बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा जारी

नेपालगञ्ज, १५ जेठ ।
कोरोनाको हटस्पट बन्दै गएको बाँके जिल्लाभरि बुधबार राति १० बजेदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । एकपछि अर्को गर्दै १७० जना कोरोना संक्रमित देखिएपछि अवस्था नियन्त्रणबाहिर जान थालेपश्चात् सरकारले प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको सरुवा गरेर रामबहादुर कुरुम्बाङलाई नयाँ प्रमुख जिल्ला अधिकारी बनाएर बाँके पठाएको हो ।

बुधबार जिम्मेवारी सम्हालेलगत्तै प्रजिअ कुरुम्बाङले बाँकेमा कडाइ गरिने निर्देशन दिँदै बुधबार रातिदेखि नै अनिश्चितकालीन निषेधाज्ञा जारी गर्नुभएको छ । लकडाउनको पालना नगरिएको पाइएकाले बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको जनाउँदै प्रजिअ कुरुम्बाङले अर्को आदेश नहुँदासम्म जिल्लाभर निषेधाज्ञा जारी रहने बताउनुभयो ।

बाँकेमा हालसम्म १७० जनामा कोरोना पुष्टि भएको र एक जना सङ्क्रमितको मृत्युसमेत भइसकेकाले सजगता अपनाउन, संक्रमणको विस्तारलाई रोक्न तथा सचेतनामूलक र प्रवद्र्धनात्मक कार्य गर्न जरुरी रहेकाले अत्यावश्यकबाहेक सबै सेवा र स्थलमा निषेधाज्ञा जारी गरिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया