त्रिदेशीय क्रिकेट सिरिज : आज नेपाल र नेदरल्याण्ड्सबीच खेल

काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय क्रिकेट सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सबीच खेल हुँदैछ । पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल आज पनि बलियो मनोबलसहित मैदान उत्रिन लागेको हो ।

नेपाल र नेदरल्याण्ड्सबीचको खेल त्रिवि मैदान, कीर्तिपुरमा दिउँसो सवा १ बजेदेखि शुरू हुनेछ । यसअघि नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो र मलेसिया विरुद्धको दोस्रो खेलमा समान ९ विकेटको जित निकालेको थियो ।

नेपालले ४ अंक जोडिसकेको छ भने नेदरल्याण्ड्सले आफ्ना दुई खेल सकिँदा २ अंक मात्र जोडेको छ । मलेसियाले आफ्ना दुबै खेल गुमाएको छ। नेपाल आजको खेलमा पनि विजयी भए फाइनल प्रवेश गर्ने छ ।

डबल राउण्ड रोबिन लिगका आधारमा जारी खेलमा अंक तालिकाका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। यसैबीच आजको खेलमा दर्शकहरू सहभागी हुन नपाउने भएका छन् । सरकारले हिजो २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेसँगै नेपाल क्रिकेट संघ क्यानले त्रिदेशीय सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गर्ने निर्णय गरेको सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया