दुई परिवारको सहमतिमा विवाह

रोजेर, खोसेर र देखेर पाइँदैन माया । माया त आफै हुने कुरा हो, अथवा भावीले लेखेको पाइन्छ भन्छन् । भाग्यमा भएको कुरा कसैले न त मेटाउन नै सक्छ, न त खोस्न नै । लेखेपछि ढिलो चाँडो अवश्य पाइन्छ । यस्तै भाग्यमा लेखेका जोडी हुन् गणेशभक्त गौतम र सुमित्रा गौतम । यो जोडीले विहेअघि न त एकअर्कालाई देखे, न त बोलचाल नै भएको थियो । घरपरिवारको सहमतिमा उनीहरुको मागी विवाह भयो । विहेअघि आपसमा परिचत नभएको यो जोडीको विहेपछि भने माया गहिरो भयो ।

परिवारको सहमतिमा मागी विवाह

कलाकार गणेशभक्त गौतम र सुमित्राको मागी विवाह भयो । यो जोडीको एक अर्काेलाई पहिला नै देखेर मन पराएपछि विहे भने भएको होइन । गणेश र सुमित्राको घर परिवारबीचमा पुरानो चिनजान र सम्बन्ध पनि थियो । त्यही चिनजान र सम्बन्धले उनीहरुको सम्बन्धको डोरी पनि गाँसिदियो । गणेशले पढाइलाई निरन्तरता दिइरहेका थिए । पढाइमा पनि राम्रो र सबै कुरामा सक्षम व्यक्तिलाई ज्वाइँ बनाउन पाउँदा सुमित्राका घरपरिवारलाई अरु के नै चाहिन्थ्यो र । हरेक बाबा आमालाई आफ्नी छोरी राम्रो घरमा परोस् भन्ने नै हुन्छ । त्यसमा झन् दुवै परिवारको चिनजान पनि थियो । गणेशले त सुमित्रालाई विहेअघि देखेका थिए । तर सुमित्राले भने विहेअघि गणेशलाई देखेकी थिइनन् । त्यस समयमा बाबुआमाले केटा हेरेपछि कुरा काट्ने प्रचलन पनि थिएन । परिवारले जसलाई छोरी दिए उसैसँग विहे गरेर जानुपर्ने हुन्थ्यो । झन् सुमित्रालाई त गणेश हेर्न गएको भोलीपल्ट मात्र आफुलाई विहेको लागि हेर्न आएको भन्ने थाहा भयोे । उनलाई बाबाआमाले हेरेको केटा राम्रै त होला भन्ने पनि लाग्यो र विहेका लागि उनी पनि राजी भइन् । दुबै घरपरिवारको राजी खुसीमा उनीहरुको २०५० सालमा मागी विवाह भयो । विवाहअघि एकअर्कालाई राम्रोसँग नदेखेका यो जोडीको विहेपछि माया बस्यो । विहेपछि दुवैले एकअर्कालाई राम्रोसँग बुझ्ने अवसर पनि पाए । गणेश भन्छन्, ‘हाम्रो त विवाहपछि लभ परेको हो ।’

यस्तो थियो बाल्यकाल

२०२७ सालमा जन्मिएका गणेशभक्त गौत्तमको बाल्यकाल दैलेखमा वित्यो । उनको ७ वर्षसम्मको बाल्यकाल दैलेखमा वित्यो । कक्षा दुईसम्म उनले दैलेखमा पढेका हुन् । उनी पछि सुर्खेत आए र उनको पढाइ इत्राम स्कुलबाट फेरी सुरु भयो । उनले एसएलसी इत्रामबाट नै उर्तिण गरेका हुन् । उनको बाल्यकालको रुची त्यस्तो केही नभए पनि उनी नाच्न, गाउन र नाटक गर्न भने खुब सिपालु थिए । यस्तै, सुमित्राको जन्म पनि २०२७ सालमा काठमाडौंमा भएको हो । उनको पुरानो घर अछाम भए पनि सबै घरपरिवार धनगढीमा बस्ने गर्थे । उनी भने काठमाडौं मामाघरमा जन्मिएकी हुन् । उनको बाल्यकाल काठमाडौंमै वित्यो । बाल्यकाल रमाइलोसँग नै विताएकी सुमित्राले बुवाको सरकारी जागिर जहाँ सरुवा भयो त्यही जान्थिन् । उनको पढाइ पनि बुवा सँगसँगै जाने भएकाले कहिले कहाँ कहिले कहाँ भयो ।

बहुप्रतिमाका धनी गणेश

एसएलसी पास भइसकेपछि गणेशलाई घरपरिवारले साइन्स पढ्न काठमाडौं पठाए । तर उनी काठमाडौंबाट कलाकार बनेर फर्के । बाल्यकालदेखिको कलाले उनलाई कलाकारिता क्षेत्रमै तान्यो । पछि उनले मानेजमेन्ट विषय लिएर पढे । जागिर पनि गर्ने र कलाकारितामा पनि लागि रहने उद्देश्यले उनले काम सुरु गरे । उनको जागिरको सुरुवात २०४९ सालदेखि भएको हो । जीवनमा विभिन्न संघर्ष गर्दै उनी अहिले जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतमा आवद्ध छन् । उनले जागिर गर्न थालेको पनि २७ वर्ष पुगि सकेको छ । उनले ठुलो पर्दाको चलचित्र लगायत सडक नाटक र साहित्यतर्फ पनि हात हालेका छन् । उनले चलचित्र बन्धकी र मालिकामा अभिनय गरिसकेका छन् । यस्तै दर्जनौ सडक नाटकको लेखन, निर्देशन र अभिनय पनि गरेका छन् । यस्तै उनले नेपाल सरकारबाट ‘राष्ट्रिय प्रतिभा’ पुरस्कार पनि पाएका छन् । साथै ‘नाटक संग्रह’ किताव पनि प्रकाशन गरेका छन् । उनी जनस्वास्थ्य सेवा कार्यालय सुर्खेत, वाङमय चौतारीको संस्थापकदेखि हालको अध्यक्ष, आरङ्ग नेपालको अध्यक्ष समेत हुन् । बहुप्रतिभाका धनी गणेश वागिना समुहका संस्थापक अध्यक्ष पनि हुन् ।

छोरी र बुहारी हुँदाको अनुभव

सुमित्रा जब छोरीबाट बुहारी बनेर घरमा आइन्, सुरुमा उनलाई अप्ठेरो लागेको थियो । नयाँ घर, नयाँ परिवार, नयाँ सम्बन्ध कस्तो होला ? आफुले घर सम्माल्न सकिएला की नसकिएला ? यस्तै विभिन्न कुराको अन्तर मनभित्र द्धन्द्ध गराएकी सुमित्राले घरमा आइसकेपछि भने छोरी जस्तै माया पाइन् । छोरी र बुहारी हुनुको फरक उनले केही अनुभव गर्न पाइनन् । हुन त छोरी र बुहारी हुनुमा धेरै फरक हुन्छ नै । छोरीभन्दा बुहारीमा धेरै जिम्मेवारी आइपरेको पनि हुन्छ । नयाँ घर व्यवहार सम्माल्नुपर्ने, सबैको मन रिझाउनुपर्ने इत्यादी कुराहरु बुहारीका लागि चुनौती नै हुन् । तर समित्राले भने सहजै रुपमा घरमा सबैको माया पाइन् । त्यसका कारण पनि होला उनलाई सहज भएको ।

सामान्य भनाभन

यो जोडीको कहिलेकाँही सामान्य झगडा भए पनि अहिलेसम्म ठुलो झगडा भने भएको छैन । उनीहरु भन्छन्, ‘श्रीमान् श्रीमतीको झगडा परालको आगो हो ।’ एकै छिनमा निभिहाल्छ । यो जोडी पनि झगडा गर ेपनि एकै छिनमा बोली हाल्छन् । धेरै समय रिसाउँदैनन् । अहिलेसम्म ठुलै झगडा गरेर बोली बारबार नभएको यो जोडीको भनाई छ ।

खुलेर प्रशंसा

यो जोडी एकअर्काको खुलेरै प्रशंसा गर्छन् । गणेशलाई सुमित्राको शान्त रहने स्वभाव मन पर्ने गर्छ । सुमित्राको लोभ नगर्ने बानी, कसैप्रति इष्र्या नगर्ने, सानो सानो कुरामा पनि धेरै खुसी हुने बानी उनलाई मन पर्ने गर्छ । गणेश भन्छन्, ‘उनी सानोसानो कुरामा खुसी हुन्छिन्, धेरै ठुलो कुराको माग पनि हुँदैन, सबैसँग मिलनसार छिन् ।’ उनी घरको काम सबै राम्रोसँग सम्माल्न सक्ने कुशल गृहणी पनि हुन् । यस्तै, सुमित्रालाई पनि गणेशको माया गर्ने, आफुलाई बुझ्ने बानी र सोझो लाग्ने गर्छ । उनलाई गणेशको सबै बानी मन पर्ने गर्छ ।

जन्मदिनमा सामान्य उपहार

उनीहरु एकअर्काको जन्मदिन धुमधामसँग त मनाउँदैनन् । तर परिवारसँग सामान्य तरिकाले रमाइलो गर्ने गर्छन् । जन्मदिन तथा विवाह उत्सवको दिनमा एकअर्कालाई सामान्य उपहार दिएर मनाउने गर्छन् । गणेश भन्छन्, ‘जन्मदिन र विवाह उत्सव मनाउने हामी नेपालीको संस्कृति त होइन, पश्चिमी संस्कृति हो, तर पनि हामी सामान्य तरिकाले मनाउँछौ ।’

माया र प्रेम

माया र प्रेम भनेको प्राकृतिक हो । माया प्रेम नभएको भए यो सृष्टी कसरी चल्थ्यो र ? सृष्टी चलाउनकै लागि माया र प्रेम आवश्यक हुन्छ । माया प्रेम भनेको एकअर्का प्रतिको आर्कषण हो । आर्कषण हुन माया र प्रेम चाहिन्छ । त्यसैले यो सृष्टी सञ्चालनमा लागि चाहिने अपरिहार्य कुरा हुन् ।

तपाईको प्रतिक्रिया