टोलटोलमा एम्बुलेन्स पु¥याउँछौं : मेयर लालबहादुर महतरा

जाजरकोट जिल्ला सदुरमुकाम खलंगादेखि झन्डै १० कोश पश्चिम विकट क्षेत्रमा अवस्थित छेडागाड नगरपालिका राज्यको पुनःसंरचनासँगै विकासका काममा गति लिन थालेको छ । सुयाडा मालिका, छत्र्यालदेवल आदि विभिन्न पर्यटकीय स्थललेसमेत जिल्लामा प्रख्यात यस नगरपालिकाले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, विद्युतसँगै पर्यटकीय पूर्वाधार विकासमा जोड दिएको छ । आगामी दुई बर्षभित्र नगरपालिकाको १३ वटै वडामा सडक विस्तार गरी टोलटोलमा एम्बुलेन्स पु¥याइने नगरप्रमुख लालबहादुर महतराले बताए । उनीसँग गरीएको कुराकानी साराशं ।

लालबहादुर महतरा
(मेयर, छेडागाड नगरपालिका, जाजरकोट)

नगरपालिकाको सेवा प्रवाहको अवस्थाबारे बताइदिनुस् न ?

नगरपालिकामा उपलब्ध स्रोत साधान अनुसार हामीले सेवा प्रवाहलाई सकेसम्म प्रभावकारी बनाउने प्रयास गरेका छौ । नगरपालिकामा रहेका १३ वटा वडामध्य आठ वडा कार्यालय बनाउन बाँकी छ ।

आफ्नै वडा कार्यालय नहुदाँ वडाबाट हुने सेवा प्रवाहको अवस्था त्यती सन्तोषजनक नहुनसक्छ । तर पनि हामीले सकेजती सेवा प्रवाहमा कमि हुन दिएका छैनाै‌ँ । हाल ६ वटा वडामा केन्द्रित सात वटा स्वास्थ्य संस्थाको सेवा प्रवाह सुस्त भएपछि थप आठ वटा सामुदायिक स्वास्थ्य केन्द्र निर्माणको तयारीमा छाैँ ।

मनघाटबाट सञ्चालन भएको नगरपालिका केन्द्रमै भवन अभावका कारण सेवा प्रवाहमा समस्या भएपछि ५५ करोडमा आवाश्यक भवन निर्माणको तयारीमा छौँ । यस्तै नगरपालिकामा आवाश्यक सबै क्षेत्रको विकासका लागि हामी तत्पर छौँ ।

विस्तारै बजेट अनुसार काम हुँदै गएको छ । नगरपालिकाको केन्द्र विवाद अन्त्य भएको छ । नगरसभाबाट सर्वसम्मत निर्णय गरेर प्रदेशसभामा पठाएका छाैँ । यसमा कुनै पनि व्यक्तिको नोट अफ डिसेन्ट छैन ।

टोलटोलमा एम्बुलेन्स पु¥याउने गरी सडक विस्तारको कामलाई कत्तिको प्राथमिकता दिनुभएको छ ?

हाम्रो मुख्य प्राथमिकता भनेकै अहिले सडकमै हो । सडक नहुदाँ बिरामीदेखि सर्वसाधरण नागरिकलाई आउजाउ गर्न सकस छ । टोलटोलमा एम्बुलेन्स नपुग्दा बिरामीको समयमै उद्दार गर्न कठिन छ । हाल १३ वटा वडामध्य वडा नम्बर ७ र ८ मा अँझै सडक पुगेको छैन ।

आगामी आर्थिक बर्षमै यी वडामा सडक पु¥याउने योजना छ । अन्य वडामा सडक पुगे पनि गुणस्तरमा जोड दिनुपर्ने अवस्था छ । यसरी हामीले भएको बजेटमा सकेसम्म बढि बजेट सडक विस्तार र मर्मतमा खर्च गरेका छाैँ ।

नगरपालिकामा सडकको अवस्था राम्रो नभएसम्म स्थानीयको आयआर्जनमा समेत सुधार हुने देखिदैन । सहज सडक र प्रभावकारी यातायात सेवा सुरु भएपछि मात्रै यहाँको उत्पादनले बजार पाउने देखिन्छ । सबैभन्दा पहिले हामी टोलटोलमा एम्बुलेन्स पु¥याइने योजनामै छौ । जसले जे भने पनि हाम्रो मुख्य प्राथमिकता भनेको सडक विस्तारमै हो ।

स्वास्थ्य संस्थामा औषधि अभावको समस्या अन्त्य भयो ?

खासै पहिलेजस्तो स्वास्थ्य संस्थामा सिटामोटसमेत नपाईने अवस्था छैन । हामीले सिजनल रुपमा आवाश्यक पर्ने औषधि र जनशक्ति व्यवस्थापनमा छलफल गरी सोही अनुसार व्यवस्था गर्ने गरीरहेका छौँ । हामीले कतिपय स्वास्थ्य संस्थाका लागि औषधि आफै खरीद गरेर वितरण गरीरहेका छाैँ ।

भने कतिपय स्वास्थ्य चौकीका लागि जिल्ला अस्पतालबाट औषधि भित्रिने गरेको छ । यस्तै प्रदेश सरकारले समेत पटक पटक औषधि उपलब्ध गराउँदै आएको छ । कहिलेकाँही कुनै स्वास्थ्य चौकिमा सिटामोलसमेत छैन, भन्ने गुनासो आउँछ । तर यस्तो अवस्था पहिले थियो, अहिले छैन । आगामी दिनमा पनि स्वास्थ्य चौकीमा सिटामोल नै नहुने समस्या आउन दिने छैनाै‌ँ ।

कृषिमा नगरपालिकालाई आत्मनिर्भर बनाउने योजना छन्, की छैनन् ?

हामी सबैभन्दा पहिले आत्मनिर्भर हुने विकल्प भनेकै कृषि र मासुमै हो । सोही अनुसार अन्नबाली उत्पादन बृद्धि गर्न आवाश्यक कार्यक्रमसहित कृषकसँग अन्तरक्रिया, सिप हस्तान्त्रणको अभियान जारी छन् । नगरपालिकामा भट्ट, मास, कोदो, मकै, धानलगायतका अन्नबाली धेरै उत्पादन हुन्छ ।

यहाँको रैथाने बाली फापर, जुनालो, मार्से, गहत जस्ता बालीको बजार सम्भावना पनि उच्च छ । तर व्यवसायिक रुपमा खेती नगर्दा कृषकले अन्नबालीबाट खासै आम्दानी लिन सकेका छैनन् । त्यसैले व्यवसायिक खेती प्रणाली विस्तारमा जोड दिने योजना छ । अहिले छाक टार्नका लागि मात्रै ६ मासे खेती हुन्छ ।
यस बिषयमा व्यापक छलफल गर्नेछाैँ।

अहिले भातका लागि चामल मात्रै खरीद गर्नुपरेको छ । तर तरकारी तथा दाल, गेडागुडी खरिद गर्नुपरेको छैन । मासुमा खसीबोका निर्यात गर्न सफल भएका छौँ ।

पर्यटन पूर्वाधार विकासका लागि भएका प्रयासहरु के के छन् ?

हामीसँग दुई वटा मुख्य पर्यटकिय क्षेत्र सुमालथाना र सुयाडा मालिका क्षेत्र तथा छत्र्यालदेवल छन् । यहाँ आवाश्यक पूर्वाधारको कमिले खासै बाह्य पर्यटक भित्रिन सकेका छैनन् ।

यहाँ हरीयाली जंगल व्यवस्थापन र सडक निर्माण गरेर भ्यू टावरसहितको धार्मिक पर्यटकीय स्थल बनाउन हामीले बजेटसमेत विनियोजन गरेका छौँ । नगरपालिकामा आवाश्यक पूर्वाधार विकाससँगै पर्यटन पूर्वाधार विकासमा हाम्रो ध्यान केन्द्रिन भएको छ । नगरपालिकाको आम्दानीको ठुलो स्रोत पर्यटकसमेत भएकाले कसरी पर्यटकलाई आकर्षित गर्ने भन्ने बिषयमा योजना बनाउँदैछाैँ ।

नगर विकासमा भएका अप्ठ्याराहरु के के हुन् ?

सर्वप्रथम त भौगोलिक विकता नै नगर विकासको बाधक तत्व हो । हामीसँग सीमित स्रोत साधान हुने भएकाले सोचेनुसार विकास गर्न सकिदैन । नागरिकका चाहनाअनुसार एकै पटक विकास गर्न बजेट पनि पुग्दैन ।

ठेकेदार र उपभोक्ता समितिलेसमेत लापारवाही गर्दा समयमै काम हुँदैन । जथाभावी डोजर प्रयोगले गर्न खोजेको विकास हुँदैन । ठेकेदार र उपभोक्ता समितिले कसरी दिगो विकास गर्ने भन्दा पनि पुरातन सोचमै रहेर पैसा सकाउने हेतुले विकास निर्माणका काम गरी दिदाँ समस्या छ । एकातिर नीतिगत रुपमा पनि समस्या छ ।

भने अर्कोतिर मान्छेको प्रवृतिमा समेत सुधार आएको छैन । राजनिति आग्रह, पुर्वाग्रहले समेत समयमै उपभोक्ता समिति गठन गरी काम गर्न सकिदैन ।
कतिपय योजनामा बजेट नै नपुग्दा काम अधुरै रहन्छन् । त्यस्तै स्थानीय तहमा दक्ष जनशक्ति पनि छैन ।

कामका लागि पनि बाह्य जिल्लाबाट दक्ष ज्यामी ल्याउनुपर्छ । यसरी हरेक क्षेत्रमा चुनौती बढ्दै जाँदा सोचेअनुसार काम गर्न नसकिएको अवस्था हो ।

शिक्षा क्षेत्रका समस्या न्यूनिकरण गर्न के कस्ता पहल भइरहेका छन् ?

शिक्षा वास्तवमै चुनौतीपूर्ण बिषय हो । र परीवर्तनको अनुभुती गराउने पहिलो क्षेत्रपनि शिक्षा क्षेत्र नै हो । त्यसैले सबैभन्दा पहिले शिक्षा क्षेत्रको अवस्था सुधार नभएसम्म अन्य क्षेत्रको अवस्था सुधार हुदैन भन्ने उद्देश्यले नगरपालिका क्षिक्षा क्षेत्रका समस्या न्यूनिकरणका लागि प्राथमिकता दुईमा राखेर काम गरीरहेको छ ।

जबसम्म मान्छेमा चेतना विकास हुदैन । तबसम्म केहि नयाँ काम गर्न सकिदैन । त्यसको मुख्य जड भनेकै शिक्षा हो । अहिले हामीले विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलन, एक विद्यालय एक खेलमैदान व्यवस्थापन गर्ने र शिक्षक नियमिततामा जोड दिन कडाई गरेका छौँ ।

नगरपालिकामा रहेका एक सय दुई विद्यालयमध्य केहि विद्यालय मर्ज गरेर ८६ वटा विद्यालयमा झारेका छौँ । ९६ वटा बालविकास केन्द्र सञ्चालन गरेर बाल शिक्षण सिकाईमा जोड दिएका छौ । भने आवाश्यक विद्यालय भवन निर्माणमा जोड दिएका छाैँ।

नगरपालिका कहिले विद्युतयुक्त बन्छ ?

यसमा हाम्रो पहल जारी छ । हाल वडा नम्बर १ मा २१ किलोवाटको विद्युत् मात्रै छ । यो सोही वडामै अपुग भएको अवस्था हो । ग्रामिण विद्युत निर्माणमा जुटेका छौँ । केन्द्रिय प्रशारण लाईन विस्तारको काम पनि जारी रहेकाले अबको दुई बर्षभित्र विद्युतयुक्त नगर बन्नेछ ।

हाम्रो नगरपालिका हुदै मध्यपहाडी लोकमार्ग गएकाले यही सडक हुदै केन्द्रिय प्रशारण लाईन तान्ने काम भइरहेको छ । विद्युत नहुदाँ अध्यारोमै बस्नुपर्ने बाध्यता हामी दुई बर्षमै अन्त्य गर्छौ ।

अन्तमा अबको बाँकी कार्यकालमा नगर विकासका लागि तपाईंको पहल के रहन्छ ?

त्यो त जे जे काम आइपर्छन । ती सबै काम गर्नुनै पर्छ । त्यसैमा गर्नै पर्ने काम भनेको सडक विस्तार र मर्मत नै मुख्य प्राथमिकतामा हुनेछ । गाउँगाउँसम्म यातायात पुग्ने गरी सडक विस्तार तथा कालोपत्रे गर्ने अभियानमा मेरो जोड रहनेछ । त्यस्तै नगरपालिकामा समस्याको रुपमा रहेको बालविवाह न्यूनिकरणमा आवाश्यक जोड रहनेछ ।

बाल बिवाह न्यूनिकरणका अभियान थाल्दै गर्दा झन् बढेको देखियो । यसलाई घटाउन नीतिगत रुपमा कार्यक्रम बनाउँदै अघि बढ्नेछौ । यस्तै भाडामा बस्नुपर्ने वडा कार्यालयको बाध्यता हट्ने गरी भौतिक संरचना निर्माण गर्नेछौ । शुसाशन तथा विधिको शासन लागुहुनेछ । यसरी शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, कृषिलगायतका सबै क्षेत्रमा भएका समस्या समाधानका लागि बाँकी कार्यकालमा मेरो अहम भुमिका निर्वाह रहनेछ ।

तपाईको प्रतिक्रिया