क्षेत्र विस्तारमा करोडौँ खर्च

सुन्तलाको पकेट क्षेत्र संकटमा


सुन्तला उत्पादनमा कर्णालीमै चर्चित मानिन्छ, दैलेख जिल्ला । यहाँको दुल्लु नगरपालिका, भैरबी गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका लगायतका स्थानीय तह सुन्तला उत्पादनका हिसाबले चर्चित छन् । यी स्थानीय तहका विभिन्न वडामा सुन्तलाको बगैँचा नै बगैँचाको दृष्य देख्न पाईन्थ्यो । बोटभरी लटरम्म सुल्तला फल्थे ।

जता हे¥यो उतै पँहेलपुर देखिन्थ्यो । अहिले भने यहाँका सुन्तला खेती गर्ने किसानहरुलाई सपना जस्तो लाग्छ । पछिल्लो केहि बर्षयता यस क्षेत्रमा सुन्तला उत्पादन घट्दै गएको छ । किसानहरु भन्छन् ‘यहाँका स्थानीय रैथाने जातका सुन्तला संकटमा परेको छ ।’ धमाधम बोट सुक्न थालेपछि किसान परिवारको जीविकोपार्जनमा समस्या देखिन थालेको छ ।

डुङ्गेश्वर गाउँपालिका–२ सेर्माकोटका स्थानीय टिकाराम नेपालीको सुन्तलाको लहलहाउँदो सुन्तला बगैँचा नै थियो । २०७० सातासम्म पनि उनले बर्षेनी लाखौँको सुन्तला बिक्री गर्थे । ‘सुन्तला पाक्ने मौसममा बारी नै पँहेलपुर हुन्थ्यो, दिनभरी सुन्तला टिपेर रातभर तौलेर विहानै बजारतिर पठाउँथ्यौँ, व्यापारीहरु बगँैचामै सुन्तला किन्न आउथे, त्यो दिन अहिले सपना जस्तो लाग्छ’ उनले भने । सुन्तला नपाक्दै कुहिने र बोट पनि सुक्ने समस्या देखिन थाल्यो । बारीमा रहेको सुन्तलाका बोट विस्तारै सुक्न थाले । सुन्तलाका बोटमा स–साना दाना फल्न थाले । अहिले त भएका बचेका बोटमा पनि सुन्तला फल्नै छोड्यो ।

भैरबी गाउँपालिका–६ खम्बागाडेकी मन्धरी पौडेल अहिले सुन्तला उत्पादनमा गिरावट आएको बताउँछिन । खम्वागाडे क्षेत्रमा सुन्तला उत्पादन धेरै हुन्थ्यो । परम्परागत रुपमा गरिने नगदे बालीको खेती गर्दै आएको मन्धरीको परिवारले सुन्तला उत्पादन धेरै हुने देखेपनि नगदे बाली छोडेर सुन्तलाका विरुवा रोपे । सुन्तला रोपेको तीन वर्षसम्म राम्र्रै उत्पादन भयो ।
त्यसपछि सुन्तलाका बोट सुक्न थाले । सुन्तलाका दाना सानो सानो लाग्न थाल्यो । ‘अहिले त हाम्रो क्षेत्रमा स्थानीय जातको रैथाने सुन्तला लोप नै हुने अवस्थामा छ, सुन्तलाको बोट पनि मासिए,’ उनले भनिन् । हाल खम्बागाडे भन्दा माथिल्लो उच्च भुभागमा सुन्तला खेती राम्रो हुन थालेको उनी बताउँछिन् ।

दुल्लु नगरपालिका–११, कालभैरवका जगत् पन्तले २०५३ सालमा पाँच रोपनी जग्गामा सुन्तला खेती सुरु गरे । त्यसको २४ वर्षपछि उनले आफ्नो सुन्तला खेती १५ रोपनीमा बिस्तार गरे । सुन्तला खेती सप्रेका बेला उनको बार्षिक आम्दानी पाँच लाखसम्म भयो । केही वर्षदेखि सुन्तलाको उत्पादन घट्दै गएपछि उहाँमा निराशा छाएको छ । करिब दुई वर्ष यता सुन्तलाको बोटमा फल लाग्न छाडेको, दाना सानो भएको र पहिलाजस्तो मिठो पनि नहुने उनको अनुभव छ । ‘कतै रोग लागेर समस्या छ, बचेका ठाउँमा पनि रोग किराको प्रकोपले समस्या पारेको छ,’ उनले भने । उनको बगैँचामा रहेका डेढसय सुन्तलाको उत्पादन बर्सेनि घट्दो छ ।

यी केहि प्रतिनिधि किसान मात्रै हुन् । विभिन्न कारणले सुन्तला खेतीनै संकटमा परेपछि दैलेखका किसान समस्यामा परेका छन् । केहि बर्षयता यहाँको रैथाने सुन्तला मासिन थालेको छ । सुन्तलाका बिरुवामा बिस्तारै पात झर्ने, दाना सानो हुने र बोट सुक्दै जाने समस्या देखिएको छ । अरू बाली र फलफूल लगाउन छाडेर सुन्तला खेती गरेका किसानहरु विभिन्न रोगले धमाधम सुन्तलाका बिरुवा मासिन लागेपछि चिन्तित छन् ।

दैलेखका सयौँ परिवारले लगाएका सुन्तला अहिले संकटमा छन् । सुन्तलाका हाँगा र डाँठ सुक्दै जाने, साना दाना लाग्ने, कम फल्नेजस्ता समस्या भएको कृषकहरु बताउँछन् । दुल्लुको गमौडी क्षेत्रमा ५÷७ वर्षदेखि सुन्तला फल्न छोडेको स्थानीय युवा नविन योगी बताउँछन् । सुन्तला खेती संकटमा परेपछि घर खर्च धान्न नसक्दा यहाँका सुन्तला किसान मजदुरीका लागि भारत जानुपर्ने बाध्यतामा छन् ।

सरकारी निकायले पनि रोग किरा नियन्त्रणमा बेवास्ता गरेका किसानहरुको गुनासो छ । गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनौंट जस्ता काममा किसानले ध्यान नदिएकाले सुन्तला बगैँचा मासिने क्रम बढेको सरकारी अधिकारीहरु बताउँछन् । जिल्लाको दुल्लु नगरपालिकाका वडा नम्बर १–१३ सम्म र भैरबी गाउँपालिकाको वडा नम्बर ३ देखि ७ सम्म प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत सुन्तला जोन कार्यक्रम लागु छ ।

२०७३ देखि लागु भएको उक्त परियोजनाले सुन्तला खेतीको क्षेत्र विस्तार, सिंचाई, सुन्तला बगैँचा व्यवस्थापन, किसानलाई प्राविधिक सहयोग गरिरहेको छ । परियोजनाले सुन्तला जोन अन्तर्गत वर्षेनी ३०–५० लाखसम्म बजेट खर्चिने गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका परियोजना कार्यान्वयन इकाई सुर्खेतका प्रमुख पुष्पराज पौडेलले दैलेखमा सुन्तलाको उत्पादन क्षेत्र घट्दै गएको बताउँछन् ।

रोग प्रकोपको आक्रमणले सुन्तलाका बोट सुक्दै गएको उनको भनाई छ । ‘अब सुन्तलाका पुरानो बगैँचालाई हटाएर नयाँ स्वस्थ बिरुवा लगाउनुपर्छ,’ उनले भने । जलवायू परिवर्तनको असर प्रत्यक्ष रुपमा सुन्तला खेतीमा देखा परेको पौडेल बताउँछन् । ‘जलवायू परिवर्तनको असर प्रत्यक्ष रुपमा सुन्तला खेतीमा परेको देखिन्छ, पहिले सुमुन्द्र सतहदेखि १२ सय मिटरसम्मको उचाईमा सुन्तला उत्पादन राम्रो हुन्थ्यो, अहिले उक्त उचाईमा सुन्तला फल्न छोड्यो त्यहाँ आँपको उत्पादन राम्रो हुन थाल्यो, अहिले त सुन्तला खेतीका लागि १५ सय मिटर उचाईसम्मको हावापानी राम्रो हुन थाल्यो,’ उनले भने ।

सुन्तला जोन कार्यक्रमले दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाका बिरुवामा गरेको पीसीआर अनुसन्धानमा ‘ग्रिनिङ’ रोगका कारण सुन्तलाका बोट सुक्दै गएको फेला परेको थियो । उक्त अनुसन्धानमा रोगका कारण झन्डै ५० प्रतिशत उत्पादन घटेको देखाएको थियो । सुन्तला बगैँचाको व्यवस्थापन कमी हुँदा पनि सुन्तलाको उत्पादन घटेको देखाएको छ । कृषियोग्य जमिनको एकीकरण नहुनु, विशिष्टीकृत व्यवसायीकरणको अभाव, उन्नत प्रविधि नअपनाइनुलगायत कारण पनि समस्या भएको छ ।

भैरबी गाउँपालिका–७ मान्मका किसान कृष्णप्रसाद आचार्यले सुन्तला खेती संकटमा पर्दै जानुमा किसानहरुको कमजोरी पनि रहेको बताउँछन् । ‘किसानहरूको लापरबाही पनि उत्तिकै छ,’ उनले भने, ‘किसानहरूले मलजलको उचित व्यवस्थापन पनि गर्न सकेका छैनन्,’ उनले भने । ३६ वर्षिय आचार्य पछिल्लो ७ वर्षयता सुन्तला खेती गरिरहेका छन् ।
उनको बगैँचामा पाँच सय बोट सुन्तला छ । नगदे बाली छोडेर व्यक्तिगत लगानीमा सुन्तला खेती सुरु गरेको आचार्यले सुन्तलामा बढि हेरचाहाको गर्नुपर्ने बताउँछन् । सुन्तला जोन कार्यक्रमबाट धनकुटामा सुन्तला खेतीबारे तालिम प्राप्त गरेका आचार्य भन्छन् ‘जलवायू परिवर्तन, रोककिरा र प्रकोप र हेरचाहामा कमी हुँदा दैलेखमा सुन्तला खेती संकटमा परेको देखिन्छ ।’

किसानले सुन्तलाको बोट रोपेर छोडिदिने, हेरचाहा नगर्ने प्रवृति रहेको उनको भनाई छ । ‘सुन्तलाको बोट रोपेपछि त्यो बोटलाई खाद्य तत्व कति मात्रामा चाहिन्छ, रोग किरा र प्रकोप नियन्त्रण गर्न कुन समयमा कुन औषमी प्रयोग गर्ने, काँटछाँटको तरिका, मल र पानी कति मात्रामा दिने भन्नेबारे ज्ञान किसानहरुमा छैन्, त्यसैले सुन्तला खेती संकटमा पर्दै गएको छ ।’ सुन्तला खेतीको आधुनिक प्रविधिबारे सबै किसानहरुलाई ज्ञान र सिप दिइनुपर्ने उनी बताउँछन् । पुराना बिरुवा भएकाले पनि उत्पादन घट्दै गएको उनी बताउँछन् ।

११ वडामा आलु र १८ वडामा बाख्रा जोन
दैलेखमा सुन्तलासँगै आलु खेतीले पनि प्रख्यात छ । यहाँको गुराँस, डुङ्गेश्वर, नारायण, महाबु, भैरबी, भगवतीमाई, दुल्लु लगाएतका स्थानीय तहमा आलु खेती हुन्छ । दैलेखमा भईरहेको आलु खेतीको क्षेत्र विस्तार र विकासका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत आलु जोन कार्यक्रम लागु छ ।

आलु खेतीका हिसावले प्रख्यात रहेको गुराँस गाउँपालिकाको वडा नं. ३ देखि ८ र डुङ्गेश्वर गाउँपालिकाको वडा नम्बर २, ३ र ४ मा आलु जोन कार्यक्रम लागु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कर्णाली प्रदेश प्रमुख पौडेलले बताए । आलु जोन कार्यक्रम मार्फत किसानलाई आलु खेतीको क्षेत्र विस्तार, ५० प्रतिशत अनुदानमा बीउ वितरण, चक्लाबन्दी, दुई सय रोपनीमा सामुहिक आलु खेती, साना सिंचाई, औजार उपकरण वितरणको काम भईरहेको छ । वर्षेनी ३० देखि ५० लाख रुपैयाँ बजेट खर्च गरिरहेको आलु जोन कार्यक्रमबाट चालु आर्थिक वर्षमा गुराँस गाउँपालिका–३ पातिकान्लामा रस्टिक स्टोर निर्माण गर्ने तयारीमा छ ।

त्यस्तै दैलेखको चार वटा स्थानीय तहमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत बाख्रा जोन कार्यक्रम पनि सञ्चालनमा छ । नारायण नगरपालिकाको वडा नम्बर ४–१०, चामुण्डाविन्द्रासैनीको १–३, भैरबीको ६ र ७ तथा महाबुको ३–६ गरि १८ वडामा उक्त कार्यक्रम लागु छ ।

कार्यक्रमले बाख्रा खोर निर्माण, पशु नष्ल सुधार लगाएतका क्रियाकलाप सञ्चालन गरिरहेको प्रमुख पौडेलले बताए । ‘दैलेखमा सुन्तला, आलु र बाख्रा जोन कार्यक्रम कार्यान्वयनमा छ, हरेक जोन अनुसार वर्षेनी ३०–५० लाख रुपैयाँ बजेट खर्च भईरहेको छ, तीन वटै जोन कार्यक्रम कार्यान्वउन भएदेखि हालसम्म आठ हजार एक सय ७६ घरपरिपार लाभान्वित भएका छन् ।’

तपाईको प्रतिक्रिया