सुर्खेतमा वर्सेनी मेला–महोत्सव कहाँ जान्छ आम्दानीको रकम ?

 

सुर्खेत : सुर्खेतमा मेला र महोत्सव नभएको वर्ष हुँदैन । विभिन्न व्यक्ति र समूहका नाममा हरेक वर्ष महोत्सव आयोजना भइरहेका छन् । जसले आयोजना गरे पनि महोत्सवको आम्दानी सामाजिक काममा लगानी गर्ने बताइन्छ । तर हालसम्म भएका धेरै महोत्सवको हिसाव नै पारदर्शी भएका छैनन् ।

महोत्सव सम्पन्न भएपछि अधिकांश आयोजकले आम्दानीभन्दा बढी खर्च देखाउने गरेका छन् । कतिपयले त महोत्सव अगाडि घोषणा गरेका सामाजिक काममा लगानीसमेत गरेका छैनन् । सामाजिक र संस्थागत हितमा लागनी गर्ने उदेश्य राखेर महोत्सव संचालन गर्ने र सर्वसाधारणलाई महँगोमा टिकट बेचेर प्राप्त भएको आम्दानी कुम्ल्याउने प्रवृति बढ्दो छ ।

सामाजिक काममा लगानी गर्ने प्रचार गरेर आम्दानीको रकम आफैं कुम्ल्याउने प्रवृति बढेपछि पछिल्लो समय यस्ता मेला र महोत्सवप्रति सर्वसाधारणको वितृष्णा बढ्दै गएको हो । विशेषगरी जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने, घरेलु उत्पादनको प्रचार गर्ने र संस्कृतिको संरक्षण गर्ने नाममा महोत्सवहरु आयोजना भइरहेका छन् । सुर्खेतको सन्दर्भमा घरेलु तथा व्यापारीहरुका संस्थाले महोत्सव लगाउने गरेका छन् ।

यो वर्ष मात्र केही महिनाको अन्तरालमा दुई वटा महोत्सव आयोजना भएका छन् । केही महिना अघिमात्र घरेलु तथा साना उद्योग महासंघले महोत्सव सम्पन्न गरेको छ । त्यसको केही महिना वित्न नपाउँदै हिजोआज सुर्खेत उद्योग बाणिज्य संघले दोस्रो कर्णाली एक्सपो (महोत्सव) नाम दिएर मेला संचालन गरिरहेको छ । जिल्लामा घरेलु तथा साना उद्योग महासंघ, उद्योग बाणिज्य संघ, पर्यटन विकास मञ्च र नेपाल चेम्बर अफ कमर्सले महोत्सव लगाउँदै आएका छन् ।

महोत्सवमा घाटा हुने र अपेक्षा अनुसार आम्दानी नहुने दाबी गर्ने यी संस्थाहरुबीच वर्सेनी महोत्सव आयोजना गर्ने विषयमा रस्साकस्सी नै हुन्छ । तर महोत्सवबाट भएको आम्दानी भने सामाजिक कार्यमा कमै लगानी भएको छ । उद्योग बाणिज्य संघको अगुवाईमा योभन्दा अघि सञ्चालन भएका चार वटा महोत्सवबाट संकलन भएको आम्दानीबाट खासै लगानी गरेको देखिदैन । संघले मात्रै नभइ अन्य व्यक्तिहरुको अगुवाईमा लागेको महोत्सवबाट सुर्खेतमा कुनै पनि सामाजिक क्षेत्रमा रकम खर्चेको देखिँदैन ।

सुर्खेतमा २०६४ सालबाट संघले पहिलो पटक महोत्सवको आयोजना गरेको हो । तत्कालिन अध्यक्ष सूर्यबहादुर खड्काले सुर्खेतमा पहिलोपटक संघको आयोजनामा महोत्सवको आयोजना गरेका थिए । सुर्खेतका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने र महोत्सवबाट आम्दानी भएको रकमबाट संघको भवनमा हल निर्माण गर्ने उदेश्य महोत्सवको थियो । खड्काले भने, ‘करिब ५५ लाख आम्दानी भएको थियो, त्यो रकमबाट हामीले संघको भवनमा हल निर्माण गरेका थियौं ।’

त्यसपछि संघको नेतृत्व सम्हालेका विष्णुबहादुर शाहीको पालामा पनि महोत्सवको आयोजना गरिएको थियो । महोत्सवबाट भएको आम्दानीले हर्रेमा प्रवेशद्वार र वीरेन्द्रनगरमा सीटी हल निर्माण गर्ने मुख्य उदेश्य थियो । तर उनको पालामा ति दुवै काम भएनन् । ‘काम गरौंला भन्दाभन्दै कार्यकाल सकियो’ शाहीले भने, ‘म अध्यक्ष हुँदा नै हर्रेमा गेट निर्माण गर्न पाँच लाख र सीटी हलका लागि १० लाख दिने निर्णय भने गरेका थियौं, त्यसयता काम भयो वा भएन मलाई थाहा भएन ।’

शाहीपछि संघको नेतृत्व सम्हालेका पदमबहादुर शाहीले पनि महोत्सवको आयोजना गरे । उनको पालामा आयोजना गरिएको महोत्सवबाट उठेको रकमबाट खुलामञ्चमा पर्खाल लगाउने उदेश्य थियो । तर सुर्खेत उपत्यका नगर विकास समिति र वीरेन्द्रनगर नगरपालिकाको खिचातानीले महोत्सवबाट आम्दानी भएको रकम खर्च नभएको शाहीको भनाइ छ ।


‘उपत्यका नगर विकास समिति र नगरपालिकाले स्वीकृत नदिँदा महोत्सवबाट आम्दानी भएको रकम खर्च भएन’ शाहीले भने, ‘आम्दानी रकम संघकै खातामा जम्मा गरेका थियौं ।’ संघका निर्वतमान् अध्यक्ष प्रकाश अधिकारीको पालामा पनि महोत्सवको आयोजना भयो । संघको अगुवाइमा चौथों तथा पहिलो कर्णाली एक्सपोको आयोजना अधिकारीको नेतृत्वमा सम्पन्न भएको थियो ।
त्यसबेला संघले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विविए, एमविए र इन्जिनियरिङ संकायबाट उत्कृष्ट नतिजा ल्याउने तीन जनालाई दिक्षान्त समारोहमा गोल्डमेडल दिएको थियो ।

विश्वविद्यालयको साझेदारीमा विश्वविद्यालयले आयोजना गर्ने दिक्षान्त समारोहमा दिइने निर्णय गरिएको अधिकारीले बताए । बाँकी उल्लेखनीय काम त्यसबेलाको आम्दानीबाट पनि हुन सकेन । यस्तै पर्यटन विकास मञ्च र चेम्बर अफ कमर्सको नाममा पनि चार वटा महोत्सव सम्पन्न भएका छन् । यी दुबै संस्थाको प्रमुख चिन्तामणी शर्मा थिए । उनले पनि सामाजिक काम र पर्यटकीय स्थलको विकासमा आम्दानी लगानी गर्ने उदेश्य राखेका थिए ।

तर उनले सबै महोत्सवमा घाटा भएका कारण सामाजिक क्षेत्रमा लगानी गर्न नसकिएको दाबी गरे । उनले भने,‘गतवर्ष मात्र १५ लाख आम्दानी भएको थियो, तर चेम्बरभित्र विवाद भयो । विवादले काम गर्न पाएका छैनौं, त्यो रकम भने खातामै छ ।’ अघिल्ला वर्षका महोत्सव भने घाटामा गएको उनको भनाइ छ ।

महोत्सवको आम्दानीले भवन निर्माण

नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशको आयोजनामा २०७४ माघमा महोत्सवको आयोजना गरिएको थियो । महासंघका अध्यक्ष रहेका पदमबहादुर शाहीले अगुवाई गरेको उक्त महोत्सवमा यहाँका पर्यटकीय स्थलको प्रचारप्रसार तथा महोत्सवबाट आम्दानी भएको रकमले महासंघको प्रदेश कार्यालयको भवन निर्माण गर्ने उदेश्य थियो ।

त्यसबेला महोत्सवबाट झण्डै ३३ लाख रुपैयाँ आम्दानी भएको थियो । त्यही आम्दानी भएको रकमले वीरेन्द्रनगरमा महासंघको प्रदेश कार्यालयको भवन निर्माण गरिएको अध्यक्ष शाहीले बताए । प्रदेशको भवन व्यवस्थित नभएकाले महोत्सवबाट आम्दानी भएको रकम भवन निर्माणमा खर्चेको उनको भनाइ छ । केहीदिन पहिला मात्र उक्त भवन उद्घाटन गरिएको थियो ।

अक्षयकोषमा ५० लाख पु¥याउने लक्ष्य

यसपाली सुर्खेत उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव जारी छ । संघले सञ्चालन गरेको महोत्सवबाट यसपाली आम्दानी हुने रकम संघले स्थापना गरेको अक्षयकोषमा जम्मा गरिने जनाएको छ ।

अक्षयकोषमा रकम वृद्धि गर्ने, प्रशान्ति वृद्धाश्रम तथा मानवसेवा आश्रमलाई सहयोग गर्ने र नयाँ शववाहन खरिद गर्ने उदेश्यले दोस्रो कर्णाली एक्सपो आयोजना गरिएको संघले जनाएको छ । आगलागी तथा अन्य घटनाबाट व्यवसायीहरुलाई ठूलो क्षती हुने गरेकाले राहत कोष ५० लाखको बनाउने लक्ष्य रहेको संघका अध्यक्ष धनबहादुर रावतले बताए ।

उनले महोत्सव सञ्चालन गर्न चुनौती रहे पनि यो पटक तीन वटै काम गरेर देखाउने दाबी गरे । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पनि आयोजक रहेकाले पनि संघले अघि सारेका तीनै उदेश्य पूरा हुने आशामा छ । मन्त्रालयले महोत्सवमा ८० वटा स्टल अर्गानिक खाद्य बस्तुहरुका राखेको छ । संघ र मन्त्रालयको संयुक्त अगुवाईमा महोत्सव आयोजना गरिएकाले आम्दानी हुने रकमले हामीले सारेका योजना पनि पूरा हुनेमा विश्वस्त रहेको रावतको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार