कोरोना परीक्षण गर्ने पीसीआर मेसिन बिग्रियो

सुर्खेत, १४ असार । कोरोना परीक्षणको लागि कर्णाली प्रदेशले प्रयोगमा ल्याएको सुर्खेतको आरटी पीसीआर मेसिन बिग्रीएको छ । प्रदेश अस्पताल सुर्खेतले पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतको पीसीआर सञ्चालन गर्दै आएको मेसिन शुक्रबारदेखि बिग्रिएको हो । यो मेसिनबाट यसअघि दैनिक करिब चार सय स्वाबको परीक्षण गर्दै आएको थियो ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारीका अनुसार बिग्रीएको मेसिन मर्मतका लागि आइतबारमात्रै पहल थालिने भएको छ । ‘शुक्रबार नै मेसिन बिग्रिएको हो सफ्टवेरमा समस्या भयो कि भनेर प्रयास गरौँ तर हार्डवेयरमै समस्या देखियो ।’ भण्डारीले भनिन, ‘मेसिन मर्मतका लागि अस्पतालले आइतबार सप्लार्यर कम्पनीलाई पत्र काट्ने कुरा भएको छ ।’ हार्डवेरमा समस्या देखिएका कारण मर्मतमा समय लाग्ने उनको भनाइ छ ।

‘हार्डवेर समस्या तत्काल मर्मत गर्न सकिदैन, महिनादिन नै लाग्नसक्छ ।’ उनले भनिन्, ‘छिमेकी देशबाट प्राविधि झिकाउने वा मर्मतका लागि विदेश पठाउने भन्ने टुङ्गो लागेको छैन ।’मेसिन बिग्रिएपछि अत्यावश्यक व्यक्तिको अर्काे पोर्टेबल पीसीआर मेसिनबाट परीक्षण भइरहेको छ । केही स्वावहरु भने रहेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र छिमेकी जिल्लामा पठाउने तयारी गरिएको छ । कोरोना परीक्षणका लागि प्रदेशमा तीन वटा ठूला र एउटा सानो गरी चार वटा मेसिनहरु छन् । असार ५ गते दैलेखमा भित्रिएको पीसीआर मेसिन भने प्रयोगशाला पूर्ण रुपमा सपन्न हुन नसक्दा पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन ।

तपाईको प्रतिक्रिया