काँग्रेसमा चमत्कार होला ?

गोविन्द अधिकारी । धेरै भइसकेको थियो । नेपाली काँग्रेसका नेतालाई मूलधारका सञ्चार माध्यमले महत्व दिन छाडेको । काँग्रेसका एकाध नेताबाहेक अरूको समाचार वा विचार अहिलेका पाठकको रुचि र चासोको विषय बन्न नसकेपछि सञ्चारकर्मीले पनि गरून् के ? प्रमुख विपक्षी दलको नेताका रूपमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा कहिल्यै चर्चामा आएनन् ।

अहिले प्रस्तावित प्रधानमन्त्रीका रूपमा पनि गठबन्धनका अरू नेताहरू पुष्पकमल दाहाल वा बाबुराम भट्टराई जति देउवाको चर्चा भएको छैन । देशकै पुरानो ठूलो पार्टी नेपाली काँग्रेस समुद्रमा डुब्न लागेको जहाज जसरी बिस्तारै इतिहासको गर्तमा हराउने विश्लेषण हुन थालेको छ । यद्यपि, यो निष्कर्ष कसैको अवचेतनको चाहना निर्देशित बुद्धिविलासमात्रै जस्तो धेरै देखिन्छ ।

जेहोस्, नेपाली राजनीतिको मियो मानिने काँग्रेस अहिले छेउ लागेको भने पक्कै हो । यस्तो अवस्थाको सुस्त र कान्तिहीन काँग्रेस अहिले एकाएक मूलधारका सञ्चारकर्मीको आकर्षणको केन्द्र बन्न पुगेको देखियो । सभापति देउवा प्रधानमन्त्री भइ पो हाल्छन् कि भनेर काँग्रेसका नेताको गतिविधिमा धेरैको ध्यान गएको भने होइन । उनी प्रधानमन्त्री छँदै पनि त काँग्रेसप्रति आकर्षण थिएन ।

काँग्रेसको आसन्न महाधिवेशनका कारण अहिले सञ्चार माध्यम र जनमानसमा काँग्रेसप्रति आकर्षण बढेको पनि होइन । सबैलाई थाहा छ, नेपाली काँग्रेसमा सैद्धान्तिक मतभेद छैन र महाधिवेशनमा सैद्धान्तिक र वैचारिक छलफल पनि हुँदैन । यसैले जनमानस र सञ्चार माध्यममा चासो र चर्चा बढाउने विषय महाधिवेशन पनि होइन ।
अहिले सभापति देउवालाई प्रधानमन्त्री बन्ने हुटहुटी र पार्टी सभापति बनिरहने चाहनाको तानातानमा परेका छन् ।

उनका निकट सहयोगी र चाटुकारहरूले जे सुनाएका भए पनि काँग्रेसका मतदाता, शुभेच्छुक र समाजको पहिलो त के पाँचौँ रोजाइमा पनि देउवा पर्दैनन् । लाग्छ, देउवा नै सभापति हुन लाग्यो भने अहिले देखिएको चासो र चर्चा वितृष्णामा बदलिन बेरै लाग्नेछैन । देउवाभन्दा रामचन्द्र पौडेलप्रति अपेक्षाकृत केही बढीको चासो हुनसक्छ । तर, पौडेलको पनि आकर्षण भने बाँकी रहेको देखिँदैन ।

अगिल्ला पुस्ताका केही नेता कार्यकर्ताले सहानुभूति राखे पनि मूलधारका सञ्चार माध्यम र समाजमा उनको पनि ‘हिरो’को छवि छैन । देउवा र पौडेलबाहेक पनि थुप्रै नेताले आफूलाई सभापति पदको उमेदवारका रूपमा प्रस्तुत गरेका छन् । सायद, शेखर कोइरालाले सबैभन्दा पहिले सभापतिको उमेदवारी घोषणा गरेका हुन् । यस्तै कल्याण गुरुङले पनि धेरै पहिलेदेखि सभापतिमा उमेदवारी दिने घोषणा गरेका छन् ।

यी दुवैजना सम्भवतः धेरै जिल्लामा पुग्ने र कार्यकर्ता भेट्ने मध्येमा पनि पर्छन् होला । विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाले पनि केही पहिले सभापतिमा उमेदवारी दिने घोषणा गरेका छन् । सुजाता कोइराला र गोपालमान श्रेष्ठले पनि आफूले सभापतिमै उमेदवारी दिने घोषणा गरेका छन् । यी कसैको उमेदवारी घोषणाले अहिलेको चर्चा र चासो बढाएको भने होइन ।

अहिले एकाएक काँग्रेसप्रति सञ्चारमाध्यम र जनमानसमा चासो बढाउने घटना भने नेतात्रय बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरूको भेटघाट हो । शशांक र प्रकाशलाई पनि सँगै उभ्याउने अग्रसरता सम्भवतः विमलेन्द्रकै हो । काँग्रेसका मतदाता र शुभचिन्तकले मात्र होइन, जनसाधारणले पनि यी नेता त्रयको भेटघाटलाई रुचाएका छन् ।

महाधिवेशनमा यिनीहरू मिलेर जान सके भने सम्भवतः सहजरूपमा विजयी पनि हुनसक्छन् । सभापति देउवा, वरिष्ठ नेता पौडेल र नेता गोपालमान श्रेष्ठलाई अलि खल्लो लाग्ला । तर नेपाली समाजले खोजेको गतिशीलता भने विमलेन्द्र, प्रकाशमान र शशांकहरू मिल्दा उत्पन्न हुनसक्छ । पहिले यी नेता त्रयबीच समझदारी त बनोस् ।

त्यसपछि उनीहरूले शेखर, कल्याण, सुजाताहरूसँग छलफल गरुन् । अनि गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गोविन्द भट्टराईलगायतका नेतालाई सँगै लाने प्रयत्न गरून् । आफ्नो सट्टा देश र पार्टीलाई केन्द्रमा राखेर प्रयास गरे भने काँग्रेस बौरिन सक्छ । विमलेन्द्रहरूले कुन पदमा को भन्ने आग्रह नराखी देउवा र पौडेललगायत २०२७ साले पुस्तालाई ससम्मान बिदा गर्ने वातावरण बनाउन पनि गगनहरूको पुस्तालाई जिम्मा दिनु उपयुक्त हुनेछ ।

विमलेन्द्र, प्रकाशमान, शशांक, शेखर, सुजाता कसैमा पनि नेपाली काँग्रेसजस्तो जनाधारित पार्टीको नेतृत्व गर्ने चमत्कारी व्यक्तित्व र छवि छैन । यसैले यो पुस्ता अर्को पिँढीलाई नेतृत्व हस्तान्तरण गर्ने अन्तरिम नेतृत्वमात्र हुनसक्छ । राजनीति गर्नेका लागि पदको चाहना हुनु स्वाभाविकै हो ।

तर, पार्टीमा नयाँ गति र रक्त प्रवाह भने अहिले काँग्रेसका सबै नेता र कार्यकर्ताको चाहना हुनुपर्छ । त्यसमा जनचाहना पनि प्रतिविम्बित भएको छ । देउवा र पौडेलले देश र काँग्रेसको हितमा ‘त्याग’ गर्न तयार भए उनीहरूले नयाँ पुस्ताको समूह बनाउन सक्थे । त्यसो हुँदा उनीहरूका लागि सम्मानजनक विश्रामको अवस्था पनि बन्ने थियो ।

सम्भवतः चुनाव गर्ने सरकारको नेतृत्व देउवाले गर्नेछन् । चुनावपछि काँग्रेसकै नयाँ पुस्तालाई सरकार हस्तान्तरण गर्न सके उनका लागि कति उत्तम हुन्थ्यो होला ? के देउवा वा पौडेलले नेतृत्व हस्तान्तरणका विषयमा पनि सोचेका होलान् ? केही चाटुकार र ऐजेरुबाहेक त अरूलाई त यसले फरक नपर्नुपर्ने हो !

(बाह्रखरीबाट)

तपाईको प्रतिक्रिया