भूकम्प जाँदा बिग्रिएको १०० वर्ष पुरानो घडी १० वर्षपछि आफैं चल्यो !

काठमाडौं । भोलि बैशाख १२ गते विनाशकारी भूकम्प गएको ठिक ६ वर्ष पूरा हुँदैछ । नेपालमा भूकम्पको स्मरण भइरहँदा भुकम्पसम्बन्धी एउटा अत्यन्तै अनौठो घटना जापानमा भएको छ ।

जापानका १०० वर्ष पुरानो एउटा घडी १० वर्ष पहिले भूकम्पको धक्काका कारण बिग्रिएको थियो । त्यो घडी बिग्रिएको १० वर्षपछि आफैं ठिक भएको छ र चल्न थालेको छ । अहिले पुनः अर्को भूकम्पको धक्का लागेपछि यो घडी आफैं चल्न थालेको हो ।

द गार्डियनमा प्रकाशित समाचार अनुसार घटना जापानको यमामोटोको हो । रिपोर्टअनुसार यहाँ एक बौद्ध मठमा १०० वर्ष पुरानो विशाल घडी छ । यो घडी १० वर्ष पहिले भूकम्पको धक्काका कारण बन्द भएको थियो । त्यतिबेलादेखि अहिलेसम्म यो घडी बन्द थियो ।

हाजै फेब्रुअरी महिनामा यो क्षेत्रमा फेरि भूकम्प गयो । भूकम्पको धक्कापछि यो घडी आफैं ठिक भयो र चल्न थाल्यो । यो घडी पहिले जसरी चल्थ्यो त्यसरी नै चल्न थालेको थियो । रिपोर्टका अनुसार यो घडी निर्माता कम्पनीका प्रतिनिधि पनि त्यहाँ गएर घडी जाँच गरेका थिए ।

मठको आसपासका बासिन्दाले घडी ठिक हुँदा आफूहरु निकै खुसी भएको बताएका छन् । १० वर्षअघि भूकम्पपछि सुनामी पनि आएको थियो र पानी मठभित्र पनि पसेको थियो । मठका खम्बा र छत मात्र बचेका थिए । घडी खम्बामा झुण्ड्याइएकोले जोगिएको थियो । स्थिति सुधार भएपछि मठ प्रमुखले घडी मर्मत गर्ने निकै कोसिस गर्दा पनि ठिक बनाउन सकेका थिएनन् । केही सीप नलागेपछि घडीलाई त्यत्तिकै छोडिएको थियो ।

तपाईको प्रतिक्रिया