आइपीएल : चेन्नईसँग राजस्थान ४५ रनले पराजित

एजेन्सी । जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सोमबार राति भएको खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सलाई ४५ रनले पराजित गरेको छ ।

टस हारेर पहिलो इनिङमा ब्याटिङ गरेको चेन्नईले राजस्थानलाई जितका लागि १८९ रन भेट्नुपर्ने लक्ष्य दिएको थियो। तर, दोस्रो इनिङमा ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा १४३ रन मात्रै जोड्न सक्यो ।

२० ओभरमा ९ विकेट गुमाउँदै १८८ रन जोडेको चेन्नईका लागि दक्षिण अफ्रिकी ओपनर फाफ डु प्लेसिसले १७ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३३ रन योगदान दिएका थिए । ८ बलमा २ चौका र एक छक्कासहित ड्वेन ब्राभो अविजित रहे ।

यसैगरी अम्बाती रायुडू २७, मोइन अली २६, शुरेश रैना १८, ओपनर ऋतुराज गायकड १०, कप्तान महेन्द्रसिंह धोनी १८, साम करन १३ र रविन्द्र जडेजाले ८ रन जोडेका थिए । राजस्थानका लागि ओपनर ब्याट्स्म्यान जस बटलरले ३५ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ४९ रन बनाएका थिए। तर, अन्य ब्याट्सम्यानको प्रदर्शन फितलो रह्यो ।

कप्तान सञ्जु स्यामसन नै १ रनमा आउट भएका थिए।​ जयदेव उनादकट २४,​ राहुल टेवाटिया २०, शिवम दुबे १७, मनान बोहरा १४ र डेविड मिलरले २ रन मात्रै जोडे । चेन्नईका स्पीनर मोइन अलीले ३ ओभरमा ७ रन खर्चंदै राजस्थानको ३ विकेट, साम करण र रविन्द्र जडेजाले २-२ विकेट एवम्‌ ड्वेन ब्राभो र शार्दूल ठाकुरले १-१ विकेट लिए ।

राजस्थानका बलर चेतन सकरियाले ४ ओभरमा ३६ रन खर्चंदै चेन्नईको ३ विकेट लिएका थिए। क्रिस मोरिसले ४ ओभरमा ३३ रन खर्चेर २ तथा मुस्ताफिजुर रहमान र राहुल टेवाटियाले १–१ विकेट लिएका थिए । खेलमा दुवै टोलीको ९-९ विकेट पतन भएको थियो । जीतसँगै चेन्नई अंक तालिकाको दोस्रो स्थानमा आइपुगेको छ भने राजस्थान रोयल्स छैठौं स्थानमा छ ।

तपाईको प्रतिक्रिया