जसले सपना पूरा गर्न दियालो बालेर रातभर पढे

मानिसका सपना सबै पूरा हुँदैनन् । तर जसले संघर्ष गर्छ, उसका सपनाहरु पूरा भने हुन सक्छन् । जीवनमा हरेकले केही न केही सपना अवश्य बुन्छन् । तर जसले मेहनत र निरिन्तरता दिन्छन्, उनीहरु मात्र सफल हुन्छन् । अधिकांश सपनाहरु पुरा गर्ने क्रममा कयौं अवरोधहरु पनि आउँछन् । तर सपना पूरा नहुँदा निराश होइन, संघर्ष गरे सफल पनि भइन्छ । सपनाहरु पनि पूरा गर्न सकिन्छ । यस्तै एउटा उदाहरण बन्न सफल व्यक्ति हुुन् टेकबहादुर ओली । हाल उनी सुर्खेत क्याम्पस शिक्षामा अध्यापन गराइरहेका छन् । आजको जम्काभेटमा हाम्रा सहकर्मी टेकराज केसीले उनै ओलीसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

टेकबहादुर ओली
शिक्षण सहायक, सुर्खेत क्याम्पस शिक्षा

स्कुल पुग्न दुई घण्टा हिँड्थे

बुवा तेजबहादुर ओली र आमा तुलसी ओलीको कोखबाट २०३४ साल फागुन १ गते दैलेखको गुराँसँ गाउँपालिका वडा नम्बर ८ मा टेकबहादुर ओली जन्मिएका हुन् । उनले कक्षा ५ सम्म गाउँकै कालिका माध्यमिक विद्यालयमा पढे । कक्षा ६ र ७ भने उनले जयजनता मावि जोरेबाँझमा पढे । ८ कक्षा भने आदर्श मावि मेहेलीमा पढे । ९ कक्षादेखि अमरज्योती मावि नेवारेमा पढेका उनले २०५० सालमा एसएलसी पास गरे ।

टेकबहादुर घरको जेठो छोरा हुन् । उनका चार भाईबहिनी थिए । बाल्यकाल उनको सामान्य नै वित्यो । विद्यालय जान दुई घण्टासम्म पैदल हिँड्नु पथ्र्यो । उनको बुवाले कृषि कर्म गर्थे । विद्यालय जाने अनि साँझ र बिहान घरको काम गर्थे । साथीभाईहरुसँग खेलेरै उनको बाल्यकाल वित्यो । उनी गम्भिर स्वभावका थिए । तर उनी सबैलाई सहयोग गर्ने स्वभावका थिए, भने नयाँ कुरा पढ्ने, रेडियोबाट धेरै समाचार सुन्न उनलाई धेरै रुची लाग्थ्यो ।

डाक्टर बन्ने लक्ष्य

सामान्य किसान परिवारमा जन्मिएका टेकबहादुरका आफन्तहरुले भने धेरै पढेका थिए । त्यतीबेला गाउँमा पढाइलाई धेरैले महत्व दिन्थेनन् । तर उनको पारिवारिक पृष्ठभुमी भने शिक्षित नै हो । उनले पनि पढेर डाक्टर बन्ने लक्ष्य लिए । मेहेनत गरे । घरपरिवारबाट पनि पढ्न प्रेरित गरिन्थ्यो ।

उनको बुवा र आमाले घरमा कृषि र पशुपालन गरेरै उनलाई पढाउनुपर्छ भन्ने सोच बनाएका थिए । उनका काकाहरु शिक्षित थिए । घरपरिवारको साथ पाएका उनले एसएलसी पासपछि विज्ञान विषय लिएर पढे । उनले आफ्नो सानैदेखिको लक्ष्य भेट्टाउन धेरै मेहेनत गरे ।

आफू पढ्दै, अरुलाई पढाउँदै

सानोमा डाक्टर बन्ने लक्ष्य लिएका टेकबहादुर जब उनी आफ्नो लक्ष्य भेटाउन पर्यत्न गर्दै थिए, तब उनलाई आर्थिक समस्या भयो । आएससीसम्म घरकै पैसाले पढेका उनी बिएससीबाट भने घरको स्रोतले भ्याउने अवस्था नआएपछि उनले अरुलाई पढाउँदै आफू पढ्दै गरे । उनले होमट्युसनदेखि निजी विद्यालयहरुमा पनि पढाए ।

आफ्नो खर्च जुटाउँदै उनले वनस्पती विज्ञानबाट विएससी उतिर्ण गरे । उनले मास्टर्स पनि आफ्नै खर्चमा गरेका हुन् । उनले वनस्पती विज्ञानमै मास्टर्स गरेका छन् । उच्च शिक्षा हासिल गर्न उनले आफ्नै मेहेनत र परिश्रमसँगै पढेका हुन् । उनले पढाइ खर्च आफै जुटाएर पढे ।

जीवनमा संघर्ष

गाउँमा जन्मिएका उनले जीवनमा धेरै संघर्ष र मेहेनत गर्नुपर्यो । सानोमा पनि घरको काम गर्दै पढ्ेका हुन् । गाउँमा विद्युत तथा अन्य वैकल्पिक उर्जाका स्रोतहरु थिएनन् । टेकबहादुर दियालो बालेर रातभर पढ्थे । बिहान उठेर घरको काम गरी २ घण्टा हिँडेर विद्यालय जान्थे । उनी घरको जेठो छोरा भएको हुँदा घरपरिवारमा जिम्मेवारी पनि पढ्दै थियो । एकातिर आफ्नो पढाइलाई निरन्तरता दिनुपर्ने थियो भने अर्कोतिर घरपरिवारको जिम्मेवारी पनि ।

उनले यी सबै कुरालाई म्यानेज गर्दै आफ्नो लक्ष्य प्राप्तीका लागि अगाडी बढिरहे । जीवनमा संघर्षमय नबनाए सफल हुन नसकिने बताउँछन् । उनको डाक्टर बन्ने लक्ष्य भेटाउन नसके पनि घरपरिवार र श्रीमतीको सहयोगका कारण अहिले विज्ञान विषयमा उच्च शिक्षा अध्यापन गराइरहेका छन् । टेकबहादुर भन्छन, मैले दुख र मेहेनतलाई निरन्तरता नदिएको भए सकभर यहाँसम्म आउन सक्ने थिएन । जीवनलाई संघर्षमय बनाउन सके सफल अवश्य भइने उनको अनुभवले भन्छ ।

अबको योजना

उनको भावी योजना भनेको शिक्षा क्षेत्रबाटै सेवा गर्ने, विज्ञान विषयमा दक्ष जनशक्ती निर्माणको लागि प्रयत्न गर्नेछ । कर्णाली प्रदेशमा अथाह सम्भावना भए पनि यसको अनुसन्धानका लागि दक्ष जनशक्तीको अभाव उनले देखेका छन् । सरकारले पनि यो क्षेत्रमा खासै चासो नदिएको उनको बुझाइ छ । त्यसैले उनले अब यही वनस्पती विज्ञानमा दक्ष जनशक्ती उत्पादन गरि कर्णाली समृद्ध बनाउने अभियानमा लाग्ने सोच बनाएका छन् । जसले विकास र आर्थिक समृदि हासिल गर्न सकिने उनको योजना छ ।

तपाईको प्रतिक्रिया