फ्लोर क्रस इतिहासकै अराजक गतिविधि

पार्टी बलियो बनाउन थालेको संवादलाई कमजोरी नठाने हुन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाउन आफूले गरिरहेको संवादको प्रयासलाई कमजोरी नठान्न माधवकुमार नेपाल पक्षलाई चेतावनी दिएका छन् ।

पार्टीको ७३ औं स्थापना दिवस एवं लेनिन जयन्तीको अवसर पारेर बल्खुमा आयोजना गरिएको पार्टीको केन्द्रीय कार्यालय भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र भइरहेको गुटगत गतविधिलाई मान्यता दिन नसकिने र नेताहरुलाई सम्झाउन बुझाउन आफूले गरिरहेको प्रयासलाई कमजोरी नठान्न चेतावनी दिएका हुन् ।

उनले भने, ‘सकेसम्म साथीहरूलाई, हरेकलाई गल्ती महसुस गर, अराजकता छोड, अनुशासित भएर पार्टीमा आएर काम गर, त्यो अवसर अहिले पनि दिन चाहिरहेका छौं, अहिले पनि हामी कुरा गरिरहेका छौं । तर यसलाई यदि कसैले कमजोरी ठानियो र कसैले अब पार्टीलाई फेरि बिथोल्ने मनशायले व्यवहार गर्न खोज्छ भने त्यो सम्भव छैन ।’


कुनैबेला आफ्नो पक्षलाई सडकबाट हटाउनेहरूले अहिले अर्को पार्टी खोलेर हिँड्दा पनि आफूले कारबाही नगरेर सम्झाईबुझाई गर्ने प्रयास गरिरहेको पनि अध्यक्ष ओलीले बताए। उनले भने, ‘उनीहरुले सडकबाट हामीलाई विभिन्न ढङ्गले कारबाही गरेर निकाल्यौं, हटायौं भनेर तमासा गरेका हुन्, नगरा पिटाएका हुन् ।

हाम्राविरुद्ध हामी आन्दोलनबाट पाखा लगायौं भनेर हाम्रा विरुद्ध भएको छ। तर, यति उपद्रो गर्दा पनि, अर्को पार्टी देशभरी खोलेर हिन्दा पनि अहिलेसम्म हामी कारबाही नगरेर सम्झाईबुझाई गर्ने प्रयास गरिराखेका छौं ।’

पार्टीमा अराजकता निम्त्याउन नपाइने पनि अध्यक्ष ओलीले प्रष्ट पारे। अनुशासनहीनतासँग आफूले कहिल्यै सम्झौता गर्न नसक्ने पनि ओलीले बताए। अनुशासनहीनता, अराजकता, पार्टीविरोधी गतिविधि, गुटगट गतिविधिलाई अब कुनै पनि हालतमा मान्यता दिन नसकिने बताए।

यदि कुनै व्यक्ति व्यक्तिगत तवरमा कुराकानी गर्न सक्ने, जिम्मेवारी लिन सक्ने तर पार्टीभित्र गुट बनाएर भागवण्डा नचल्ने बताए। उनले भने, ‘पार्टी जे पनि गर्न पाइने अराजकता पनि हुने, अनुशासन हिनता पनि चल्ने, यस्तो खालको ठाउँ चाहिं होइन। पार्टी अनुशासित बनाउनुपर्छ हामीले अनुशासनहीनतासँग हामी सम्झौता गर्न सक्दैनौं। अराजकतासँग हामी सम्झौता गर्न सक्दैनौं।’

फ्लोर क्रस इतिहासकै अराजक गतिविधि

कुनैबेला आफूलाई कारबाही गर्नेहरुबाट अहिले संसदमा फ्लोर क्रस गर्ने काम भएको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो किसिमको अराजक गतिविधि नेपालको संसदीय इतिहासमा कहिल्यै नभएको पनि बताए।

संसदमा फ्लोर क्रस गरेर कम्युनिष्ट पार्टीलाई सिध्यायौं भनेर गर्व गर्नेहरुसँग आफूहरु जुधिरहेको पनि बताए। उनले भने, ‘पार्टीकै नाउँमा पार्टीभित्रबाट कहीँ फ्लोर क्रस गर्ने नेपालको संसदीय आन्दोलन, लोकतान्त्रिक आन्दोलन र संसदीय इतिहासमा यति सारो अराजक गतिविधि कहिल्यै पनि देखिएको छैन।’

प्रचण्ड–माधव पक्षले कम्युनिष्ट आन्दोलन सिध्याउन टाउकोमै हान्नुपर्छ भनेर आफूलाई पटकपटक साधारण सदस्यबाट निकालेको कुरा पनि अध्यक्ष ओलीले बताए। आफूलाई पार्टीविहीन अवस्थामा पुर्‍याउने उनीहरुको प्रयास असफल भएको पनि बताए ।

उनले भने, ‘म ५६ वर्ष अगाडिदेखि कम्युनिष्ट आन्दोलनमा लागेको छु। ५० वर्षअगाडि एउटा नयाँ आन्दोलन शुरु गरेर जतिबेला आन्दोलन विभाजित थियो त्यस बेलादेखि लागेको छु। तर, ममाथिबाट हमला शुरु भयो।’

तपाईको प्रतिक्रिया