बाजेहरुले जुराएको जोडी

गीता थापा।

माया दुई अक्षरले बनेको शब्द हो । जहाँ संसार अटेको हुन्छ । न त यसलाई हेर्न सकिन्छ, न देख्न नै, न त समात्न नै सकिन्छ, केवल महसुस् गर्न सकिन्छ । गर्न नसकिएका कयौं काम पनि मायाकै कारण सहजै गर्न सकिन्छ । जीवन एउटा यात्रा हो । जुन यात्रामा एक्लै हिँड्न गाह्रो हुन्छ । यात्रालाई सहज बनाउन जीवनमा साथ दिने साथीको उत्तिकै महत्व हुन्छ । एकअर्काबीचको माया जब बराबर हुन्छ नी त्यो सम्बन्ध दिगो मात्र होइन, जन्मौ जन्मको हुन्छ । यस्तै एकअर्कालाई औधी माया गर्ने र जीवनमा दुवैप्रति समझदारी र विश्वासका साथ जीवन विताइरहेको जोडी हो केशर माझी र लक्ष्मी माझीको । ४२ वर्षको लामो वैवाहिक सम्बन्धलाई सहज रुपमा विताउँदै आएका यो जोडी एकअर्काेको उत्तिकै कदर पनि गर्छन् ।

बाल्यकालमै विहेको टुङ्गो

केशर र लक्ष्मीको २०३५ सालमा मागी विवाह भयो । उनीहरुको विवाह भने एकअर्काेलाई मन पराएर भएको होइन । त न एकअर्काेलाई देखर नै भएको हो । केशर र लक्ष्मीका बाजेहरुले उनीहरु सानै हुँदा विवाहको कुरा छिनी दिएका थिए । त्यतिबेलाको समय पनि परिवारका अग्रजहरुको निर्णय नै मान्ने हुन्थ्यो । अग्रजको कुरा काट्ने संस्कार पनि थिएन । त्यही संस्कारका कारण केशर र लक्ष्मीले पनि परिवारको निर्णय स्वीकार गर्दै विवाह गर्न राजी भए । विवाह गर्दा केशर २२ वर्षका थिए भने लक्ष्मी १५ वर्षकी थिइन् । केशरको घर दैलेख र लक्ष्मीको अछाम थियो । तर केशर र लक्ष्मीको भने भेट भएको थिएन । दुवैको घरपरिवार पहिलेदेखि नै इष्टमित्र थिए । त्यही नाताले पनि बाजेहरुले मिलेर उनीहरुको विवाहको कुरा बाल्यकालमा नै छिनेका थिए ।

केशर पिता पदमसिंह माझी र माता रुपा माझीको कोखबाट २०१३ सालमा दैलेखको राकम कर्णालीमा जन्मिएका हुन् । लक्ष्मी पिता कर्णबहादुर बोहोरा र माता नामसरा बोहोराको कोखबाट २०२० सालमा भारतमा जन्मिएकी हुन् । लक्ष्मीको पिताको जागिर भारतमै भएकाले उनी भारतमा जन्मिएकी हुन् । जन्म भारतमा भए पनि लक्ष्मीको बाल्यकाल भने अछाममा वित्यो । गाउँमा घाँस दाउरा काट्दै उनको बाल्यकाल वित्यो । केशरको बाल्यकाल गाउँमा नै रमाइलोसँग वित्यो । साथीहरुसँग खेल्दै पढ्दै उनको बाल्यकाल वित्यो ।

पढाइमा केशरको संघर्ष

केशरले कक्षा १ देखि ७ सम्म गाउँकै स्कुलमा पढेका हुन् । कक्षा ८ देखि भने त्रिभुवन हाइस्कुल दैलेखमा पढे । सोही स्कुलबाट उनले २०३० सालमा एसएलसी उर्तिण गरे । त्यतिबेलाको समयमा एसएलसी पास गर्ने व्यक्ति गाउँमा औलामा गन्ने मात्र हुन्थे । त्यस समयमा १६ गाउँ पन्चायतबाट एसएलसी पास गर्ने केशर एक्लो व्यक्ति थिए । त्यस समयमा एसएलसी पास हुनु भनेको फलामकै ढोका तोड्नु जस्तै थियो । केशरले एसएलसी उतिर्ण गरेको खुसीमा गाउँलेले तीन वटा खसी काटेका थिए । खुसियालीमा अविरजात्रा समेत गरेका थिए । उनले प्रमाणपत्र तह भने नेपालगञ्जको मेहन्द्र बहुमुखी क्यापसबाट गरेका हुन् । उनले जागिरको सुरुवात शिक्षकबाट गरेका हुन् । गणेश निमावी रोला दैलेखको स्कुलमा उनी हेडसर भए । उनले सोही स्कुलमा हुँदा दुई वटा नाटकसमेत लेखेका थिए । ‘लाहुरेको गति’ भन्ने नाटक लेखेर उनी आफैले निर्देशन समेत गरेका थिए । पछि उनले तीन वर्ष कृषि विकास बैंक जुम्लामा काम गरे । उनले लोकसेवा पास गरेपछि विभिन्न जिल्लामा गए । उनले जागिरको शिलशिलामा मालपोत सुर्खेत, दैलेख लगायतका जिल्लामा रहेर काम गरे । जिल्ला प्रशासन कार्यालय सुर्खेत, दैलेख, कालिकोट, बर्दियामा पनि काम गरे । उनले भुमिसुधारमा पनि काम गरेका हुन् । उनले जागिर गर्ने क्षेत्र रिक्स भएपनि उनी भने कहिल्यै विवाहमा मुछिएनन् । किनकी उनको मेहेनत, लगनशिल र इमान्दार भएकै कारण जुन क्षेत्रमा गए पनि सबै क्षेत्रमा सफल भए ।

छोरी र बुहारीको अनुभव

विवाहपछि छोरीलाई बुहारी हुन गाह्रो नै हुन्छ । नचिनेको ठाउँ, नयाँ घर, नयाँ नाता, नयाँ संस्कारमा घुलमिल हुनु सबै कुरालाई सामना गर्दै अर्काको घरलाई आफ्नो बनाउनु हरेक छोरीका लागि चुनौती नै हुन्छ । माइतीमा छोरी हुँदा र बिहेपछि बुहारी हुँदाको अनुभव धेरै फरक हुन्छ । तर, विवाहपछि लक्ष्मीलाई घरमा छोरी र बुहारी हुनुको फरक अनुभव गर्न पाइनन् । विवाहपछि लक्ष्मी केशरको जागिर हुने ठाउँमा सँगैसँगै गइन् । त्यसले गर्दा पनि उनले बुहारी हुँदाको पल अनुभव गर्न पाइनन् । विवाह गर्दा केशरले जागिर सुरु गरिसकेका थिए । त्यसले गर्दा पनि लक्ष्मी केशर जहाँ जहाँ गए उनी पनि त्यही गइन् । चाडपर्वको समयमा मात्र घर जाने भएकाले लक्ष्मी घरको पाहुँना जस्तै नै हुन्थिन् । त्यसले गर्दा पनि उनलाई बुहारी हुनुको अनुभव खासै भएन ।

सामान्य झगडा

श्रीमान् श्रीमतिबीच सामान्य झगडा जस्को पनि हुन्छ । भनिन्छ नी, ‘श्रीमान श्रीमति बीचको झगडा परालको आगो ।’ यो जोडीको पनि कहिलेकाही सामान्य झगडा भए पनि अहिलेसम्म ठुलो झगडा भएको छैन । उनीहरू भन्छन्, ‘श्रीमान् श्रीमतीमा झगडा हुनु भनेको सामान्य कुरा हो । तर हाम्रो अहिलेसम्म ठूलै झगडा भने भएको छैन ।’

सम्बन्धमा समझदारी आवश्यक

यो दम्पत्तिकाअनुसार वैवाहिक जीवन सफल र सहज रुपमा विताउनका लागि एकअर्काेमा समझदारी हुन जरुरी हुन्छ । जब एकअर्काेमा समझदारी र विश्वास हुन्छ, त्यो सम्बन्ध दिगो हुन्छ । कहिल्यै नटुट्ने हुन्छ । एकले अर्काको भावना बुझ्न पनि आवश्यक छ । उनीहरु भन्छन्, ‘एकले अर्काको भावना बुझ्न आवश्यक छ, दुवैले कदर र सम्मान पनि गर्नुपर्छ ।’

प्रेम र माया

यो जोडी एकले अर्कालाई औधी माया गर्छन् । श्रीमान् श्रीमती भएपछि कहिलेकाँहीको झगडाले आत्मियता झन् बढाउँछ । भनिन्छ नी, ‘आगो पनि नठोसी बल्दैन ।’ उनीहरुका अनुसार प्रेम र माया भनेको भावनात्मक हो । जो एकले अर्कालाई बुझ्नु पर्छ । प्रेम र माया विना जीवन सफल पनि हुँदैन ।

कामको बाँडफाँड

केशर र लक्ष्मी एकअर्काको प्रशंसा खुलेरै गर्छन् । केशरलाई लक्ष्मीको सरल स्वभाव, सबैसँग मिलेर बस्ने बानी मन पर्छ । केशरलाई श्रीमती घरकै लक्ष्मी हुन् भन्ने लाग्छ । केशरको हरेक सुख दुखमा साथ दिने असल गृहणी पनि हुन् लक्ष्मी । लक्ष्मीको साथ र मायाले गर्दा नै केशर आफुलाई सफल भएको ठान्छन् । यस्तै केशर पनि लक्ष्मीका लागि असल श्रीमान् हुन् । यो जोडी मिलेर काम गर्ने गर्छन् । केशरले लक्ष्मीलाई घरको काममा सघाउँछन् । लक्ष्मी घरमै सानो घुम्तीमा पसल गर्छिन् । केशर लक्ष्मीलाई घरको काममा सघाउने गर्छन् ।

तपाईको प्रतिक्रिया