अन्तर्वार्ता

‘युवालाई गाउँमै रोजगारी दिनेगरी बजेट ल्याउँदैछौं’

स्थानीय सरकारहरुले आगामी आर्थिक बर्ष २०७८÷०७९ को लागि आफ्नो नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरिरहेका छन् । कोरोनाको दोस्रो लहरका कारण सबै क्षेत्र प्रभावित भइरहेको यो अवस्थामा स्थानीय सरकारले ल्याउने बजेटले ति क्षेत्रहरुलाई लयमा ल्याउने अपेक्षा नागरिकहरुको छ । अर्कोतिर कोरोनाको जोखिम अझै कायम छ । यस्तो बेलामा कोरोना नियन्त्रणमा कस्ता प्रयास भइरेहका छन् ? आगामी नीति तथा कार्यक्रम र बजेटबाट कुन क्षेत्रले प्राथामिकता पाउला ? यीनै विषयमा केन्द्रित रहेर हाम्रा सहकर्मी टेकराज केसीले सुर्खेतको चिङ्गाड गाउँपालिकाका उपाध्यक्ष मनमाया आचार्यसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश

मनमाया आचार्य
उपाध्यक्ष, चिङ्गाड गाउँपालिकाका, सुर्खेत

हिजोआज के काममा व्यस्त हुनुहुन्छ ?

गाउँमा कोरोना संक्रमणलाई नियन्त्रण गर्ने अभियानमा जुटेका छौं । दैनिक कामसँगै आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारीमा हामी व्यस्त छौं ।

कोरोना महामारी नियन्त्रणमा के गरिरहनु भएको छ ?

अहिले हाम्रो गाउँपालिका मात्र हैन, सबै ठाउँ कोरोनाको संक्रमण छ । पछिल्ला दिनहरुमा केही कम भएको तथ्याङ्कहरु छ । तर जोखिम भने कायम रहेकाले हामीले सुर्खेतमै पहिलो पटक आइसोलेसन बनायौं । त्यो पाँच बेडको थियो । भने अहिले बढाएर हामीले १६ बेडको आइसोलेसन बनाएका छाैं । त्यसँगै हामीले टोलटोलमा कोरोना परीक्षण पनि गरिरहेका छौं । विभिन्न माध्यमबाट नागरिकहरुलाई कोरोना संक्रमणबाट जोगिन प्रचारप्रसार गरीसचेत बनाइरहेका छाैं ।

केही चिकित्सकहरु करारमा नियुक्ती गरेर हामीले कोरोना नियन्त्रणमा खटाएका छौं । कोरोनाबाट मृत्यु भएका परिवारलाई किरिया खर्च दिने पालिकाबाट निर्णयसमेत गरेका छाैं। कोरोना पोजेटिभ भएका व्यक्तिहरुलाई केही समस्या भएको खण्डमा तत्काल अस्पताल भर्नाका लागि एम्बुलेन्सको पनि व्यवस्था गरेका छौंं ।

आगामी बजेटमा कुन क्षेत्रलाई प्राथमिकता दिनुहुन्छ ?

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबैभन्दा पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्र नै हुनेछ । त्यससँगै कोरोनाकै कारण विभिन्न क्षेत्रहरुमा प्रभाव परिरहेको छ । ती क्षेत्रहरुलाई चलायमान बनाउनको लागि हाम्रो बजेट केन्द्रीत हुन्छ । हामी अहिले बजेटकै छलफलमा छौं ।

अब यसो भनिरहदा अन्य विकासका काम त रोक्नु पनि भएन । त्यसैले विकासका क्षेत्रलाई पनि अगाडी बढाउने गरी नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने तयारीमा छौं । गत बर्षमा पनि हामीले विशेषगरी स्वास्थ्यसँगै विकासका कामलाई प्राथमिकता दिएका थियौँ । यो पटक पनि त्यसैगरी नै बजेट ल्याउने हाम्रो तयारी छ ।

केही राहतका कार्यक्रम पनि ल्याउनुहुन्छ की ?

हो । सही कुरा गर्नुभयो । मैले भनिसके, सरकाले काम गर्ने भनेको जनताका आवश्यकता पुरा गर्नकै लागि हो । कोरोना माहामारीका कारण कृषि, व्यापार व्यवसाय, शिक्षा लगायतका क्षेत्रमा प्रभाव परिहरहेको छ । त्यसलाई लयमा ल्याउन त बजेट विनियोजन हुन्छ नै । त्यसको अलवा काम गरेर खाने वर्ग, समुदाय छन् ।

उनीहरुको निम्ती अवस्था अनुसार राहतका कार्यक्रम ल्याउनुपर्छ की भनेर हामीले छलफल चलाइरहेका छाैं । सबैभन्दा नजिक रहेको सरकार भनेको त हामी नै हो । जनताका के छन समस्या भन्ने त पहिलो दायित्व हाम्रो नै हुने भएकाले हामीले त्यतातर्फ पनि सोचिरहेका छौं ।

तपाइँहरु निर्वाचित भएपछि गाउँमा के परिवर्तन भयो त ?

पहिलो कुरा त यस गाउँपालिकाका सबै वडामा सडक सञ्जालहरु पुगेको थिएन । हामी निर्वाचित भएर आइसकेपछि सबै वडामा सडक सञ्जाल पुगेको छ । अबको केही समयपछि सबै वडामा विद्युत बाल्ने योजना छ । त्यसको लागि काम करिब अन्तिम चरणमा छ ।

भने शिक्षा, स्वास्थ्य क्षेत्रमा पनि धेरै परिवर्तन भयो । पक्की भवनहरु बनेका छन्, गुणस्तरयुक्त संरचनाहरु तयार भइरहेका छन् भने पछाडी पारिएको वर्ग समुदायलाई विभिन्न सीपमुलक तालिमहरु सिकाएर स्वरोजगार बनाउने काम गरेका छौं । हामी निर्वाचित भएर आएपछि जनताले आधारभुत विकासको अनुभुति गरेका छन् ।

न्यायिक समितिले कसरी काम गरिरहेको छ नी ?

हामीले सामान्य झैझगडा र विवाद मिलाउने काम गर्ने हो । ती सामान्य कुरामा पनि जनताले न्याय पाउने ठाउँ पाएका थिएनन् । स्थानीय सरकार बनेपछि न्याय पाउन जनताले थालेका छन् । न्यायको खोजीमा रहेका जनतालाई न्याय दिलाउन महत्वपूर्ण भुमिका खेलेका छौं ।

जस्तै महिलाहिंसा, घरेलुहिंसा लगायत विभेद हुन नदिन हामीले चेतनामुलक कार्यक्रम न्यायिक समितिमार्फत पनि गर्ने गरेका छौं । त्यसले जनतालाई सचेत बनाइरहेको छ । तर हामीलाई कानुनी सल्लाहकारको आवश्यकता भने अहिले पनि छ ।

आगामी बजेटमा युवालाई रोजगारी दिन कस्ता योजना समेटिन्छन् ?

हामीले विकासका काममा युवाहरुलाई नै लगाउने गरी गत सालदेखि नै बजेट निर्माण गर्न शुरु गरेका छाैं । आगामी आर्थिक बर्षमा पनि यो कुरा दोहोरिन्छ । अहिले रोजगारीको शिलशिलामा विदेशिनु भएका धेरै युवाहरु गाउँमै फर्किनु भएको छ । उहाँहरुलाई हामी कृषि, पशुपालनको क्षेत्रमा लगाउन विभिन्न अनुदानका कार्यक्रमहरु पनि ल्याउँछौं ।

भने अन्य सीपमुलक कार्यक्रम संचालन गरी युवाहरुलाई स्वरोजगार बनाउनेगरी बजेट निर्माण गर्छौं । अर्कोतिर प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रम पनि संचालन हुने भएकाले केही युवाहरुलाई त्यतातर्फ काममा लगाउँछाैं ।

तपाईको प्रतिक्रिया