जुम्ला : चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल र उपमेयर अप्सरादेबी न्यौपाने महत एक–अर्काबीच आरोप प्रत्यारोपमा उत्रिएपछि नगर कार्यपालिकाको बैठक नै अस्तव्यस्त बनेको छ । यसअघि मंगलबार उपमेयर महतले मेयरका कारण विकास निमार्णमा अनियमितता भएको भन्दै प्रेस विज्ञप्ति निकालेकी थिइन ।
फेरि, मेयर कान्तिका सेजुवालले पनि बिहीबार पत्रकार सम्मेलन डाक्दै उपमेयरको असहयोगका कारण लगानी सम्मेलन हुन नसकेको बताएकी थिइन् । सम्मेलनमार्फत नगर समृद्धिको आशा गरिए पनि उपमेयरले असहयोग गर्दा लगानी सम्मेलन हुन नसकेको उनले दाबी गरेकी छिन् । उपप्रमुखको असहयोगका कारण लगानी सम्मेलन अन्तिम चरणमा स्थगित गर्न बाध्य भएको मेयर सेजुवालले बताइन् ।
उपमेयर महतले अनियमितता गरेको आरोप लगाएपनि मेयर सेजुवालले आरोप निराधार भएको भन्दै खण्डन गरेकी छिन् । उनले नगरवासीका नाममा ध्यानाकर्षण पत्र जारी गर्दै न्यायीक समितिको काम–कारवाहीप्रति कुनै हस्तक्षेप नभएको र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५३ (२) बमोजिम न्यायिक समितिको कामको वार्षिक विवरण मेयर समक्ष उपमेयर न्यौपानेले अहिलेसम्म पेश नगरेको बताइन् ।
उपप्रमुख न्यौपानेले सोलार वितरकलाइ नगरप्रमुख सेजुवालले बचाउन खोजेको र भण्डारीबाडाको सडकका बारेमा परेको उजुरी प्रभावित पार्न खाजेको आरोप लगाएकी छिन् । तर मेयर सेजुवालले वैकल्पिक उर्जाबाट सोलार वितरणका क्रममा नागरिकले पाउने अनुदान रकम वितरकबाट फिर्ता भई सकेको, भण्डारीबाडा सडकका सम्बन्धमा न्यायीक समितिले गरेको निर्णयप्रति प्रमुखबाट कुनै हस्तक्षेप नभएको सफाइ पेश गरेकी छिन् ।
युग संवाददाता । । ५ फाल्गुन २०७६, सोमबार १४:४९