संघर्षबाटै उदाएकी रमना

बाल्यकाल छँदा सुखले दिन विताइन् । तर रमना दमाईको उमेर नपुग्दै सानै उमेरमा बिवाह भयो । अनि उनले धेरै दुख र संघर्ष गर्नुपर्यो । विवाह भएको केही बर्षपछि उनका श्रीमान्ले अर्को बिवाह गरे । कसैको साथ नपाएपछि उनलाई आर्थिक समस्या भयो । दुई भाइबहिनी छोराछोरी पढाउन हम्मेहम्मे भयो । उनी सफलताको खोजीमा लागिन् । जीवनमा दुख र संघर्षलाई साथी बनाउँदै उनी अघि बढिन् । र आज उनी समग्र महिलाहरुका लागि उदारणीय बन्न सफल भएकी छन् । उनै संघर्षशील दमाईसँग आजको जम्काभेटमा हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेकी छन् । प्रस्तुत छ, कुराकानीको सम्पादीत अंश 

                   रमना दमाई वडा सदस्य, भेरीगंगा नगरपालिका, सुर्खेत

 

सानोमा खेलुकदमा रुची

बुवा चन्द्रे दमाई र आमा तुली दमाईको कोखबाट रुकुमपश्चिमको मुसिकोटमा विस २०४० साल भदौमा जन्मिएकी रमना दमाईको बाल्यकाल भने सुर्खेत भेरीगंगा १२ मसिनामा वित्यो ।

उनका बुवा ४० सालमै सुर्खेतमा बसाइसराई गरी आएपछि उनलाई अभाव भने केही थिएन । उनको परिवारमा सबै पढेलेखेका थिए । समाजमा अरुले छोरीलाई पढाउनुहुन्न भन्थे । तर उनका बुवाले समाजको प्रवाह नगरी छोरीलाई पनि पढाउनुपर्छ भन्थे ।

उनका तीन बहिनी मात्र थिए । उनले घरमा कुनै पनि समस्या झेल्नु परेन । उनी सानोमा निडर र चन्चले स्वभावकी थिइन् । आइपरेको खण्डमा उनी जाइलाग्न पनि पछि हटथिनन् । यही स्वभावले होला उनले खेलकुद क्षेत्रलाई साह्रै मन पराउँथिन् । लामो जम्प र हाईजम्प गर्न उनलाई धेरै रुचीको क्षेत्र थियो ।

१३ वर्षमै विहे

मसिना प्रावि भेरीगंगामा पढेकी दमाईले कक्षा ६ देखि ८ कक्षासम्म भेरीगंगा नगरपालिकाको सारदा माविमा पढिन् । उनी १३ बर्षको हुँदा नै बिवाह भयो । बिवाहपछि उनको पढाइ रोकिन पुग्यो । उनी सानै उमेरमा घरपरिवारको जिम्मेवारी लिनुपर्ने बाध्यता आइपर्यो ।

शुरुवाती दिनमा सबै घरपरिवार र श्रीमान्को माया उनले पाइन् । तर दिनहरु वित्दै गए । उनले १८ बर्षको उमेरमा दुईवटा बच्चाबच्ची जन्माइ सकेकी थिइन् । सानो उमेरमा बच्चाबच्ची जन्मिएपछि उनमा जिम्मेवारी बढेको थियो ।

तर उनका श्रीमान्ले दास्रो बिवाह गरेपछि उनको जीवनमा दुखका दिनहरु शुरु भए । एकातिर दुई भाइबहिनी छोराछोरी लालनपालन गर्नुपर्ने, अर्कोतर्फ उनीहरुलाई पढाउनुपर्ने अवस्थामा उनका श्रीमान्ले अर्को बिवाह गर्दा उनलाई धेरै दुख भयो ।

उनले श्रीमान्बाट सम्बन्धविच्छेदको लागि कानुनी प्रक्रियामा लागिन् । श्रीमान्सँगको डिभोर्सपछि अब समाजमा केही गरेर देखाउनुपर्छ भनेर उनले हिम्मत लिइन् । उनले सिलाइकटाईको तालिम लिएर उद्यमी बनिन् । छोराछोरी पढाउन सहज भयो । भने अहिले उनले सारदा माविबाटै रोकिएको आफ्नो पढाइलाई निरन्तरता पनि दिइरहेकी छन् । उनले अहिले एसईई दिने तयारी गरेकी छन् ।

अनि राजनीतिमा होमिन्…

२०५३ सालमा सानै उमेरमा बिवाह गरेकी उनले पाँच बर्ष नपुग्दै डिभोर्स गर्नुपर्ने अवस्थामा पुगिन् । श्रीमान्ले अर्को बिवाह गरेपछि एक्लै बस्ने योजना बनाईन । उनी जब सिलाइकटाई तालिम सिक्न वीरेन्द्रनगर आइन् ।

त्यहाँ सिक्न आउने महिलाहरु कुनै न कुनै हिंसामा परेर आएको उनले थाहा पाइन् । उनको सोचमा समाजमा महिलामाथीको ज्यादती किन ? भन्ने प्रश्न उब्जिन थाल्यो । उनी आफै पनि हिंसामा परेकी महिला । उनले त्यस्ता समस्यामा परेका महिलाहरुलाई सहयोग गर्न थालिन् ।

समाजमा दुख, पीडामा रहेका महिलाहरुको पक्षमा वकालत गर्दैै आएकी उनलाई २०७४ सालमा भएको स्थानीय निर्वाचनमा जनप्रतिनिधिको उमेद्वारको रुपमा अगाडी सारियो । उनी भेरीगंगा नगरपालिका वडा नम्बर १२ को जनप्रतिनिधि भइन् । दुखदायी जीवनमा रहेका महिलाहरुको उत्थानको लागि काम गरिहरहेको बताउछिन् ।

शिक्षा र हिम्मत चाहिन्छ

उनलाई सानै उमेरमा विवाह गर्दा पछुतो लाग्ने गर्छ । सानै उमेरमा विवाह नगरेको भए समाजका लागि केही गर्न सक्ने हुने थिएँ भन्ने उनलाई मनमा खट्की रहन्थ्यो । सानै उमेरमा विवाह गर्दा सम्बन्धविच्छेदमा जानुपर्यो ।

उनले सानो उमेरमा बिवाह नगर्न सुझाव दिन्छिन् । उनले परिवार र समाजको साथ पाउनको लागि शिक्षा र हिम्मत लिनुपर्ने बताउछिन् । त्यही कुराको वकालत उनले गाउँका युवायुवतीहरुसँग गर्छिन् । दमाईले जीवनमा धेरै संघर्ष गरिन् ।

अहिले आफ्नो व्यवसायसँगै राजनीतिक क्षेत्रमा लागेकी उनी अहिले सफल बनेकी छन् । उनका छोराछोरी हाल स्नातक तहमा अध्ययनरत छन् ।

भावि योजना

आफ्नो व्यवसायसँगै राजनीतिमा लागेकी उनको भावी योजना पनि समाजसेवा गर्नु नै छ । आफुजस्तै दुख पाउनुपर्ने बाध्यता हटाउने उनको योजना छ । राजनीतिक क्षेत्रबाटै उनले समाज रुपान्तरण गर्न चाहान्छिन् ।

समाजमा रहँदै आएको विभेद हटाउने उनको ठुलो योजना छ । उनले माननीय अर्थात सांसदसम्म हुने सोच बनाएकी छन् । यसकै लागि मेहनत गर्ने उनी बताउँछिन् ।

तपाईको प्रतिक्रिया