नगरको विपद् कोषमा निजी क्षेत्रबाट ५ लाख

सुर्खेत, ४ बैशाख ।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतले स्थापना गरेको नगर स्तरिय विपद् कोषमा निजी क्षेत्रबाट बुधबारसम्म ५ लाख एक हजार २ सय १५ रुपैयाँ जम्मा भएको छ । नगरपालिकाले कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा राहत कोष स्थापना गरी सहयोगको अपिल गरेको थियो ।
प्रदेशको राजधानीको नगरपालिका भएकाले नगर क्षेत्रभित्र कार्यालय स्थापना गरेर विविध गतिविधिहरु सञ्चालन गरिरहेका निजी बैंक, वित्तिय संस्था, सहकारी, सामुदायिक वन, उद्योगी, व्यवसायीहरुलाई एकद्धार प्रणालीबाट नगर विपद् कोषमा नगद तथा जिन्सी दाखिला गरी राहत वितरण गर्न अपिल गरिएको थियो ।

नगर स्तरिय विपद् कोषमा इसाइ समाज सुर्खेतबाट २ लाख १० हजार पाँच सय, प्रभु बैंक शाखा सुर्खेतले एक लाख पचास हजार, निजी विद्यालयहरुको साझा संस्था एनप्याव्सन सुर्खेतले एक लाख, करैखोला सहकारी संस्था वीरेन्द्रनगर–१३ ले २५ हजार ५ सय २५, कृषि तरकारी समूह वीरेन्द्रनगर–११ बाट १० हजार १ सय ९० र वीरेन्द्रनगर–८ निवासी आरन व्यवसायी उदिराम चुनाराले ५ हजार नगद सहयोग गरेका छन् ।

सहयोग गर्ने सबै व्यक्ति तथा संस्थाहरुलाई नगरपालिकाको बुधबार सम्पन्न कार्यपालिका बैठकले धन्यवाद व्यक्त गरेको प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिनुभयो । नगरपालिकाको राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखामा रहेको प्रकोप ब्यवस्थापन कोषको खाता नम्बर ४०८०३०५०५०००२ मा नगद दाखिला गरी सो को भौचर नगरपालिकामा उपलब्ध गराइदिनुहुन अनुरोध गरिएको छ ।

चेक हस्तान्तरण गर्नुहुने ब्यक्ति वा सँस्थाले प्रत्येक दिन विहान १०ः०० बजेदेखि ११ः०० बजे सम्म नगरपालिकामा उपस्थित भई हस्तान्तरण गर्न नगरपालिकाले अनुरोध गरेको छ । नगरपालिकाको राहत वितरण अन्तिम चरणमा पुगेको हुँदा वितरणमा दोहोरोपना आउनसक्ने भएकोले जिन्सी राहत सहयोग अबदेखि नगरपालिकालाई उपलब्ध नगराउनुहुन समेत नगर का.वा प्रमुख मोहनमाया ढकालले आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया