‘कोरोना नियन्त्रणमा प्रदेश र केन्द्रले पनि सघाउनुपछ’

अहिले कोरोनाको दोस्रो लहर फैलिरहेको छ । यसबाट नागरिकहरु प्रभावित भइरहेका छन् । विकास निर्माणका कामहरुसँगै नागरिकले रोजगारी पनि गुमाइ रहेका छन् । एकातिर नागरिकलाई महामारीबाट जोगाउनुपर्ने छ भने अर्कोतर्फ उनीहरुलाई गाँसको पनि व्यवस्था गर्नुपर्ने हुन्छ । यसपालीको कोरोना महामारी रोमथाम र नियन्त्रणमा पनि गत बर्षको जस्तै स्थानीय सरकारले सक्रिय भूमिका खेल्दै आइरहेका छन् । यसै सन्दर्भमा कोरोना नियन्त्रणमा सुर्खेतको लेकवेशी नगरपालिकाले के गरिरहेका छ ? सामाजिक सुधारसँगै विकासका कामहरु कसरी अगाडी बढेका छन् ? यसै सेरोफेरोमा रहेर हाम्रा सहकर्मी टेकराज केसीले लेकवेशी नगरपालिकाका मेयर गगनसिं सुनारसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको शारासं :

गगनसिं सुनार
मेयर, लेकवेशी नगरपालिका, सुर्खेत

हिजोआज के काममा व्यस्त हुनुहुन्छ ?

म यतिबेला दास्रोे लहरको रुपमा फैलिरहेको यो कोरोना महाकारी रोकथाम र नियन्त्रणका लागि लागि रहेको छु । जनता कतै अफ्ठेरोमा छन् की ? भन्दै उनीहरुको समस्या बुझ्ने काममै जुटेको छु । स्वास्थ्य क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुसँग छलफल लगायतका काममा व्यवस्त छु । समग्रमा म जनताको सेवा र सुरक्षामा नै व्यस्त छु ।

कोरोना नियन्त्रणका लागि के गरिरहनु भएको छ ?

हामी पहिलो कुरा त सुचना प्रवाहमा नै केन्द्रीत छौं । विभिन्न माध्यमबाट कोरोनाबाट बच्न स्वास्थ्य मापदण्डहरु पालना गर्नुहोस् भनेर भनेका छौं । केही समस्या भए नगरपालिकामा २४ सै घण्टा जानकारी गराउने व्यवस्था मिलाएका छांै । यतिमात्र हैन, पछिल्ला कोभिडका विरामीहरुलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था छ ।

सबैतिर अहिले अस्पतालहरुमा बेड पाउन समस्या भइरहेका बेला हामीले १५ बेडको आइसोलेसन बनाएका छौं । यसलाई बढाएर ३० बेडसम्मको बनाउने योजना छ । दशरथपुरको कृषि अनुसन्धान केन्द्रमा आइससोलेसन कक्ष बनाइएको छ । नगरपालिका भित्रका सबै वडामा पिसिआर र एन्टीजेन परीक्षणलाई बढाएका छाैं ।

अघिल्लो बर्ष पनि यसैगरी कोरोना संक्रमण फैलिँदा हामीले धेरै प्रयास गरेर संक्रमण जोखिम कम गरेका थियौं । घरभित्रै बसेर स्वास्थ्य मापदण्ड पालना गर्न भनिरहेका छौं । कोरोना पोजेटिभ भएका व्यक्तिहरुलाई केही समस्या भएको खण्डमा तत्काल अस्पताल भर्नाका लागि एम्बुलेन्सको पनि व्यवस्था गरिएको छ । एकातिर कोरोनाको दर बढिरहेको बेला फेरी अर्कोतिर भोकै त बस्नु भएन । यो समय फेरी खेती लगाउने समय पनि भएकाले सामाजिक दुरी कायम गरेर काम गर्न भनिरहेका छाैं ।

कोरोनाविरुद्ध लड्न बजेट त अभाव हुँदैन ?

गतसाल कोरोना भयावह हुँदा हामी नियन्त्रणमा लिन सफल भयौं । अब त कोरोना आउँदैन होला भनेर हामीले नगरसभाबाट कोरोनाको लागि बजेट छुट्याएनौँ । हामीले विकास निर्माणका काममा लगायौँ । सडक निर्माण, भवन र खानेपानी निर्माणमा केन्द्रीत गर्यौ । अहिले कोरोनाको कहर बढ्यो ।

अवस्था भयावह बन्दै गएको छ । विपतको लागि छुट्याइउको केही रकम बाहेक हामीसँग अरु रकम छैन । एउटा विकल्प भनेको अहिलेसम्म सम्झौता भएको विकास निर्माणका कामबाहेक अरु बाँकी कामको लागि सम्झौता नगर्ने नीतिमा हामी छौँ । बाँचेपछि विकास पछि पनि गर्न सकिन्छ । त्यसैले अब विकासको बजेट पनि हामी कोभिडतिरै स्थानान्तरण गर्ने की ? भन्नेमा छौं ।

यतिगर्दा पनि हामीलाई कोरोना नियन्त्रणमा बजेट नपुग्न सक्छ । त्यसैले म प्रदेश र केन्द्र सरकारलाई आग्रह गर्छु । सबैभन्दा जिम्मेवारी र कोरोना जोखिम नियन्त्रणमा स्थानीय सरकार जिम्मेवार हुने भएकाले यसको लागि बजेट पठाउनुपर्छ ।

नत्र हामीलाई यो महामारी नियन्त्रण गर्न समस्या हुन्छ । बजेट अभावकै कारण यो महामारीमा कसैले ज्यान गुमाउने अवस्था नआओस् । म फेरी पनि भन्छु, प्रदेश र केन्द्र सरकारले समयमै ध्यान दिएर स्थानीय सरकारहरुलाई बजेट पठाउनुपर्छ ।

यो संकटमा केही राहतका कार्यक्रम पनि छन् की ?

अहिले विकास निर्माणका कामहरु रोकिएका छैनन् । तर यही अवस्था रहने हो भने स्थिति नियन्त्रण बाहिर जानसक्छ । त्यस्तो बेलामा विकासका काम, रोजगारीभन्दा पनि जनताको जिउधनको सुरक्षामा केन्द्रीत हुनुपर्ने अवस्था आउनसक्छ । हामी त्यस्तो अवस्थामा राहतका कार्यक्रम अवश्य ल्याउँछौं ।

तर गतसाल के भयो भने राहतका कार्यक्रम ल्याउने निर्णय नगरपालिकाबाट भयो । त्यसमा जो हुने खानेहरु हुनुहुन्छ, उहाँहरुले लाभ लिनुभयो । मजदुर, गरिवहरुले राहत नपाएको गुनासो आयो । त्यसैले यदी हामीले राहतका कार्यक्रम ल्याउनुपर्ने भयो भने यो कुरालाई ध्यान दिन्छाैं । किनकी गत सालको हामीलाई अनुभव छ ।

विकासका कामहरु कसरी संचालन भइरहेका छन त ?

हामीले जुन विकास निर्माणका काममा सम्झौता गरेका छौं नी, ति कामहरु संचालन भइरहेका छन् । जस्तै भवन निर्माणका कामहरु भइरहेका छन् । नगरपालिकाको भवन पनि टेण्डरमा गएको छ ।

त्यस्तै नगर अस्पतालको भवन पनि टेण्डर गर्ने प्रक्रियामा छाैं । साना योजनाहरु पनि संचालन भइरहेका छन् । सडक निर्माण अन्तरगत ट्रयाक खोल्नेदेखि ग्रावेल गर्ने कामहरु भइरहेका छन् । विकास निर्माण अन्तरगतका कामहरु भइरहेका छन् ।

युवालाई रोजगारी दिने केही योजना पनि छन् की ?

रोजगारीकोभन्दा पनि स्वरोजगारको कुरा धेरै गर्ने गरेका छौं । कृषि र पशुपालनमा युवाहरुलाई केन्द्रीत गर्ने योजना बनाएका छौं । हामीले युवाहरु विदेशिनु नपरोस् भनेर कृषि र पशुपालनलाई विशेष जोड दिएका छांै । अहिले पनि केन्द्र सरकार र हाम्रो साझेदारीमा करिब एक करोडको कृषि क्षेत्रमा काम गर्दै यहाँबाट सयौँ युवाहरुलाई हामी स्वरोजगार बनाउछाैं ।

त्यसगरी नगरपालिका भित्रबाट संचालित विभिन्न कार्यक्रमबाट पनि युवाहरुलाई स्वरोजगार बनाउने हाम्रो अभियान छ । अहिले पनि धेरै कामहरु भइरहेका छन् भने युवाहरु त्यतातिर लागि रहनुभएको छ । त्यसैगरी प्रधानमन्त्री र मुख्यमन्त्री स्वरोजगार कार्यक्रममा पनि हामी जसले रोजगारी पाएको छैन । उनीहरुलाई फोकस गरिहेका छौं । यो कोरोनाको कारण विदेशिएका युवाहरु गत सालदेखि नै स्वदेश फिर्ता भइरहनुभएको छ । उहाँहरुलाई व्यवसायिक बनाउने हाम्रो प्रयास छ । त्यो पनि विभिन्न उद्यमशिलता र कृषि पशुपालनमा ।

तपाईको प्रतिक्रिया