‘विकासका काम पूरा नगर्ने ठेकेदारसँग सम्झौता हुँदैन’

कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री हुन् अमरबहादुर थापा । उनी केही साताअघि मात्र कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री बनेका छन् । मन्त्री बने पनि उनलाई नेकपा एमालेले पार्टीको ह्वीप नमानेको भन्दै सांसद पदबाट हटाइसकेको छ । उनी दैलेखबाट एमालेको तर्फबाट प्रदेश सभामा निर्वाचित भएका थिए । सांसदबाट पदमुक्त भए पनि उनी ६ महिनासम्म मन्त्री हुनेछन् । अब हुने उपनिर्वाचनबाट जितेर आएमा पुन सांसद बन्ने सम्भावना पनि छ । कर्णाली प्रदेशको मन्त्री बनेपछि उनको योजना के छ ? प्रदेशको भौतिक विकासतर्फ सरकारले अब कसरी काम गर्छ ? कर्णालीमा विकास बजेट किन खर्च हुन सक्दैन ? यस्तै विषयमा केन्द्रीत रहेर सहकर्मी टेकराज केसीले मन्त्री थापासँग कुराकानी गरेका छन । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

अमरबहादुर थापा
मन्त्री, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, कर्णाली

मन्त्री बनेपछि तपाइँका नयाँ योजना के छन् ?

मेरा पहिलो योजना भनेको जनता आवास कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने हो । यसका लागि कार्यविधि बनाएर अगाडी बढाउने योजना छ ।

टनेलहरु निर्माण गर्नेगरी डिपिआर काम अगाडी बढाएको छु । जलस्रोतको सन्दर्भमा छलफल चलिरहेको छ । उर्जाको विषयमा पनि हामीले सुर्खेत उपत्यकाको लोडसेडिङ्ग हटाउनेगरी सोलार सिस्टमबाट पाँच वाट विद्युत उत्पादन गर्ने योजना छ । समग्रमा सडक, खानेपानी लगायतका पुराना योजनालाई कार्यान्वयन गर्नेगरी म लागि रहेको छु ।

कर्णालीमा भौतिक विकास गर्न कस्ता चुनौती हुन सक्छन् ?

चुनौती त थुप्रै छन् । सबैभन्दा ठुलो चुनौती भनेको ठेक्का पट्टा लिने र होल्ड गरेर बस्ने, विकासको काम अगाडी बढ्न नदिने । एउटै ठेकेदारले सात वटा सम्मको ठेक्का लिएका छन् तर काम नगर्ने समस्या छ । अर्को चुनौती भनेको दक्ष जनशक्तिको हो । यस्तै भौगोलिक कठिनाइ पनि छ । मैले भनेनी पहिलो चुनौतीको रुपमा रहेको कामको ठेक्का लिने तर काम नगर्ने ठेकेदारहरु छन् ।

अब उनीहरुलाई असारसम्म हेर्छु । काम गर्नेलाई भुक्तानी दिन्छौं । काम नगर्ने जत्ती ठेकेदार कम्पनीहरु छन्, उनीहरुलाई कालोसुचीमा राख्ने छौं । कामको जिम्मा लिएपछि त काम गर्नुपर्यो नी । अहिले म्याद सकिएका ती ठेकेदार कम्पनीहरु म्याद थप गरिदिन भन्दै धाइरहेका छन् । काम नगर्ने जोसुकै होस्, कारवाही गरेर अगाडी बढ्छु ।

र अर्को समस्या भनेको कर्मचारीको अभाव छ । एकजना प्राविधिकले पुरै जिल्ला हेर्नुपर्ने अवस्था छ । कर्मचारी अभाव हुँदा काम गर्न धेरै समस्या छ । त्यसैले लोकसेवा आयोगसँगको समन्वयमा हामीले करारमा भए पनि कर्मचारी भर्ना लिनुपर्यो भन्ने प्रस्ताव गरेका छौं ।

प्रदेश सरकारले किन विकास बजेट कार्यान्वयन गर्न सक्दैन ?

तपाइँले उठाएको विषय महत्वपूर्ण छ । मैले मन्त्रालयको जिम्मेवारी यो आर्थिक बर्षको लाष्टमा गरेँ । त्यो तपाइँलाई थाहा नै छ । म रहेको मन्त्रालयको बजेट खर्च मात्रै ५० प्रतिशत यो आर्थिक बर्षमा खर्च गर्न सके भने पनि धेरै ठुलो हुन्छ । खर्च भएन भनेर बाहिरबाट गुनासो गर्नुभन्दा पनि गत बर्षको सडकको लागि छुट्याइएको बजेटको टेण्डर आव्हान बल्ल भएको छ ।

आउँदो बर्षदेखि म नयाँ योजना अनुसार जानुपर्ने अवस्था छ । अहिले त त्यो समय थिएन । पुराना क्रमागत योजना पुरा गर्नुपर्ने एकातिर छ, भने भइरहेका कामहरु आधा मात्र गरेर त हुँदैन । त्यसैले अर्को आर्थिक बर्षबाट विकासका कामको कार्यान्वयन तीव्र गतिमा हुन्छ । त्यही अनुसार म अगाडी बढेको छु । मैले अघि पनि भनेनी अब असारसम्म काम नसक्ने ठेकदार कम्पनीहरुलाई म कालो सुचिमा राख्छु । आफुले जिम्मा लिएको काम समयमै सक्नुहोस, म आग्रह पनि गर्छु ।

अब सरकारको आलोचना नहुनेगरी कसरी काम गर्नुहुन्छ ?

विगतमा केही कमजोरी भए होलान् । त्यसको आलोचना भयो होला । तर अब त्यसो हुँदैन । अहिले कर्णाली प्रदेशको राजधानी सुर्खेतका सडकहरु धेरै कालोपत्रे भइसके । यो भनिरहँदा सबै भइसक्यो भन्ने होइन ।

त्यसैले सडक निर्माण गर्ने, ग्राबेल गर्ने र कालोपत्रे गर्ने सन्दर्भमा मैले प्राविधिकहरुसँग छलफल गरेर योजना बनाइरहेको छु । सबैभन्दा पहिला त राजधानीका सडकहरु हेर्न वित्तिकै चिल्ला बनाउछौं । अबको केही महिनाभित्र हेर्नुहोस, यहाँका सडक कस्ता हुन्छन् भनेर । हामी काम गरेर देखाउने छौं ।

कोरोना महामारीले विकास निर्माणमा कत्तिको प्रभाव परिरहेको छ नी ?

कोरोनाको यो दोस्रो लहरले त अन्य क्षेत्र जस्तै विकास निर्माणमा पनि असर गरिहरको सत्य हो । काम गर्ने मानिसहरुमा कोरोना संक्रमण हुन थालेको छ । सबैको ध्यान स्वास्थ्यप्रति छ ।

स्वास्थय प्रति सम्बेदनशिल हुनु नै पर्छ । विकासमा यसको असर नहुने त कुरै भएन । असर परेको छ ।

यो महामारीमा विकासका कामलाई कसरी निरन्तरता दिनुहुन्छ त ?

आफ्नो स्वास्थ्यसँगै विकासका काम पनि गर्नु नै पर्छ फेरी । त्यसैले जहाँ समस्या देखिन्छ । त्यसको समाधान त्यही गर्न मैले निर्देशन दिइरहेको छु । विकास निर्माणका काममा साथ दिन म अनुरोध गर्दछु ।

अनि अर्को कुरा यो कोरोनाको कारण देखाएर केही ठेकेदारहरुले काममा आलटाल गर्ने तर म्याद थप गर्न भनिरहेका छन् । त्यसमा मेरो कुनै सम्झौता हुँदैन । काम परिणामुखि हुनुपर्दछ । काम गर्दा सरकारले निर्धारण गरेका स्वास्थ्यका मापदण्ड पनि पालना गरौँ ।

तर कतिपय ठेकेदारले काम पूरा नगर्ने समस्या छ नी ?

हो । काम नगर्ने तर ठेक्का लिएर केवल होल्ड मात्र गर्ने प्रचलन पनि छ  । त्यस्ता दिन गए अब । जिम्मा लिएपछि काम गर्नुपर्छ । अहिलेसम्म काम हुन नसक्नुको कारण भनेकै ठेकेदारको लापरवाहीका कारण हो ।

मैले फेरी पनि भन्छु, आफुले लिएको ठेक्का समयमै सक्नुहोस् । साथीभाई आफन्त भनेर मैले ठेकेदार र तिनका कम्पनीलाई काम नगरेको खण्डमा छोडनेवाला छैन । काम नगर्नेहरु कारबाहीमा पर्छन् ।

यहाँ मन्त्री हुने ६ महिनाका लागि हो । तपाइँले बनाएका सबै योजना पुरा होलान् र ?

पहिलो कुरा त तपाइँ के ढुक्क हुनुहोस् भने म मन्त्रीबाट गएर के भयो त ? फेरी अमरबहादुर थापा जितेर संसदमा आउँछ । फेरी मन्त्री बन्छ । र आफ्नो कामलाई निरन्तरता दिन्छ ।

अर्को कुरा विकासका काम सबै एकैचोटी हुने होइन । ६ महिनाभित्र मैले यो मन्त्रालयमा सिस्टम बसाल्ने हो । त्यो सिस्टममा बसेर काम गर्यो भने विकासकामा परिणाम देखिन्छ । फेरी जितेर आउछु अनि मैले बनाएका योजनाको बाँकी काम पुरा गर्छु ।

 

तपाईको प्रतिक्रिया