भत्ताका लागि खाता खोल्न सास्ती

हुम्ला । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता अनिवार्य गरेपछि ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई खाता खोल्न सास्ती भएको छ । खाता खोल्न उनीहरू चार दिनसम्म पैदल हिँड्न बाध्य छन् । बैंकका शाखाहरू सदरमुकाम र गाउँपालिकाका केन्द्रमा मात्र भएकाले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई सास्ती भएको हो ।

यसअघि वडा कार्यालयले घरमै पुगी ज्येष्ठ नागरिकलाई सुरक्षा भत्ता वितरण गर्दै आएका थिए । खाता खोल्न सबैभन्दा बढी नाम्खा गाउँपालिकाका बासिन्दालाई समस्या छ । लिमीका ७१ वर्षीय थुक्तेन तामाङले दुई दिन हिँडेर खाता खोल्न यालबाङ आउनुपरेको बताए ।

लिमीका बासिन्दालाई गाउँपालिकाको केन्द्र पुग्न झन्डै ५ हजार मिटर उचाइको न्यालु लेक काटेर जानुपर्ने बाध्यता छ । ‘झन्डै हिउँले खाएन,’ उनले भने, ‘लामो समयदेखि भत्ता नआएकाले सास्ती भोग्दै खाता खोल्न यालबाङ पुगेको हुँ ।’सरकारको बाध्यकारी व्यवस्थाले सुविधाभन्दा बढी सास्ती दिएको सिमकोट गाउँपालिका–१ का ८८ वर्षीय आङयाल लामाले बताए ।

‘खाता नखोले भत्ता पाइन्न,’ उनले भने, ‘आफैं हिँडेर सिमकोट जान सक्ने अवस्था छैन ।’ दमको रोगी भएकाले सिमकोट गएर खाता खोल्न समस्या भएको उनको गुनासो छ । नाम्खा गाउँपालिका–४ चालाका ७१ वर्षीय निमा लामाको गुनासो पनि त्यही छ ।

गाउँपालिकाको केन्द्र पुग्न एक दिन हिँड्नुपर्ने भएकाले बैंक खाता खोल्न नसकेको उनले बताए । ‘न शरीरले साथ दिन्छ, न आँखाले,’ उनले भने, ‘एक दिनको बाटो हिँडेर कसरी खाता खोल्ने ?’ सुरक्षा भत्ताका लागि बैंक खाता अनिवार्य भएपछि नाम्खाको यारी, चाला, ताङ्गिन, सिमकोटको दोजाम, स्याडा, खोल्सी, सर्केगार्डको राहदेव, जैर र तुम्चका बासिन्दालाई समस्या छ ।

तपाईको प्रतिक्रिया