‘आत्मविश्वासले पनि निजामति सेवामा प्रवेश गर्न सहयोग गर्छ’

हरेक व्यक्तिका लागि घरपरिवार पाठशाला हो भने बुवाआमा पहिलो गुरु हुन् । व्यक्ति जस्तो वातावरणमा हुर्किन्छ, उस्तै लक्ष्य र उद्देश्य बोक्छ । अनि बुवाआमाले जस्तो संस्कार सिकाउँछन्, छोराछोरीले त्यही सिक्छन् र व्यवहारमा लागू गर्छन् । १२ बर्षदेखि निजामति क्षेत्रमा सक्रिय धनसरा रानामगर लाई पनि ठिक त्यस्तै वातावरण मिल्यो । उनी निजामति गाउँ भनेर चिचिने सुर्खेतको वीरेन्द्रनगरस्थित नेवारेमा जन्मिइन् । बुवा सरकारी जागिरे भएका कारण बुवाकै प्रेरणाले निजामति क्षेत्रमा होमिन् । प्रस्तुत छ, हाल कृषि क्षेत्र विकास कार्यक्रम कार्यालय सुर्खेतमा लेखापाल पदमा कार्यरत उनै रानाको निजामति क्षेत्रको अनुभव र जीवन भोगाईमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :

धनसरा रानामगर
लेखापाल, कृषि क्षेत्र विकास कार्यक्रम कार्यालय, सुर्खेत

सुखद् बाल्यकाल

धनसरा मध्यम परिवारमा जन्मिन् । तर अभाव कहिलै भोगिनन् । बुवा सरकारी जागिरे र आमाले कृषि पेशा धानेकी थिइन् । यहीकारण बाल्यकालमा उनलाई मेलापात गर्न पथ्र्याे । घाँसदाउरा र गाइगोठालो गर्न पथ्र्याे । तर दुःख र अभाव भोग्नै परेन । ‘छोरी भएपछि मेलापातमा आमालाई सघाउनै पथ्र्याे’ उनी भन्छिन्, ‘तर अभाव र दुःख महसुस नै भएन ।’

आर्थिक रुपले सम्पन्न नभए पनि अभाव थिएन । पारिवारिक खुशी थियो । बुवाआमा शिक्षित थिए । छोरीलाई पढाउनुपर्छ भन्ने ज्ञान थियो । परिणामतः बाल्यकाल पारिवारिक खुशीमा वित्यो । घरपरिवारमा अभावले कहिल्यै पाइला टेकेन । बुवा मोहनसिंह र आमा चन्द्रवती रानामगरबाट २०४३ साल पुस २४ गते वीरेन्द्रनगर–१२ नेवारेमा जन्मिएकी उनको बाल्यकाल सुखद् वित्यो ।

पढाइमा असफलता भोग्नु परेन

धनसराका आमाबुवा शिक्षित थिए । छोरीलाई पढाउनुपर्छ भन्ने ज्ञान थियो । बुवाआमाको यही मायाका कारण पढाइमा हौसला मिल्यो । परिणामतः विद्यार्थी जीवनमा कहिल्यै असफलता भोग्नु परेन । गाउँकै कालिका नेपाल राष्ट्रिय प्राथमिक विद्यालय गुप्तीपुरबाट उनले कखरा सिकिन् । कक्षा १ देखि ८ सम्मको पढाइ त्यही पुरा गरिन् ।

२०५८ सालमा एसएलसी पास गरेकी उनले कक्षा ९ र दश भने अमरज्योति माध्यमिक विद्यालयबाट पुरा गरेकी हुन् । तत्कालिन वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट प्लसटु र स्तातक तह पुरा गरेकी उनले त्रिभुवन विश्वविद्यालय काठमाडौँबाट एमपीए अध्ययन पुरा गरेकी छिन् । पढाइमा उनी मध्यमस्तरको विद्यार्थी हुन् । अर्थशास्त्र र गणितमा उनी अब्बल थिइन् ।

तर अंग्रेजी विषय कठिन थियो । ‘सरकारी स्कुलमा पढेर होला, अंग्रेजी साह्रै अप्ठेरो लाग्थ्यो’ उनी भन्छिन्, ‘अर्थशास्त्र र गणित निकै सजिला लाग्थे ।’ पढाइका अलवा उनी भलिबल र ब्याडमिन्टेन प्रतियोगितामा रुची राख्थिनन् । विद्यालयदेखि क्याम्पस स्तरमा हुने प्रतियोगिताहरु छुटाउँथिनन् । ब्याचलर पढ्दै गर्दा २०६६ सालतिर वीरेन्द्रनगर शिल्डमा उनको समूह दोस्रो स्थान ल्याएको थियो । खेलकुद प्रतियोगिताले अरुसँग घुलमिल र व्यक्तित्व विकासमा ठूलो सहयोग मिल्ने उनको अनुभव छ ।

सानैदेखि जागिर खाने सपना

नेवारे क्षेत्र निजामति गाउँका रुपमा परिचित छ । त्यहाँका अधिकांश मानिसहरु सरकारी जागिरमा छन् । उबेला पनि प्रायः घरमा कुनै न कुनै जागिरे थिए । घरमा वुवा पनि जागिरमै थिए । त्यही प्रभाव प¥यो धनसरालाई पनि । ‘तिमी पनि पढेर जागिर खानुपर्छ’ सानोछँदा बुवाले भनेको उनलाई अहिले पनि ताजै छ । ‘बुवाले सानैदेखि जागिर खानुपर्छ भन्नुहुन्थ्यो’ उनी सुनाउँछिन्, ‘घरमा बुवाको प्रेरणा र समुदायकोे प्रभावले नै जागिरमा जोडिएकी हुँ ।’

स्कुल जाँदा आउँदा अग्रज कर्मचारीहरुसँग हुने जम्काभेटले उनलाई ठूलो भएपछि कर्मचारी नै बन्नुपर्छ भन्ने लाग्थ्यो । समुदायको कर्मचारीप्रतिको अमिट छाप । घरकोमा बुवाको सहयोग । मामाघर जाँदा ‘भान्जी तिमी पनि कर्मचारी बन्नुपर्छ’ भन्ने मामाको प्रेरणा । नयाँ पुस्तालाई सरकारी जागिरमा उत्प्रेरणा जगाउने उद्देश्यले गाउँमा गठन भएको बौद्धिक क्लव ।

इत्यादि कारण धनसराले सानैमा कर्मचारी बन्ने उद्देश्य राखिन् । बाल्यकालमा देखेको सपनालाई भने २०६६ सालमा आएर पुरा गरिन् । जुन उनको जीवनमा सबैभन्दा खुशीको क्षण थियो । बाल्यकालकास सपनालाई साकार पार्न २०६५ सालदेखि लोकसेवाको तयारी गरिन् ।

ख्यालख्यालमै २०६६ साल असार २३ गते निजामति कर्मचारी बनिन् । खरिदारबाट निजामति क्षेत्रमा प्रवेश गरेकी उनको पहिलो कर्मथलो बन्यो तत्कालीन जिल्ला विकास समितिको कार्यालय जाजरकोट । करिव साढे एक बर्षपछि उनी लेखापालमा उत्तीर्ण भइन् । लेखापाल भएपछि सुर्खेतका विभिन्न कार्यालयहरु सेवा गरेकी उनी हाल संघीय सरकार अन्तरगतको कृषि क्षेत्र विकास कार्यक्रम कार्यालय सुर्खेतको लेखापाल पदमा कार्यरत छन् ।

निरन्तरको मेहनत नै सफलताको सुत्र

धनसरालाई जागिर प्रवेश गर्न बुवाआमाको जति उत्प्रेरणा दिए, त्यो भन्दा धेरै मेहनत गरिन् उनले । ‘छोराछोरीमाथि आमाबुवाको सहयोग हुन त स्वभाविक हो, तर सफलतामा पुग्न मेहनत र आत्मविश्वास चाहिन्छ’ उनी भन्छिन्, ‘निरन्तरको मेहनत नै सफलताको सुत्र हो ।’

समयको सदुपयोग गर्न सके छोटो समयमा नै सफलता हात पर्ने उनको तर्क छ । ‘निजामति क्षेत्रमा प्रवेश गर्न सानो मेहनतले पुग्दैन’ उनी भन्छिन्, ‘आत्मविश्वासको साथ अगाडि बढे एकदिन पक्कै सफलता मिल्छ ।’ लक्ष्य र उद्देश्य बुझाउन सक्ने हरेक दिदीबहिनीले परिवारबाट सहयोग पाउने उनको भनाइ छ । ‘घरमा प्रायः छोरीहरुलाई छोराको जस्तो फुर्सद हुँदैन’ उनी भन्छिन्, ‘परिवारलाई सम्झाउन नसके पछि परिन्छ, सम्झाउन सके सहयोग मिल्छ ।’

तपाईको प्रतिक्रिया