बुझौं कोरोनाको नालीबेली र यसलाई यसरी जितौं

कोरोना (कोभिड-१९) के हो ? : नोबल कोरोना भाइरस एउटा नयाँ प्रजातिको भाईरस हो । सन् २००३ मा देखिएको SARS र नोभल कोरोना भाइरस एउटै प्रजातिका भाइरस हुन्। हाल सम्म भएका केहि अनुसन्धानलाई आधार मान्ने हो भने कोरोना जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो । मानिस कसरी यो भाइरसबाट संक्रमित भएका छन् भन्ने बारेमा आज सम्म वैज्ञानिक तवरले प्रमाणित भएको भने छैन र हाल यो विषयमा अनुसन्धान भइरहेको छ ।

उत्पत्ति यो भाइरस गएको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएर बेइजिङ, मकाउ, ताइवान हुँदै , साउथ कोरिया, युरोप, अमेरिका, भारत लगायत नेपाल, अझै भन्नु पर्दा विश्वका सबै देशमा फैलिसकेको छ । नेपालमा भने, चीनको युवान क्षेत्रबाट स्वदेश फर्किएका एक युवकमा नोबेल कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो। भाइरस फैलिएपछि विश्वभरकै अधिकांश विमानस्थलहरु बन्द छन, आंशिक बाहेक प्राय सबै देश / शहर लकडाउन अर्थात ठप्प छन । विश्वका महाशक्ति राष्ट्र हरुलाई समेत यो भाईरसले हम्मे-हम्मे पारिदिएको छ ।

लक्षण कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण सामान्य रुघाखोकी लाग्नु, क्रमश: उच्च ज्वरो आउनु (१००.४ डिग्री माथि), टाउको दुख्नु, स्वास प्रश्वास सम्बन्धि समस्या देखिनु र सास फेर्न गाह्रो हुनु रहेका छन ।

कसरि सर्छ यो भाईरस: यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ र यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ । भाइरस भएको कुनै बस्तु जस्तै सार्वजनिक स्थल, रेलिंग, लिफ्ट, बसकों डन्डी, ह्यान्डल आदि वाट एक व्यक्ति बाट अर्कोमा सर्ने सम्भावना रहन्छ ।

उपचार : आजको मिति सम्ममा नोबल कोरोना भाइरसको कुनै ठोस उपचार छैन। यद्यपि यो भाइरसले निम्त्याएका धेरै लक्षणहरूको उपचार गर्न सकिन्छ, त्यसैले बिरामीको उपचार लक्षणको आधारमा गरिन्छ तर यो भाइरसको विरुद्ध हाललाई कुनै खोप उपलब्ध छैन र निर्माण प्रयास भईरहेका छन् ।

अहिलेको अवस्था: पछिल्लो तथ्यांक हेर्ने हो भने हाल (अप्रिल १, ७:५० बिहानसम्म) यो भाईरसवाट विश्वका २०३ देश र क्षेत्रमा ७५४९४८ जना संक्रमण भएको छ भने  ३६५७१ को यो भाईरस का कारण मृत्यु भईसकेको छ । नेपाल को अवस्था हेर्दा १०६० मा परिक्षण गरिएको जसमध्ये ५ जनामा संक्रमण देखिएको छ १ जना निको भइसकेका छन् भने ४ जना आइसोलेसनमा रहेका छन् ।

कोरोना नियन्त्रणमा चीन, कोरिया, जापान कसरि सफल भए ?  : चीनको वुहान प्रान्तमा पहिलो चोटी २०१९ को डिसेम्बरमा भाईरस देखिएपछि सुरुमा यसलाई सामान्य रुपमा लिएपनि केहि समयमै चीनले विशेष सतर्कता अपनायो । स्वास्थ्य सेवा क्षेत्रमा अभुतपुर्व परिवर्तन ल्यायो, जुन विश्वले उदाहरणको रुपमा लिए । संक्रमण देखिएका शहर लकडाउन गर्यो र प्रविधिको उच्चतम प्रयोग गर्दै मानवरहित ड्रोन वाट निगरानी बढायो । मान्छे हरु लाइ आवश्यक पर्ने कुराको सरकारले जोहो गर्ने प्रतिवध्ता गर्यो र प्रयास गर्यो । र चिनियाँ स्वयं आफै सरकारकों कदम र प्रयास मा साथ दिन थाले कोरोनाको बल निस्तेज पर्दै गए । चीनमा यस्तो भई रहदा अन्य छिमेकि देशमा पनि यो भाईरस देखिन थाल्यो र कोरिया, जापान तथा युरोपेली देश मुख्य निशानामा परे। तर उनीहरुलाई थाहा थियो यो भाईरसको क्षमता र नानिबेली र सोहि कारण, व्यापक जनचेतना बढाए उल्लेख्य रुपमा परीक्षण केन्द्र हरु खोलिए र मानिस हरुलाई चोक, गाडी, ठाउँ-ठाउँमा चेक गर्न थाले र सक्दो चाडो २४ घण्टा भित्रै नतिजा निकाल्न थाले । यति सम्म गरे कि कोरियनहरुले आफ्नो नियमित प्रयोग गर्ने हातको सट्टा अर्को हात प्रयोगमा ल्याउन थाले ।

कोरोना नियन्त्रणमा अमेरिका,  इटली  कसरी चुके ? : एसियाली मुलुकहरुमा यो हविगत हुदै गर्दा अन्य केहि देशहरु भने यो भाइरसको मजाक उडाउनमै बेफुर्सदिला देखिन्थे भने कतिले वेवास्ता समेत गरे तर भाइरस भने विश्व भरिनै आफ्नो ताण्डव देखाऊदै थियो । त्यसकै चपेटामा परे युरोपेली मुलुकहरु र अमेरिका । अहिले उद्गम स्थल शिथिलप्राय छ भने, महाशक्ति राष्ट्र अमेरिका, बेलायत, इटली, स्पेन, जर्मनी आदि देश कठिन अवस्था वाट गुज्रिरहेका छन् । हामीले सुनेका छौ, जर्मनका स्वास्थ्य मन्त्रिले कोरोनाको प्रभाव निस्तेज पार्न नसक्ने देखेर आत्महत्या जस्तो बाटो रोजेका छन् । उता अमेरिकी राष्ट्रपति ट्रम्प अफ्ठेरो परिस्थितिको सामना गर्दै देशको अर्थतन्त्र र कामदारहरुको रोजगारीमा बढी चिन्तित देखिन्छन् । अर्थतन्त्र त मान्छे जोगिए पो हो भन्ने कुरा ओझेलमा परेको देखिन्छ भने अहिले घुँडा धसेर लडिरहेको छ।

समग्रमा भन्नु पर्दा महासक्ति राष्ट्रहरुले सुरुवाती चरणमा कोरोनालाई कमजोर ठान्नु र आवश्यक सावधानी नअपनाउनु नै मुख्य भुल देखिन्छ ।

नेपालका कमजोरी, राम्रो पक्ष, प्रयास र चुनौती: कठिन एवं विषम परिस्थितिमा पनि हाँसी-हाँसी समस्याको समाधान खोज्ने र डटेर लड्ने नेपाली र नेपालले पनि सुरुमा कोरोनाको कम आंकलन नगरेको भने हैन । चीनको दशा बिग्रेको अवस्थामा आफ्नो ग्रह बलियो ठान्नु, युरोपमा ताण्डव मच्चिदै गर्दा अन्तरराष्ट्रिय उडान रोक्न आवश्यक नठान्नु नेपालको लागि दुर्भाग्य हुन पुग्यो र अन्तत: कोरोना भित्रियो । तर विश्व परिवेश नियाल्दै गर्दा नेपाल नझस्किएको भने हैन फलस्वरुप केहि राम्रो सुरुवात भयो जस्तै लकडाउन गर्ने निर्णय, आवश्यक सहयोग माग्ने निर्यण गरिए र विभिन्न प्रयासको थालनी भए । तर समयमै आवश्यक कदम समयमै चाल्न नसक्नु, भारत संगको खुला सिमाना उचित व्यवस्थापन नहुनु र जनचेतनाको अभावले कतै नेपालले महँगो मानवीय मूल्य चुकाउन पर्ने त हैन भन्ने हुटहुटि भने कायमै छ । पछिल्लो समयमा समय-सापेक्षित केहि कदमहरु चालिए पनि, प्रयाप्त दक्ष जनशक्ति, चिकित्सकहरुलाई आवश्यक पर्ने पीपीई लगायतका उपकरण, प्रविधिको उपयुक्त प्रयोग, आईसोलेसन र क्वारेन्टाईन सहितको विपद् व्यवस्थापन चुस्त दुरुस्त नहुनुले नेपालमा कोरोनाको भय र चुनौती कायमै छ। यी र यस्ता चुनौतीका बीच सरकारले गरेको प्रयास प्रशंसनिय छ र यो अझै द्रुत गतिमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सबै जुटे कोरोनालाई हामी पक्कै पराजित गर्न सफल हुनेछौ ।

रोकथाम यति भन्दै गर्दा, कोभिड-१९ अर्थात कोरोना बाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो ।

  • रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने,
  • भिडभाडमा सावधानी अपनाउने र गुणस्तरीय मास्क लगाउने
  • नियमित रुपमा साबुन पानीले हात धुने
  • खोक्दा र हाँच्छ्यु गर्दा नाक र मुख छोप्ने
  • ज्वरो सहित रुघा खोकीको लक्षण देखिएमा स्वास्थ्यकर्मी संग परामर्श लिने, रुघाखोकी भएका व्यक्ति बाट टाढा बस्ने
  • जंगली तथा घर पालुवा पशुपन्छीसंगको असुरक्षित सम्पर्क बाट टाढा रहने
  • माछा-मासु तथा अण्डा राम्रो संग पकाएर मात्र खाने
  • रोग प्रतिरोधात्मक खानेकुरा जस्तै गेडागुडी, फलफुल, सलाद आदि खाने
  • विदेश वा स्वदेश बाट यात्रा गरेर घर जानु भएको छ भने अनिवार्य १४ दिन क्वारेन्टाईन मा बस्ने र उक्त अवधिमा कुनै लक्षण देखिए स्वास्थ्यको विशेष ख्याल गर्ने र स्वास्थ्य परामर्श लिने
  • सरकारले लागु गरेको लकडाउनको पूर्णत पालना गर्ने, नयाँ सूचना र निर्देशन बारे जानकारी लिने
  • सोसल डीस्ट्यान्सिंङ कायम गर्ने
  • कोरोना सम्बन्धि नेपाल सरकार र आधिकारिक निकायको पोर्टल, विश्व स्वास्थ्य संगठन (WHO) र भरपर्दो संचार माध्यमको सूचनाहरु लाइ मात्र विश्वास गर्ने र सेयर गर्ने
  • विदेशमा हुनुहुन्छ भने सम्बन्धित देशको र तहाँ स्थित नेपाली दुतावासको अधिकारिक सुचना र निर्देशन जानकारी लिने तथा नियमित संपर्कमा रहने
  • सरकार र सम्बन्धित निकायले प्रविधिको उच्चतम प्रयोग गर्ने
  • नेपाल सरकारले बिदेशमा रहेका आफ्ना नागरिक आफ्नो देशमा रहेका र बिदेशी नागरिकको रक्षाकालागी सम्बन्धित अन्य देशहरु सँग भद्र सहमती गर्ने
  • र हाम्रो समाज वा घरमा कसैलाई कोरोना संक्रमण भएको छ भने मानसिक ढाडस दिने, मायालु व्यबहार गर्ने र सावधानी पुर्वक उचित स्याहार तथा उपचार गर्न सहयोग गर्ने

के नगर्ने ? :

  • भिडभाडमा सकभर जाँदै नजाने
  • अत्यावश्यक काम बाहेक अरु बेला बाहिर नजाने
  • नाक, मुख र आखाँ साबुन पानीले हात नधोई नछुने
  • झुटा अफवाह नफैलाउने र यस्तो गर्ने लाइ निरुत्साहित पार्ने
  • कोरोना लागेको व्यक्ति आफु भन्दा फरक हो भन्ने गलत मानसिकता बोकेर अवहेलना वा द्रुव्यभार नगर्ने
  • हतासिएर बसमा भिडभाड गरि असुरक्षित तरिकाले घर फर्किने काम नगर्ने, यो कुनै आतंकवादी हमला जस्तो हैन, जहाँ छौ त्यही सुरक्षित आनीवानी अपनाएर बस्ने
  • आफुमा कोरोना सम्बन्धि कुनै लक्षण देखिएमा लुकाएर नबस्ने
  • खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुहरु अनावश्यक भण्डारण नगर्ने
  • मुख्य कुरा विपत्तिको बेला हामीले हाम्रो सामाजिक दायित्व नबिर्सिने
  • र धेरै शंका वा मानसिक तनाव नलिने

हात धुने तरिका: सावुन पनिले राम्ररी हात धुनु भनेको के हो त ? घर वाहिर गएर आउनु भएको छ वा घर मै बस्दा पनि संक्रमित बस्तु हरु छोईएको हुन सक्छ त्यै भएर यसरी साबुन पानीले राम्ररी सफा गर्ने । हात धुँदा सबै तिर साबुन पुग्ने गरेर कम्तिमा २० सेकेन्ड राम्ररी मिच्ने अनि पखाल्ने ।

लकडाउनको बेला के गर्ने ? :

खाली दिमाग सैतानको घर भन्ने उखान अहिले हरेक घर-घर मा छ । हिजो-अस्ति आमाबुवाले कोठामै नबस, मोबाईलमात्रै नचला, बाहिर जा, खेल भन्थे तर अहिले उल्टो छ । मौका यहि हो भनेर हरेक समय सुतिरहने अनि मोबाईलमात्रै चलाएर नबस्ने ।

के गर्ने त :

  • यो समय लाई केहि नयाँ काम गर्ने अवसरको रुपमा लिने र घरमा निस्क्रिय भएर नबस्ने, अर्को रोग जस्तै मधुमेह, कोलेस्ट्रोल, मोटोपन आदि हुन सक्छ
  • रचनात्मक कुरा सोच्ने र त्यै अनुरुप लागु गर्न प्रयास गर्ने
  • आफु संग भएको शीप-ज्ञान अरुलाई सिकाउने
  • घर परिवारमा रमाइलो गर्ने र बच्चाहरुलाई रचनात्मक कुरा गर्न लगाउने जस्तै पेंटिंग गर्ने, लेख हरु लेख्ने, बोल्ने कला सिक्ने, नयाँ भाषा सिक्ने, विभिन्न देश र ठाउँकों बारेमा खोज्ने / पढ्ने, इतिहास पढ्ने, नयाँ नयाँ परिकार बनाउन सिक्ने, करेसाबारी सजाउने
  • आफु लाइ मन पर्ने नयाँ पुस्तकहरु पढ्ने, पुस्तक छैन भने इन्टरनेटमा पोडकास्टहरु वा अडीयो पुस्तकहरु सुन्ने, ज्ञानवर्धक भिडियोहरु हेर्ने
  • आफन्त, साथीभाईहरु संग कुराकानी गर्ने
  • तपाई संग कुनै विषेस कला छ भने भिडियो बनाएर अनलाईन युट्युब, फेसबुकमा सेयर गर्ने
  • र नियमित व्यायाम र ध्यान गर्ने

आशा गरौ हामी सबै सुझबुझका साथ, कोरोना लाई अवसरका रुपमा लिदै यसको प्रभाव निस्तेज पार्दै स्वस्थ नेपाल र स्वस्थ विश्व निर्माण गर्न सफल हुनेछौ ।

लेखक : पञ्चदेव भट्ट

उहाँ हाल सुर्खेत मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा उप-प्राध्यापकको रुपमा कार्यरत हुनुहुन्छ ।

यही विषयवस्तुमा तयार पारीएको भिडियो : 

तपाईको प्रतिक्रिया