वीरेन्द्रनगर नगरपालिकाले एम्मुलेन्ससहित ५० शैयाको अस्पताल संचालनमा ल्याउने

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको कोरोना(कोभिड–१९) को संक्रमण तिब्र रुपमा बढ्दै गएका कारणले एम्बुलेन्स र अक्सिजनसहितको ५० शैयाको अस्पताल संचालन गर्ने भएको छ । नगरपालिकाले नगर अस्पतालको भवन कटकुवामा एम्बुलेन्स, अक्सिजनसहितको ५० शैयाको अस्पताल संचालनमा ल्याउन लागेको हो ।

कोरोना संक्रमितको उपचारका लागि एम्बुलेन्स संचालन र ५० बेडको अक्सिजनसहित आईसोलेसन अस्पताल संचालन गर्ने नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बताइन् । ‘तत्काल २५ बेडबाट सेवा सुरु हुने छ ।’ उनले भनिन्‘बिरामीलाई बोक्नका लागि अक्सिजनसहितको एम्बुलेन्स पनि संचालनमा आउने छ ।’

अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि सहज अक्सिजनसहितको आइसोलेसन बेड निर्माण गरिएको उपप्रमुख ढकालले बताइन् । ‘अस्पलातमा चाहिने जनशक्ति र अन्य व्यवस्थापन नगरपालिकाले गरिसकेको छ ।’ उनले भनिन्, ‘सबै तयारी पुरा भएर एक दुइ दिन भित्रमा नै अस्पताल संचालनमा आउने छ ।’

कोरोना संक्रमण बढ्दै गएको र सबैले स्वास्थ्य सुरक्षाको बिधिको पालना गर्न आवश्यक रहेकाले अहिलेको अवस्थामा सबैले आ–आफ्नो ठाउँबाट लाग्नु पर्ने अवस्था आएको उपप्रमुख ढकालले बताइन् । ‘हामी सबैको साझा प्रयासले नै यो रोगको सामना गर्ने हो ।’ उनले भनिन्,‘यदि तपाईंलाई कुनै समस्या पर्याे भने तुरुन्त स्वास्थ्यकर्मीको सम्पर्कमा आउनुहोला ।’

तपाईको प्रतिक्रिया