सल्यानबाट २९ करोडको सुन्तला निकासी

सल्यानबाट यस वर्ष २९ करोड बढीको सुन्तला निकासी भएको छ । जलवायु परिवर्तन,सुन्तलामा रोग किराको प्रकोप जस्ता कारण गत वर्ष भन्दा यस वर्ष उत्पादनमा भने कमी आएको छ ।
सल्यानमा यस वर्ष  ३८ हजार ६ सय  ५३ क्विन्टल सुन्तला निकासीबाट २९ करोड ३४ लाख ६६ हजार रुपैयाँ जिल्लामा भित्रिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
गत वर्षभन्दा यस वर्ष ११ प्रतिशतले उत्पादन घटेको कृषि विकास कार्यालयका कार्यालय प्रमुख रेशम कुमार बस्नेतले जानकारी दिए । उनका अनुसार गर्त वर्ष ३३ करोड ७० लाख रकम बराबरको सुन्तला जिल्ला बाहिर निकासी भएको थियो ।
यस वर्ष सबैभन्दा धेरै बागचौर नगरपालिकाबाट मात्रै १८ हजार २सय ९५ क्विन्टल सुन्तला निकासीबाट १५ करोड २० लाख ३० भित्रिएको छ । यस्तै छत्रेश्वरी गाउँपालिकाबाट ८ करोड ६५ लाख ९९ हजार, त्रिवेणी गाउँपालिकामा ५२ लाख ४७ हजार रुपैयाँ किसानले आम्दानी गरेका छन् ।
यस्तै सिद्ध कुमाख गाउँपालिकाबाट १ करोड ८० लाख १५ हजार, कुमाख गाउँपालिकाबाट ८२ लाख ५० हजार, शारदा नगरपालिकाबाट १ करोड १९ लाख २५ हजार, बनगाड कुपिण्डे नगरपालिकाबाट ५९ लाख ३७ हजार र कपुरकोट गाउँपालिकाबाट ४२ लाख ४८ हजार रुपैयाँको सुन्तलाबाट जिल्लाबाट भित्रिएको बस्नेतले जानकारी दिए । यस वर्ष किसानले प्रतिकिलो ५५ देखि ११० रुपैयाँ प्रतिकिलोसम्मले सुन्तला बिक्री गरेको उनको भनाई छ । बागचौर नगरपालिकाका सुन्तला बगैँचामा केही रोग किराको संक्रमण हुँदा उत्पादन घटे पनि अन्य पालिकामा भने उत्पादनमा वृद्धि आएको उनको भनाई छ ।
सल्यानका दश स्थानीय तह मध्ये कालीमाटी गाउँपालिका बाहेक अन्य नौ तहमा सुन्तला उत्पादन हुँदै आइरहेको छ । जिल्लामा १ हजार ४ सय ४५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आइरहेको छ ।
तपाईको प्रतिक्रिया