वीरेन्द्रनगरका मुख्य सडकमा अब ‘वान वे’

सुर्खेत : प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरमा सवारी साधनको चाप बढेको छ । सवारी साधनको चापसँगै यहाँको ट्राफिक जाम पनि बढ्दो । यही समस्या न्यूनिकरणका लागि नयाँ उपाय अपनाउन लागिएको हो ।

बढ्दो ट्राफिक जामको समस्या हटाउन यहाँका मुख्य सडकमा अब (वान वे) अर्थात एकतर्फी मात्र गाडी संचालन गर्न पाइने निमय लागू हुँदैछ ।
कर्णाली प्रदेशको राजधानी भएपछि वीरेन्द्रनगरमा सार्वजनिक पार्किङ्गस्थल छैनन् । पार्किङ्ग स्थलको अभावले वीरेन्द्रनगरको मुख्य बजार क्षेत्र अस्तव्यस्त छ । सडक किनाराको एक छेउमा ट्राफिक प्रहरीले दुइ पाङ्गे सवारी पार्किङ्ग गरेर जेनतेन व्यवस्थापन गरिरहेको छ । बढ्दो सवारी साधनको चाप र सडकमै पार्किङ्ग गर्दा दोहोरो सवारी आवागमनमा समस्या भइरहेको छ ।

मुख्य बजार क्षेत्रमा जाम नै हुने गरेको छ । वीरेन्द्रनगरको मंगलगढी चोकदेखी गणेशचोकसम्म सवारी आवतजातमा निकै सास्ती भइरहेको । बजार क्षेत्रका भित्री सडक यरिचोक–वीरेन्द्रनचोक, नेताचोक–वुद्धपथ लाइन, घण्टाघर र हटिया लाइनमा सवारी साधनको चापले सडकमा सास्ती बढिरहेको छ । वीरेन्द्रनगर नगरपालिकाले तत्काल पार्किङ्ग स्थलको टुंगो नलगाएपछि पहिलो चरणमा मंगलगढीदेखी वीरेन्द्रचोकसम्मको मुख्य बजार क्षेत्रमा पर्ने सडकमा एकतर्फी मात्र (वान वे) सवारी साधन आवतजावत गराउने तयारीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय जुटेको हो । बढ्दो सवारी साधनको चापलाई एकतर्फी बनाउँदा सडक दुर्घटना कम हुने र सवारी साधनको जाम पनि कम हुने अपेक्षा प्रहरीको छ ।

एकतर्फी गाडी आवतजावत गराउन जिल्ला प्रशासन कार्यालय सुर्खेतसँग छलफल गरिएको छ । सरोकारवाला निकायको उपस्थितिमा बुधबार भएको छलफलमा मंगलगढीदेखी वीरेन्द्रचोकसम्म मात्र नभइ अन्य सडकमा पनि यो नियम लागूगर्न ट्राफिक प्रहरीलाई आग्रह गरिएको थियो । तर ट्राफिक प्रहरीले तत्काल अन्य सडकहरुमा नियम लागु गर्न नसकिने बताएको छ । ‘सुर्खेतमा ट्राफिक नियम बारे धेरैलाई बुझाउन बाँकी नै छ’ जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिले भने, ‘एकैपटक नियम लागूगर्दा धेरै जनशक्ति आवश्यक पर्छ, पहिलो चरणमा बजार क्षेत्रमै केद्रित ग¥यो भने विस्तारै बाँकी सडकमा लागु गर्न सहज हुन्छ ।’ प्रहरीले अबको एक साताभित्र सवारी साधन आवागमनलाई एकतर्फी गराउने तयारी गरेको सिजापति बताउँछन् ।

सडकमा संकेत चिन्ह र रेखाङ्कन गर्न समय लाग्ने भएकाले केही दिनमै मंगलगढी–वीरेन्द्रचोकसम्म सवारी साधन आवातजावत एकतर्फी बताउने उनले जनाए । सुर्खेतमा १८ हजार सात सय ५८ मोटरसाईकल, दुई सय ७५ जीप÷कार, तीन सय ९२ टिप्पर, पाँच सय ८० बस÷मिनीबस, एक हजार तीन सय ५० अटोरिक्सा, एक सय ७० पावर टेलर र पाँच सय ९४ वटा ट्याक्टरको संख्या छ ।

यस्तै प्रदेश राजधानी भएकाले बाहिरबाट दैनिक भित्रिने सवारी साधनको चाप पनि बढी छ । यसले समस्या निम्तिएपछि वान वे नियम लागू गर्न लागिएको हो ।

जेव्राक्रसबाट हैन,
सडकमा मनलाग्दी वारपार

वीरेन्द्रनगरको फोरलेन सडकको झण्डै १० ठाउँमा सडक डिभिजन कार्यालयले जेव्राक्रस बनाएको छ । ट्राफिक प्रहरी कार्यालयको आग्रहमा बनाइएको जेव्राक्रसमा पैदल यात्रु भने मनलाग्दी रुपमा सडक वारपार गरिरहेका छन् ।

चोक–चोकमा खटिएका ट्राफिक प्रहरीले दैनिक नागरिकलाई जेव्राक्रसबाट अटेरी गर्ने गरेका छन् । दुर्घटना रोक्नकै लागि बनाएका नजिकै जेव्राक्रसबाट भएर सडक वारपार गर्न नागरिकलाई आग्रह गर्दा पनि अटेरी गर्दै आएको प्रहरी बताउँछन् ।

सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले यही महिनामै सडक सुरक्षा सप्ताह कार्यक्रम सञ्चालन गर्न लागेको ट्राफिक प्रमुख सिजापति बताउँछन् । विभिन्न चोक तथा सडकमा पैदल यात्रु, सवारीचालक तथा सर्वसाधारणलाई सडक सुरक्षासम्बन्धी जनचेतनामूलक अपिल गरिने सिजापतिको भनाइ छ ।

  यो नियमले दुर्घटना रोक्नेछ

 उदयसिंह सिजापति
प्रमुख, जिल्ला ट्राफिक प्रहरी कार्यालय, सुर्खेत

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले पहिलो चरणमा मंगलगढी चोकदेखी वीरेन्द्रनचोकसम्म एकतर्फी (वान वे) सवारी साधनको आवागमन गराउने छ ।

बजारका भित्री सडकबाट मुख्य बजार भएर गुड्ने गाडीहरु अब अनिवार्य वीरेन्द्रचौेक भएर मात्र बाहिरिने छन् । यस्तै अब सवारी साधनले हटियालाइन, सिर्जना मेडिकल हलदेखी दक्षिणतर्फको बाटो, शनिहललाइन, वुद्धपथबाट नेताचोकहुँदै बिच बजार भएर मंगलगढीतर्फ फर्कन पाउने छैनन् ।

अब बजारबाट मंगलगढी चोक जान वीरेन्द्रचोकबाट घुमेर यरिचोक वा पिपल चौतारा, वुद्धपथ, गोदाम लाइन भएर जानु पर्नेछ । बिच बजार हुँदै दायाँबायाँका सहायक सडक भएर भने गुड्न सक्छन् । तर मंगलगढी चोकतर्फ भने फर्कन पाइने छैन ।

सवारी साधनको आवागमन एकतर्र्फी बनाउन ट्राफिक जनशक्ति धेरै खटाउनु पर्ने भएकाले पहिलो खण्डमा मंगलगढी–वीरेन्द्रचोकसम्म यो नियम लागू गर्दैछौं । त्यसपछि विस्तारै बजार क्षेत्रका अन्य सडकमा लागूगर्ने योजनामा छौं । दुर्घटना रोक्न र सहज आवतजावतमा एकरुपता ल्याउन यो नियम अनिवार्य छ । एकतर्फी आवतजावतलाई सहयोग गर्न सम्पूर्ण सवारी चालक र स्थानीय नागरिकहरुलाई अनुरोध गर्दछु ।

व्यवसायीले साथ दिनेछन्

लक्ष्मण कंडेल
महासचिव, सुर्खेत उद्योग वाणिज्य संघ

प्रदेश राजधानीको ट्राफिक व्यवस्थापन चुस्त हुन जरुरी छ । साँघुरो सडक, त्यसैमा मनलाग्दी गाडी पार्किङ्गले बजार क्षेत्र नै कुरुप बनाएको छ ।

साना ठूला सवारी साधन आवतजावत र पैदल यात्रुका कारण ट्राफिक व्यवस्थापनमा पनि उत्तिकै चुनौती छ । त्यसैले बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्नु अनिवार्य छ । हामीले पटक–पटक यस विषयमा आवाज राख्दै आएका थियौं ।

पार्किङ्ग व्यवस्थापनमा स्थानीय सरकारको प्रमुख दायित्व हो । तर नगरपालिकाले प्रभावकारी भूमिका निर्वाह गरेको छैन् । प्रमुख जिल्ला अधिकारी, जिल्ला ट्राफिक र सरोकारवाला निकायका प्रतिनीधि एकतर्फी सवारी साधनको आवागमन गराउने विषयमा एकमत छौं ।

राजधानीमा उत्कृष्ट ट्राफिक व्यवस्थापन भयो भने बाहिर सन्देश राम्रो जान्छ । त्यसैले नीजि विशेष गरी यहाँका सबै व्यवसायीले ट्राफिक व्यवस्थापनमा सक्दो सहयोग गर्नेछौं ।

पार्किङ क्षेत्र तोकिदैं

प्रदेश राजधानीको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन वीरेन्द्रनगर नगरपालिकाले पार्किङ्ग क्षेत्र तोक्ने तयारी गरेको छ ।

वीरेन्द्रनगरको घण्टाघर क्षेत्र, नेकपा पार्टी कार्यालय अगाडी र जन माविदेखी उत्तरतर्फको खाली जग्गामा पार्किङ्ग स्थल बनाउने गरी छलफल भइरहेको नगरपालिका उपप्रमुख मोहनमाया ढकाल बताउँछिन् ।

भाडामा रहेका स्थानहरुको पहिचान गर्नेक्रममा रहेकाले चाडै नै पार्किङ्ग स्थलको टुङ्गो लाग्ने ढकालको भनाइ छ । राजधानीको ट्राफिक व्यवस्थापन अत्यावश्यक रहेकाले नगरपालिकाले सक्दो सहयोग गर्ने ढकालको प्रतिवद्धता छ । एकतर्फी सवारी आवागमनका विषयमा छलफलमै रहेकाले चाडै नै लागु हुने ढकालको भनाइ छ ।

तपाईको प्रतिक्रिया