कहिले सुध्रिएला मालपोतको सेवा ?

सुर्खेत, १७ मंसिर ।

वीरेन्द्रनगर–७ कि सुमित्रा विसी चार दिनदेखि मालमोत कार्यालय सुर्खेतमा धाइरहेकी छिन् । तर चार दिनमा पनि उनको जग्गा रोक्का गर्ने काम हुन सकेन । ‘सुरुको दिन त लाइन मात्रै बसँे, काम नै भएन’ उनले भनिन्, ‘चार दिनदेखि दुईजना लाइन लागि रहेका छौँ, तर काम हुने हाम्रो पालो नै आएको छैन ।’

ससुरा बुवाको नाममा रहेको जग्गा रोक्का गर्नका लागि ससुरासहित उनी चार दिनदेखि मालमोत कार्यालय धाउँदै आएकी हुन् । यस्तै वीरेन्द्रनगर–११ का नवराज गौतम पनि जग्गाको नामसारी गर्नका लागि पाँच दिनदेखि मालपोत कार्यालय धाइरहेका छन् । उनी कोरोना हुनुभन्दा अघि नै जग्गा पास गर्ने तयारीमा थिए । तर लकडाउनका कारण जग्गा पास गर्न पाएनन् । उनी पाँच दिनदेखि मालपोतमा धाइरहेका छन् । तर काम सकिएको छैन ।

त्यस्तै वीरेन्द्रनगर–१ निवासी उर्मिला गिरी जग्गा पास गर्न चार दिनदेखि मालपोत कार्यालय धाइरहेकी छिन् । चारदिन धाउँदा पनि उनको काम भएको छैन । वीरेन्द्रनगर–६ का रमेश शाह पनि जग्गा रोक्का गर्न दुई दिनदेखि मालमोत कार्यालय धाइरहेका छन् । तर पनि उनको काम सकिएको छैन । मालपोत कार्यालयबाट सेवा दिँदा सास्ती खेप्ने सुमित्रा, नवराज, उर्मिला र रमेश प्रतिनिधि पात्र मात्रै हुन् । तिहार यता मालपोत कार्यालयमा सेवा लिन आउने जो कोहीले पनि यस्तै सास्ती खेप्नु परेको छ ।

हिजोआज मालपोत कार्यालयमा सेवाग्राहीको मेला नै लाग्ने गरेको छ । विहान १० नबज्दै सेवाग्राहीहरु लाइनमा लाग्छन् । तर दिनभर लाइन लाग्दा पनि साँझपख रित्तो हात फर्कनुपर्छ । रजिस्टेशन फाँटमा लाइन बस्न झन् तछाडमछाड नै गर्नुपर्छ । अन्य फाँटमा पनि सेवाग्राही उस्तै भीड छ । सेवाग्राहीको चाप र सेवा प्रवाह हेर्दा मालपोतमा बिजोग छ । २५ मिनेट लाग्ने सेवा लिन हप्तादिन नै कुर्नुपर्छ । एक हिसावलेभन्दा सुर्खेतको मालपोत कार्यालयले सेवा होइन, सास्ती दिएको छ ।

तर मालपोत कार्यालयको यो बिजोग न प्रदेश सरकारले देख्छ, न त आडमै रहेको जिल्ला प्रशासन कार्यालयले । सेवाग्राहीको चाप अनुसार सेवाप्रवाह निकै सुस्त छ । सेवाग्राही भीड र सेवा प्रवाह देख्दा मालमोत कार्यालयले दलालको मात्रै काम गर्दै आएको छ कि भन्ने भान हुन्छ । एउटा फाँटको काम सक्न सेवाग्राही दिनभर लाइन बस्नुपर्ने बाध्यता छ । जग्गा रोक्का, नामसारी जस्ता काम गर्न हप्तादिन नै कुर्नुपर्छ । आधा घण्टामा सम्पन्न हुने कामका लागि हप्तादिन कुर्नुपर्दा सेवाग्राहीहरु आक्रोशित छन् । कहिले प्रक्रिया नमिलेको त, अनलाइन कहिले सिष्टमले काम नगरेको भन्दै मालपोतको सेवा प्रवाहमा ढिलासुस्ती भइरहको छ ।

हप्तौसम्म कुर्दा पनि काम नभएपछि मालपोत कार्यालयले दलालको मात्रै काम गर्दै आएको सेवाग्राही आरोप लगाउँछन् । ‘दलालको काम एकैछिनमा हुन्छ, कर्मचारीले भित्रभित्रै सेटिङ मिलाउँछन्’ मालमोत कार्यालय पुगेका राजन केसीले भने, ‘सर्वसाधारणको हप्तादिन पालो कुर्दा पनि पालो आउँदैन ।’ दलाललाई घुस दिएको खण्डमा क्षणभरमै काम हुने गरेको उनको भनाइ छ । ‘मालपोत कार्यालय त दलालको अड्डा बनेको छ, कर्मचारी, दलाल, मन्त्री र नेताहरुले सेटिङ मिलाएका हुन्छन्’ उनले आक्रोश पोखे ‘दलालहरुको पैसा भएपुग्छ, जनताको दुःख कसले बुझछ र ?’

सेवा थप नहुँदासम्म यस्तै सास्ती

यता मालपोत कार्यालयले भने सेवा थप नहुँदासम्म सेवाग्राहीले सास्ती खेपिरहनु पर्ने जनाएको छ । ‘दैनिक हजारौँ नागरिकले सेवा लिने ठाउँमा एउटा मात्रै रजिष्ट्रेशन फाँट छ, फाँटहरु थप गर्न कार्यालयसँग भौतिक संरचना छैन’ मालपोत कार्यालय सुर्खेतका प्रमुख लक्ष्मी खत्री भन्छिन्, ‘एउटा मात्रै रजिष्टेशन फाँट भएकाकारण सेवा प्रवाहमा ढिलाइ भएको हो, फाँटहरु थप नभएसम्म यस्तै समस्या भइरहन्छ ।’ सेवा थप गर्नका लागि भौतिक संरचनाको अभाव रहेको खत्रीले बताइन् । ‘२०३८ सालको संरचनाबाट सेवा दिनु परेको छ, सेवा थप गर्नका लागि कर्मचारी राख्ने ठाउँसमेत छैन’ उनी भन्छिन्, ‘नयाँ भौतिक संरचना र सेवा बृद्धि नहुँदासम्म सेवाग्राहीले दुःख पाइ नै रहन्छन् ।’

लकडाउनका कारण गत चैतदेखि रोकिएका कामहरु एकैपटक गर्दा पनि मालमोतमा सेवाग्राहीको चाप बढको उनको दाबी छ । ‘कोरोनाको बेला सबै काम रोकिए, अवस्था सामान्य भएपछि सेवाग्राही एकैपटक आए’ उनले थपिन्, ‘६ महिनाको काम एकैपटक गर्दा कसरी छिटो हुन्छ र ?’ सेवा प्रवाहलाई छिटो र छरितो बनाउन अबदेखि स्थानीय तह विभाजन गरेर सेवा प्रवाह गर्ने, बायोमेट्रिक सिष्टमको लोड कम गर्ने र रसिद काट्नुको सट्टा सिधै भौचरलाई स्क्यानिङ गर्ने प्रक्रिया लागु गरेको खत्रीले बताइन् ।

त्यस्तै दिन प्रतिदिन सेवाग्राहीको चाप बढ्न थालेपछि वीरेन्द्रनगर नगरपालिका र प्रशासन कार्यालयसँग केही जनशक्ति मागसमेत गरेको छ । कर्मचारीले सिस्टम अनुसार दु्रत गतिमा गरिरहेको तर सेवाग्राहीले प्रक्रिया पुरा नगर्ने र छिटो सेवा खोज्ने प्रवृतिका कारण पनि सेवा प्रवाह सुस्त देखिएको कार्यालये जनाएको छ । प्रक्रिया पुरा नगरेर सेवा लिन आउने र सिस्टम नबुझ्ने सेवाग्राहीले मात्रै कार्यालयलाई अनेक लाल्छना लगाउने गरेको कार्यालयको भनाइ छ ।

तपाईको प्रतिक्रिया