कुनैबेला अहिले जस्तो संचार सुविधा थिएन । अहिलेको जस्तो मोबाइल र सामाजिक संजाल थिएनन् । एकअर्कामा चिनजान हुने माध्यम भनेकै परिवार र आफन्त थिए । आफन्त र नातागोताबाटै चिनजान हुन्थ्यो । त्यस्तो बेलामा पारिवारिक चिनजानको आधारमा विहेबारी हुन्थ्यो । घरबार जोडिन्थ्यो । आफन्तले नै केटा र केटीको विहे गरिदिन्थे । अधिकांश जोडीले विहेपछि मात्र एकअर्कालाई चिन्थे । अहिलेको जस्तो प्रेम गरेर विहे गर्नेभन्दा विहे गरेपछि मात्र धेरै जोडीको प्रेम सुरु हुन्थ्यो । यस्तै जोडी हुन्, पारस आरसी र सुजता थापा । यो जोडीको सम्वन्ध पनि आफन्तले जोडिदिए । अनि विहेपछि मात्र प्रेम सुरु भयो । प्रस्तुत छ, यो जोडिसँग गरिएको कुराकानीको सम्पादित अंश :
पारिवारिक चिनजान
पारस र सुजताको चिनजान पारिवारिक रुपमै थियो । पारसको सानीमाको घर सुजताको गाउँमा थियो । त्यही माध्यमबाट उनीहरुको पारिवारिक चिनजान भएको हो । पारिवारिक चिनजान भए पनि उनीहरुमा भने चिनजान थिएन ।
उनीहरुको सम्बन्ध बनाउनमा पारसको सानीमाले पुलको भुमिका खेलिन् । पारसको बुवासँग सुजताको बारेमा कुराकानी हुने रहेछ । तर पारसलाई भने थाहा भएन । कुराकानीमा पारसको बिवाह सुजतासँग गराउनुपर्ने उनको सानीमा कुरा चलाइन् । अनि दुबै परिवारको कुराकानी र सम्बन्ध बढ्दै गयो ।
अनि पारसको बुवा माग्न गए
पारस घरको जेठो छोरा हुन् । घरपरिवारमा विशेषगरी उनको हजुरबुवाले नातीको बिवाह गर्नुपर्ने कुरा उठाए । घरमा उनको बिवाहको चर्चा चल्न थाल्यो । त्यतीबेला भागी बिवाहभन्दा मागी बिवाहलाई मान्यता दिइन्थ्यो । पारसको बिवाहको कुरा उठेपछि पारसको सानीमाले पहिलेदेखि नै सुजतालाई आफ्नै आफन्तसँग बिवाह गराउनचाहान्थिन्
। उनको स्वभाव राम्रो देखेर पारससँग बिवाह गरिदिने गरी पारसको परिवारसँग उनले कुरा राखिन् । पारसका बुवा प्रस्ताव लिएर सुजताको घरमा गए । सुजताको परिवारले पनि प्रस्तावलाई स्वीकार गरेपछि उनीहरुबिचमा सामान्य चिनजान हुँदै गयो । दुबै जनाको परिवारको सहमतीमा बिवाह हुने पक्का भयो ।
पारस र सुजताको चिनजान भए पनि बोलचाल भने भएको थिएन । एकअर्काको बिवाह हुने कुरा दुबैको परिवारले फिक्स गरिदिएपछि दुबैलाई एकअर्काको बानी व्यवहार जान्न खुलदुली भइरहेको थियो । त्यतीबेला अहिलेको जस्तो संचारमाध्यमको सुविधा पनि थिएन । उनीहरु दुबैजना एकअर्कालाई कस्तो बानी होला ? बिवाहपछिको जीवन के हुने होला ? लगायतका अनेकन कुरा मनमा खेलाउँदै बस्थे ।
मागि विहे
यो जोडीले पारिवारिक सल्लाहमै मागी विहे गरे । परिवारकै सहमतिमा एक महिनामै बिवाह भयो । पारस र सुजता पनि बिवाह चाँडै गर्न चाहान्थे । किनकी उनिहरुबिचमा बिवाह हुने फिक्स परिवारले गरिदिएपछि अनेकौँ प्रश्नहरु उब्जिएका थिए ।
एकअर्काको बारेमा जान्ने कौतुहल्ता थियो । उनीहरुको बिवाह हुने फिक्स भएर मागी भएको एक महिनापछि २०५५ सालमा उनीहरु बैबाहिक जीवनमा जोडिए । दुलहासँगसमेत चिनजान नभएकी सुजतालाई भने बुहारी भएर आउँदा अफ्ठेरो महसुश भइरहेको थियो । घरपरिवारको माया पाएपछि उनी घुलमिल हुँदै गइन् । बिवाह गर्दा पारस २१ बर्ष र सुजता २० बर्षकी थिइन् ।
बिवाहपछि मात्र बोलचाल
घरपरिवारकै सल्लाहमा बिवाह गरेका पारस र सुजताको बिवाहपछि मात्र राम्रोसँग चिनजान भएको हो । पारिवारिक रुपमा उनीहरु एकअर्कामा परिचित नै भए पनि गहिरो चिनजान र बोलचाल भने बिवाहपछि मात्र भएको हो । उनीहरु भन्छन्, बिवाहपछि मात्र चिनजान भयो, एकअर्कालाई बुझ्ने काम बिवाह भएपछि मात्र भयो ।
उनीहरुलाई बिवाह अगाडी नै एकअर्कालाई बुझ्ने कौतुहल्ता थियो । तर त्यो सम्भव भएन । सुजता बुहारी भएर आएको भोलिपल्ट मात्र पारसले बोलाएका थिए । बोलाउँदा फरक महसुस गरेकी सुजतालाई बोल्न अफ्ठेरो भइरहेको थियो । समग्रमाभन्दा उनीहरुको बिवाहपछि नै एकअर्कामा प्रेम शुरु भएको हो ।
बिवाहपछिको संघर्ष
विवाहपछि सबै घरायसीदेखि सबै जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था उनीहरुलाई आयो । उनीहरुले पढाइलाई पनि निरन्तरता दिइरहे । घरको जेठो छोरा भएकै कारण पनि पारसमा धेरै जिम्मेवारी थियो । उनीहरुको दुई वटा सन्तान पनि जन्मिए । उनीहरुको स्याहार गर्नुपर्ने एकातिर थियो, मध्यम परिवारका उनीहरु दुख नै गरेर जीवनलाई सहजतातिर लिने प्रयास गरिरहेका थिए ।
सकारात्मक सोचका साथ उनीहरुले आफ्नो पढाइ र कामलाई निरन्तरता दिए । पारस आफ्नो व्यवसाय गर्न थाले । सुजताले भने वीरेन्द्रनगर नगरपालिकामा काम गर्छिन् । धेरै संघर्षबाट अहिले भने उनीहरु सन्तुष्ट छन् । उनीहरु संघर्षबाट नै जीवनलाई सफल बनाउन सकिने बताउँछन् ।
कस्तो थियो बाल्यकाल ?
बुवा टोपबहादुर आरसी र आमा सरस्वती आरसीको कोखबाट विस २०३४ साल माघ महिनाको २५ गते सुर्खेत वीरेन्द्रनगर वडा नम्बर ६ मा जन्मिएका पारसको बाल्यकाल भने सिम्ता गाउँपालिकामा वितेको हो । मध्यम परिवारमा जन्मिएका उनका चार जना दाजुभाइ र एक जना दिदि थिए ।
सानो कक्षामा खानीखोलामा पढेका उनले उच्च माध्यामिक तह जन माविबाट गरेका हुन् । व्याचलर भने शिक्षा क्याम्पस सुर्खेतबाट गरेका हुन् । सानोमा चन्चले स्वभावका उनी घरको सबै काम गरेर विद्यालयलय गएर पढ्थे । साथीहरुसँग खेल्दै, रमाउँदै बाल्यकाल उनको वितेको हो ।
यस्तै बुवा बखतबहादुर थापा र आमा रुविदेवी थापाको कोखबाट २०३५ सालमा दैलेखको नारायण नगरपालिका वडा नम्बर २ मा जन्मिएकी सुजताका तीन जना दिदीबहिनी र एक जना भाइ छन् । उनी पनि मध्यम परिवारमै जन्मिएकी हुन् ।
उनको बाल्यकाल दैलेखमै वित्यो । सानैदेखि त्रिभुवन उच्च मावि नया बजार दैलेखमा पढेकी उनले प्लस टुसम्म गरेकी छन् । उनी सबैलाई आदर र सम्मान गर्ने स्वभावकी छन् । साथीहरुसँगै खेलेर बाल्यकाल विताएकी सुजता अन्यायकोविरुद्धमा जाइलाग्थिन् ।
फुर्सदमा घुम्छन्
यो जोडीले जुनसुकै काम गर्दा पनि सल्लाह र आपसी समझदारीमा गर्ने गर्दछन् । काम गर्नुभन्दा पहिले उनीहरु बिचमा छलफल हुन्छ । र काम अगाडी बढाउने गर्दछन् । उनीहरुको योजना जहिले पनि समझदारीमा हुने गर्दछन् । धेरैजसो समयमा खाना बनाउन र बारीमा तरकारी लगाउने कार्यदेखि सरसफाइ सम्मका कार्यमा लगभग दैनिक दुबै मिलेर गर्छन् ।
कहिलेकाँही फुर्सद हुँदा दुबैजना घुम्न जाने र रमाइलो पनि गर्दछन् । यसरी एकआपसमा छलफल र सल्लाहमा काम गर्दा सम्बन्ध टिक्ने उनीहरुको बुझाइ छ । एक अर्कामा सहयोगी बन्ने दुबैको स्वभाव छ । यसले मायालाई बढाउन मद्दत गर्ने उनीहरु बताउछन् ।
युग संवाददाता । । २२ जेष्ठ २०७८, शनिबार १२:५४