दोस्रो चरणको कोरोना : नेपालगन्जमा एक सातासम्म लकडाउन हुने

बाँकेमा कोरोना भाइरस संक्रमण तिव्ररुपमा फैलिँदै गएपछि सर्वदलीय र जिल्ला कोभिड प्रकोप न्यूनीकरण समितिको संयुक्त बैठकले बन्दाबन्दी (लकडाउन) गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ ।

सोमबार बसेको उक्त बैठकले ९ गतदेखि एक सातासम्मका लागि लकडाउन गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको हो । जिल्लामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि लकडाउन गर्न सहमति भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

उनका अनुसार एकसातासम्म पनि संक्रमण नघटे लकडाउनको अवधि बढाउन सकिने छ । हाल बाँकेमा आठ सय ६६ जना कोरोना भाइरसका सक्रिय बिरामी छन् । दोस्रो चरणको भाइरस बाँकेमा तिव्ररुपले बढ्दै गएको छ ।

यस्तो संकटमा नागरिक आफैँ पनि व्यक्ति–व्यक्तिबीच कम्तिमा दुई मिटर टाढा बस्ने, बेलाबेलामा साबुनपानीले मिचिमिची कम्तिमा २० सेकेण्डसम्म हात धुने र घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क लगाउँदा पनि कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ ।

तपाईको प्रतिक्रिया