भारतमा २४ घण्टामा थपिने नयाँ संक्रमितको संख्या ४ लाख नाघ्यो, अमेरिकाभन्दा ७ गुणा बढी

काठमाडौं । भारतमा २४ घण्टाभित्र थपिने नयाँ कोरोना संक्रमितको संख्या ४ लाख पार भएको छ । शुक्रबार भारतमा रेकर्ड ४ लाख २ हजार ११० जना नयाँ संक्रमित थपिएको जोन हप्किन्स विश्वविद्यालयको कोभिड–१९ ट्रयाकरले जनाएको छ । यो विश्वका कुनै पनि देशमा एक दिनमा थपिएका बिरामीको संख्यामध्ये सर्वाधिक हो ।

यो संख्याले अहिलेसम्म सबैभन्दा धेरै संक्रमित भेटिएको देश अमेरिकालाई पनि मात गरेको छ । शुक्रबार अमेरिकामा ५९ हजार ९०६ संक्रमित देखिए । भारतमा थपिएका संक्रमितको संख्या अमेरिकामा थपिएका संक्रमितको संख्याभन्दा ७ गुणा बढी हो । शुक्रबार विश्वभर ८ लाख ७२ हजार नयाँ संक्रमित थपिएका छन् । यसरी हेर्दा पूरै विश्वमा थपिएका संक्रमितको झण्डै आधा संक्रमित भारतमा मात्र पाइएका छन् ।

अहिले विश्वमै सबैभन्दा धेरै दैनिक मृत्यु हुने देश पनि भारत बनेको छ । शुक्रबार भारतमा ३ हजार ५२२ जनाको मृत्यु भएको छ । यो पनि एक रेकर्ड हो । भारतमा सबैभन्दा धेरै मृत्यु महाराष्ट्रमा भएको छ । त्यहाँ ८२८ संक्रमितको मृत्यु भयो । भारतमा अहिलेसम्म १ करोड ९१ लाख ५७ हजार ९४ जना संक्रमित भएका छन् । २ लाख ११ हजार ८३५ जनाको मृत्यु भएको छ । १ करोड ५६ लाख ७३ हजार ३ जना निको भएका छन् भने अहिले सक्रिय संक्रमितको संख्या ३२ लाख ७२ हजार २५६ छ ।

तपाईको प्रतिक्रिया