‘नगरबासीलाई कोरोनाबाट बचाउन बजेट अभाव हुँदैन’

वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी । प्रदेश राजधानी भएकाले पनि पछिल्लो समय वीरेन्द्रनगरमा मानिसहरुको बसाइँ आउनेक्रम बढ्दो छ । राजधानी भएपछि सेवा र सुविधा पाइने आशमा नागरिकहरु यहाँ भित्रिने गरेका छन् । यसैको परिणाम नगर क्षेत्रमा जग्गाको मूल्य बढेको छ भने सहरीकरण व्यवस्थापनमा पनि चुनौती थपेको छ । पछिल्लो समय कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै कर्णालीमा सबैभन्दा बढी प्रभावित वीरेन्द्रनगर नै बनेको छ । यो नगरपालिकामा जनप्रतिनिधि आएपछि के परिवर्तन भयो ? हालसम्म गाउँपालिकामा के कस्ता विकास निर्माण भए त ? कोरोनाको दोस्रो लहरमा महामारी नियन्त्रण गर्न नगरपालिकाबाट के कस्ता प्रयास भइरहेका छन त ? यसै विषयमा केन्द्रित रहेर हाम्रा सहकर्मी टेकराज केसीले वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश 

 

                               मोहनमाया ढकाल उपप्रमुख, वीरेन्द्रनगर नगरपालिका, सुर्खेत

 

हिजोआज के काममा व्यस्त हुनुहुन्छ ?

यतिबेला कोरोना महामारी सुरु भएको छ । तर पनि म नगरपालिकाकै दैनिक काममा नै व्यस्त छु । विशेषगरी अहिले कोरोना संक्रमण फैलिरहेको अवस्थामा नागरिकलाई यो संक्रमणबाट बचाउन नै व्यस्त छु । विभिन्न चरणमा विज्ञ र डाक्टरहरुसँग परामर्श लिने काममा नै विशेष रुपमा व्यस्त छु । नागरिकलाई यो महामारीबाट कसरी सुरक्षित राख्ने भन्नेमा नै केन्द्रीत छु ।

कोरोना महामारी नियन्त्रणका लागि के गरिरहनु भएको छ ?

अहिले हाम्रो नगरपालिका मात्र हैन, विश्वभर नै कोरोनाको दोस्रो लहर फैलिरहेको छ । हामीले कटकुवा स्वास्थ्य चौकीलाई ५० बेडसम्मको आइसोलेसन कक्ष संचालन गरिरहेका छांै । नागरिकहरु यो संक्रमणबाट जोगिनुपर्छ भनेर विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गरिरहेका छाैं ।

अघिल्लो बर्ष पनि यसैगरी कोरोना संक्रमण फैलिँदा हामीले धेरै प्रयास गरेर संक्रमण जोखिम कम गरेका थियौं । गत बर्षजस्तो क्वारेन्टाइन संचालन गर्ने भन्नेमा हामी छैनौं । घरभित्रै बसेर स्वास्थ्य मापदण्ड पालना गर्न भनिरहेका छौं । नगरपालिकाले आफ्ना नागरिकहरुकै लागि भनेर हप्तामा दुईदिन कोरोना चेकजाँचको व्यवस्था पनि गरिरहेका छौं ।

कोरोना पोजेटिभ भएका व्यक्तिहरुलाई केही समस्या भएको खण्डमा तत्काल अस्पताल भर्नाका लागि एम्बुलेन्सको पनि व्यवस्था गरेका छौं । दुईजना डाक्टरहरुलाई कोभिडकै लागि खटाएका छौं । यसैकै लागि टेलिमेडिसिन सेवा पनि संचालन गरेका छौं ।

कोरोना रोकथाममा बजेटको अवस्था के छ ?

हामीले नगरसभाबाटै चालु आर्थिक बर्षमा कोरोना नियन्त्रण र व्यवस्थापनको लागि पाँच करोड रकम विनियोजन गरेका छौं । कोष नै बनाएका छौं । केही रकम त अघिल्लो बर्ष सकियो । यदी रकम अपुग भएको खण्डमा विकास आयोजनाको बजेट नै रकमान्तर गरेर भए पनि यो कोषको रकम बढाउँछौं । बजेट अभावकै कारण यो महामारीमा कसैले ज्यानु गुमाउने अवस्था आउन दिदैनौं ।

केही राहतका कार्यक्रम पनि ल्याउनुहुन्छ की ?

अहिले विकास निर्माणका कामहरु रोकिएको अवस्था छैन । मजदुरहरुले त्य

हाँ काम पाइ रहनुभएको छ । भोली स्थिति भयावह हुन थाल्यो, काम नै रोक्नुपर्यो भने हामीले मजदुरहरुको लागि राहतका कार्यक्रम ल्याउछौं । यो स्थानीय सरकारको दायित्वभित्र पनि पर्छ ।

तपाइँहरु निर्वाचित भएपछि नगरभित्र के परिवर्तन भयो त ?

हामी पहिलो निर्वाचित जनप्रतिनिधि हो । हामी निर्वाचित भएर आएपछि धेरै परिवर्तन भएको छ । हामी आएर शुरुका बर्षहरुमा त निती, नियम र कानुनहरु निर्माण गरी त्यहीअनुसार दोस्रो बर्षदेखि हामी विकास निर्माणसँगै अन्य काम गर्न शुरु गर्यौं ।

अहिले सबै वडामा स्वास्थ्य, शिक्षा र सडकमा सुधार भएको छ । सबैको पहुँचमा आधारभुत विकास पुगेका छन् । सडक निर्माणको कुरा गर्दा उपत्यकाका अधिकांश सडकहरु कालोपत्रे भइरहेका छन् भने अन्य वडामा पनि सडक सञ्जालहरु पुगेका छन्र ।

उत्पादनमा वृद्धि हुन थालेको छ भने कतिपय प्रदेश र संघीय सरकारसँगको समन्वयवमा धेरै परिवर्तन भएका छन् । अब वीरेन्द्रनगरको १५ र १६ वडामा मात्र विद्युत पुग्न बाँकी छ । त्यहाँ पनि काम भइरहेकाले हाम्रो कार्यकालभित्र त्यहाँ विद्युत बलिसक्छ ।

विकासका काम गर्दा के कस्ता चुनौती आउँछन् ?

स्थानीय सरकारको नेतृत्वदायी भुमिकामा बसेर काम गर्नुपर्दा चुनौती त आउँदा रहेछन् । जस्तै सबैभन्दा ठुलो चुनौती त सिमित स्रोत साधन छन्, तर आवश्यकता धेरै छन् ।

ती आवश्यकता पुरा गर्नु सबैभन्दा ठुलो चुनौती हो । यद्यपी स्थानीय तहले समस्या प्राथमिकिकरण र पहिचान गर्ने हो । यसको लागि स्थानीय तहको साधनले मात्र हुँदैन । त्यसमा प्रदेश र केन्द्र सरकारले पनि लगानी गर्नुपर्ने हुन्छ ।

संघ र प्रदेशसँग कसरी समन्वय गर्नुभएको छ ?

हामी एउटा प्रदेशको राजधानीको नगरपालिका पनि हो । हामीले प्रदेश र केन्द्रका विभिन्न फोरम र सिधै सरकारहरुसँग पनि हामीले यो नगरपालिकालाई राजधानी केन्द्रीत विकासका काम हुनुपर्छ भनेर प्रदेश र संघीय सरकारसँग भन्ने गरेका छौं ।

वीरेन्द्रनगरमा अहिले संघीय र प्रदेशका धेरै विकासका कामहरु छन् । नगरपालिकालाई उहाँहरुको सपोर्ट राम्रो छ । समन्वय सही ढङ्गले गरेका छौं जस्तो लाग्छ मलाइ ।

युवालाई रोजगारी दिन के योजना बनाउनु भएको छ ?

तपाइँले राम्रो प्रश्न गर्नुभयो । रोजगारीको कुरा गर्दा हामीले स्वरोजगारको कुरा धेरै गर्ने गरेका छौं । त्यही अनुसारका नीति र कार्यक्रम पनि बनाएर अहिले धेरै त कार्यान्वयनमासमेत गइसकेको अवस्था छ । हामीले राष्ट्रिय युवा परिषदसँगको समन्वयमा धेरैभन्दा धेरै युवाहरुलाई यही स्वरोजागर दिनेगरी लागेका छौं ।

अहिले पनि तपाईँलाई भनौँ धेरै महिला र पुरुष युवाहरुलाईसमेत गरेर करिब तीन सयभन्दा धेरैलाई स्वरोजगार बनाएका छाैं । विदेशमा जानुभन्दा यही नै काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ भन्ने हाम्रो योजना छ । हामीले बनाएका योजना कार्यान्वयनको चरणमा रहेकाले धेरै युवाहरुलाई विभिन्न उद्यमशिलतामा लगाउछौं । त्यो अटो रिक्सा चलाउनेदेखि सिलाइबुनाइ र कृषि र पशुपालनमा आत्मनिर्भर बनाउन हामी लागेका छौं ।

तपाईको प्रतिक्रिया