीन गराउन वडादेखि केन्द्रसम्मका नेता आआफ्नै तरिकाले लाग्दैछन् । संरचनालाई मर्यादित र छिटोछरितो एवं पारदर्शी बनाउन भने कसैले ध्यान दिएको देखिँदैन । सँधैजस्तै कांग्रेसभित्र समूहगत गुट र नेतागत गुट तथा पदगत गुटको त्रिकोणात्मक लडाइँ हुने पक्कापक्की जस्तै छ ।

कांग्रेसभित्र पुरानो पुस्ताका नेताजस्तै देशकै भविष्य मानिएका युवापुस्ताका होनाहार कहलिएका नेता पनि व्यक्तिगत स्वार्थ र पद लिप्त भएको गुनासो सुनिने गरेको छ । युवा नेता पनि आत्माकेन्द्री भएको आक्षेप मेटाएर विश्वशनीय पृष्ठभूमि निर्माण गर्नुपर्ने चुनौतीपूर्ण कठिन यात्रा उनीहरू सामु छ । यस्तो गम्भीर परिस्थितिमा १४ औं महाधिवेशनको तालिका सार्वजनिक भएको छ ।

वैचारिक बहस

एउटा जीवन्त लोकतान्त्रिक पार्टीको महाधिवेशन र अधिवेशनहरूले पार्टीको विभिन्न तहमा नेतृत्व चयन गर्नुका साथै सिंगो देश, पार्टीलाई थपउर्जा सहित दिशानिर्देश गर्नुपर्छ । अहिले नेपाली कांग्रेसका साथै मुलुकको राजनीतिक भविष्य नै अन्योलग्रस्त छ ।

विगतको समीक्षा

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा २०६२÷०६३ पछिका राजनीतिक निर्णयको गहन बहस र छलफलगरी गम्भीर समिक्षा होस् । लोकतन्त्रका सार्वभौम मान्यतालाई अटल र अक्षुण्ण राख्दै बाँंकी विषयमा पुनर्विचार र सम्बोधन गर्ने हिम्मत नेपाली कांग्रेसले गर्नुपर्छ । आगामी १४ औं महाधिवेशनलाई वैचारिक ढङ्गबाट अगाडि बढाउनुपर्ने चुनौती त कांग्रेससामु छँदैछ ।

नेपाली कांग्रेस पार्टीका आफ्नै मान्यता, ध्येय र उद्देश्य छन् । यिनैलाई मूर्तरुप दिन नेपाली मौलिकता र भूगोललाई टेकेको लोकतान्त्रिक समाजवाद उन्मुख विचार र सिद्धान्तले भरिपूर्ण आफ्नै परम्परागत जनाधारसहितको धरातल छ । यसले निर्देशित गरेको मुख्य मार्गलाई छोडी अरूको बहकाउमा दायाँंबायाँं लाग्दा आफ्नो स्थापनाकालीन पहिचान र अस्मितामा थुप्रै प्रश्न उठ्ने गरेकोतर्फ सचेत हुनुपर्ने स्थिति छ ।

रणनीतिक अपेक्षा

नेपाली कांग्रेसको लिने निर्णयमा यस पार्टीका शीर्ष नेतृत्व, नेताकार्यकर्ता, सदस्य र शुभेच्छुकको मात्र चासो रहँदैन । नेपाली कांग्रेसले अख्तियार गर्ने रणनीति र राजनीतिक एजेण्डाले नेपाली जनता, देशको शासन व्यवस्था र शासकीय प्रणालीमा नै प्रभाव पार्छ ।

त्यसैले नेपाली कांग्रेसका नेता र कार्यकर्ता अन्य राजनीतिक दलका नेता कार्यकर्ताभन्दा मुलुकप्रति बढी जिम्मेवार र जनताप्रति जवाफदेही भएर समसामयिक समस्या समाधानमा अग्रसर हुनुपर्छ । यो नेपाली जनताले कांग्रेसलाई दिएको गहन दायित्व हो ।

जनअपेक्षाबमोजिम आफ्नो कार्यनीति अगाडि बढाउनु लोकतान्त्रिक संस्कारको सामान्य सिद्धान्तभित्र पर्छ । नेपाली कांग्रेसले लोकतन्त्रको दायरा नाघ्न सक्दैन । नाघ्न खोजे आन्तरिक लोकतन्त्रको चिरहरण हुन पुग्छ ।

व्यवहारमा समानता र राष्ट्रियता

हिमाल, पहाड र तराई मधेसमा बसोबास गर्ने नेपाली र भूगोललाई एकै दृष्टिकोणबाट हेर्ने वैज्ञानिक मापदण्ड बनाई राज्यले विकास निर्माण र अन्य अवसरको वितरणमा समान व्यवहार अपनाउन सक्ने परिस्थितिमा नै नेपाली राष्ट्रियता बलियो हुन्छ ।

स्खलित हुँदैगरेको हाम्रो समाजको परम्परागत मान्यता र एकरूपतालाई पुनःस्थापित गर्न नेपाली कांग्रेसको महाधिवेशनले एक विशिष्ट अवधारणा र तथ्यगत योजना अंगीकार गर्नुपर्छ । फलतः हाम्रा दुई छिमेकी देश र अरू राष्ट्रसँगको आपसी सम्बन्ध प्रगाढ हुँदै जानेछ ।

सँगै यसलाई नेपालको राष्ट्रिय हित र नेपाली जनताको उन्नतिमा लगाउन सकिन्छ । सामरिक हिसाबले अति विशिष्ट भौगोलिक अवस्था र बलिया दुई छिमेकीबीचको हाम्रो देशको विदेश नीतिमा दीर्घकालीन सोच र परिपक्वता हुनुपर्छ । राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र मौलिक अधिकारको बारेमा भित्री वा बाहिरी कुनै पनि शक्ति एवं व्यक्ति विशेषले औँला उठाउन नसक्ने वातावरण निर्माणको नेतृत्व कांग्रेसले नै गर्नुपर्छ ।

स्वच्छ प्रतिस्पर्धा

महाधिवेशन र अधिवेशनहरू वैचारिक बहस, विधि विधानलाई समयानुकूल अध्यावधिक गर्दै अगाडि बढ्ने उपयुक्त अवसरका साथै नेतृत्व विकासको महायज्ञ मानिन्छ । विगतमा जनता र कार्यकर्ता माझ गरिएका प्रतिबद्धता के कति पूरा भए र पूरा गर्न संभव भएन भन्ने सम्बन्धमा क्रियाशिल सदस्यले वडादेखि नै मापन गर्दै नेतृत्वको अनुमोदन वा छनोट गर्ने गर्छन् ।

देश, लोकतन्त्र र नेपाली कांग्रेसको भविष्यलाई उज्यालो बनाउने गरी अघिसारिएका योजनाले कोरिएको दस्तावेजलाई गाउँ/नगरपालिका, प्रदेश सभा/प्रतिनिधि सभा क्षेत्र, जिल्ला र प्रदेश अनि केन्द्रीय स्तरको सहकर्मी सारथी माझ शिष्ट तबरले राख्दै उनीहरूको मनसँगै मत जितेरस्थापित हुने नेतृत्वले नै जिम्मेवारी प्रभावकारी किसिमले पूरा गर्नेछ ।

स्थानीय वडाहरूमा फैलिएको कटुतापूर्ण व्यवहार र विभेदकारी सोचलाई सुधार्दै आफ्नो खस्किएको साखलाई फिर्ता गराउन स्वच्छ लोकतान्त्रिक प्रतिस्पर्धाको अनुभूति सबैले गर्नसक्ने स्थिति बनाउन लागौँ ।

भिन्न स्वभाव र फरक शैली

नेपाली जनताले नेपाली कांग्रेस र यसका नेता तथा कार्यकर्तालाई अरू पार्टीको नेता र कार्यकर्ताका तुलनामा भिन्न स्वभाव र फरक शैलीको भएको देख्न चाहन्छन् । यसलाई प्रमाणित गर्ने असल कर्मले हो । बोली र व्यवहारमा एकरूपताले हो ।

कांग्रेस कार्यकर्ता नै आफ्ना नेता शालिन र फरक भएको हेर्न आतुर छन् । कांग्रेसजन बीपी कोइरालाको जस्तो साधारण जीवनशैली, समाजवादी संस्कार र समूहमा विश्वास राख्ने पद्धतिलाई अंगीकार गर्दै समाजसेवाको गहिरो भावनाबाट ओतप्रोत हुनुपर्छ । अस्वाभाविक ठाँट र अपत्यारिलो तडकभडक अपारदर्शीताको सूचक हो ।

राजनीतिक र सामाजिक जीवनमा समर्पित मानिसको, त्यसमा पनि समाजवादी जीवनलाई स्विकारी कांग्रेसको मूल प्रवाहमा समाहित भई काम गर्ने कांग्रेसजनको आर्थिक, व्यावहारिक, चारित्रिक र नैतिक पाटोमा पूर्ण पारदर्शिता अपरिहार्य शर्त हो । धनको घमण्ड, बाहुबलको तुजुक, पदमोह र अस्थिर राजनीतिक पृष्ठभूमि भएको व्यक्तिलाई पार्टी नेतृत्वको जिम्मेवारी दिनु नेपाली कांग्रेसको संगठन र आदर्शलाई नै ध्वस्त बनाउनु हो । यसमा बुद्धि र विवेकको प्रयोगले सही निष्कर्षमा पुगिन्छ ।

भविष्यमुखी निर्णय क्षमता

हामीले हाम्रो गाउँ/नगर/क्षेत्र/जिल्ला र देशभरको नेपाली समाजको प्रारूप र भविष्य कस्तो बनाउने र कसलाई सुम्पिदा त्यसले साकार रूप लिन्छ भन्ने विषयमा अहिले नै ध्यान दिनुपर्छ । कांग्रेसको गाउँनगरको प्रतिनिधि भोलिको समाजको नेता हो ।

नेतृत्वदायी क्षमता र केही गर्ने इच्छाशक्ति नभएको व्यक्तिलाई अगाडि बढाउँदा पार्टी र समाजले क्षति बेहोर्नुपर्छ । त्यसैले २१ औं शताब्दीको नेपाल र नेपाली जनतालाई एकढिक्का बनाई समतामूलक नेपाली समाजको निर्माणमा यो महाधिवेशन रामवाण बन्न पुगोस् । नेपाली जनताको उच्च चासो र सरोकार रहेको नेपाली कांग्रेस कांग्रेसै जस्तो भएको देख्ने जनचाहना पूराहोस् ।

(१२खरीबाट)

तपाईको प्रतिक्रिया