ओझेलमा हुम्लाको यारी भन्सार, न पूर्वाधार न दरबन्दी


नेपाल र चीनको सिमाना हिल्सामा स्थापना भएको यारी नाका भन्सार ओझेलमा परेको छ । हुम्लासँग सिमाना जोडिएको हिल्सामा २०७५ मा अध्यागमन कार्यालय स्थापना गरी भन्सार सञ्चालन गरिएको थियो । तर प्रदेश र संघीय दुबै तहका सरकारको ध्यान नजाँदा हाल यारी नाका भन्सार ओझेलमा छ । दुबै तहका सरकारले आवश्यक बजेट व्यवस्थापन गरी भन्सार सञ्चालनमा जोड दिन नसक्दा स्थापना भएको भन्सार कार्यालयसमेत बन्द हुने अवस्थामा छ ।

यारी भन्सार नियमित सञ्चालन हुनसके हुम्लावासीलाई समान ढुवानीमा निकै सहज हुनेछ । हाल हुम्लामा सामान आयातका लागि यारी नाका एक मात्रै विकल्प पनि हो । तर हुम्ला सदरमुकाम सिमिकोटबाट भन्सार कार्यालयसम्म पुग्न नत सहज सडक छ । नत यातायात सेवा नै ।

साँघुरो कच्ची सडक गुड्ने बोलेरो जीपमार्फत यो भन्सारबाट हुम्लामा लत्ता कपडासहित व्यवसायीक सामाग्री, खाद्यान्न तथा निर्माण सामाग्री आयात हुने गर्दछन् । यारी भन्सार नेपालमा सामान आयात निर्यातका लागि ठुलो सम्भावना बोकेको नाका पनि हो । तर भन्सारसम्म पुग्न तथा भन्सार सञ्चालनका लागि आवश्यक पूर्वाधार विकासमा सरकारले जोड दिन सकेको छैन ।

हालसम्म प्रदेश तथा संघीय सरकारको लगानीमा यारी भन्सार कार्यालयको आफ्नै भवन समेत निर्माण हुन सकेको छैन । भन्सार कार्यालयसँगै सीमा प्रहरी बलको कार्यालय लगायतका अन्य मातहतका कार्यालय स्थापना गर्न पूर्वाधार विकासमा सरकारको ध्यान गएको छैन ।

एक जना कर्मचारीको भरमा सञ्चालित यारी भन्सार कार्यालयका सबै शाखा ठप्प छन् । हाल भन्सार कार्यालय प्रमुखको रुपमा नायब सुव्बा रामराज जैशी मात्रै कार्यरत छन् । भने अन्य सबै दरबन्दी रिक्त छन् । ‘अनलाइन सिस्टममा काम गर्नुपर्ने हो तर भन्सार कार्यालयमा इन्टरनेटसमेत छैन, यस बारे विभागमा भन्दा पनि सुनुवाइ भएन’ कार्यालय प्रमुख जैशीले भने, ‘नेट चलाउन चीनको सिम प्रयोग गरेर चीनको सिमा क्षेत्र जानुपर्छ, त्यो पनि निकै महंगो छ, कार्यालयको काम कसरी गर्ने ?’

कार्यालय प्रमुख जैशी आफुलाई काम गर्ने जोस हराएको भन्दै भन्सार कार्यालय छोड्ने तयारीमा छन् । उनका अनुसार गत बर्ष २२ लाख बढि राजस्व संकलन गरेको भन्सारले यस बर्ष चैत्र महिनाभित्रै ११ लाख बढि राजस्व संकलन गरिसकेको छ ।

‘विभागले ५ लाख राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । तर असार नलाग्दै दोब्बर राजस्व संकलन भइसकेको छ’ उनले भने, ‘भन्सार नियमित सञ्चालन हुने हो भने करोडौं संकलन हुने देखिन्छ, यसमा सरकारले ध्यान दिन जरुरी छ ।’
यता भन्सार विभागका निर्देशक पुण्य विक्रम खड्काले यारी भन्सारमा पूर्वाधार विकासका लागि चीनसँग कुटनीतिक पहल भइरहेको बताए । ‘यारी भन्सार संचालनमा सडक, यातायात सेवा, पुल निर्माण, अन्य कार्यालय स्थापना लगायतका धेरै समस्या छन्’ उनले भने, ‘त्यहाँ मौसम अनुकुल पूर्वाधार निर्माण गर्न जरुरी छ, यसका लागि पहल भइरहेको छ ।’

वर्षमा ६ महिनामात्रै भन्सार सञ्चालन


कार्यालय प्रमुख जैशीका अनुसार हिमपात र चिसो मौसमका कारण यारी भन्सार बर्षमा ६ महिना मात्रै खुल्छ । त्यसैमा पनि चीनले आफुखुसी खोल्ने र बन्द गर्ने गर्छ । चिसोले गत मंसिर अन्तिम यता बन्द भएको भन्सार अब बैशाख १५ गतेपछि मात्रै खुल्ने भएको छ ।

‘कार्यालयमा मौसम अनुसार बन्दोबस्तको व्यवस्था छैन, हिमपातसंगै अत्याधिक चिसो बढेपछि बन्द गरेर सदरमुकाम झर्नुपर्ने बाध्यता छ’ उनले थपे, ‘भन्सार सञ्चालन हुने अन्य महिनामा पनि हावाहुरी निकै चल्छ, त्यसैले काम गर्न सकस छ ।’
भन्सार सञ्चालन भएको समयमा बिहान ९ देखि ११ र दिउँसो २ देखि ४ बजेसम्म नाका खुल्छ । चिसोले हिल्साबाट फिर्ता भएका कार्यालय प्रमुख अँझै हिल्सा नफर्किएको भन्दै स्थानीयले दवाब दिएका छन् । ‘म एक्लै छुँ, त्यसैमा पनि कहिले काँही काम विषेश जिल्ला छोड्नुपर्ने हुन्छ, संधै कार्यालयमा बस्न सकिँदैन’ उनले भने, ‘सरकारले अरु कर्मचारीको दरबन्दी कायम गर्नुपर्छ । काममा सहयोगका लागि मैले करारमा कार्यालय सहयोगी राख्ने तयारी गरेको छुँ ।’

सीमा सुरक्षा चौकीका सशस्त्र प्रहरी निरीक्षक प्रमोद विष्टले यस बर्ष यारी नाकाबाट चीन जाने व्यापारी छिट्टै आउन थालेपछि कार्यालय प्रमुख जैशीलाई चाँडो आउन अनुरोध गरिएको बताए । बाख्लो हिउँका कारण हुम्लाको नारा लेकसम्म यातायातका साधनमार्फत र त्यसबाट उता हिल्सासम्म पैदल हिँडेरै भएपनि दैनिक पाँच–सात जना व्यापारी नाका पुग्ने गरेका छन् । उनीहरू चीनको ताक्लाकोटबाट सामान ल्याउँछन् ।

हिमपात कारण भन्सार बन्द हुनुअघि चीनबाट आएको सामानको राजस्व सशस्त्र प्रहरीले उठाउँदै आएको थियो । बाक्लो हिमपातका कारण सकस परेपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी, सात जना हिल्साका होटेल कुरुवा र केही ब्यापारीहरु समेत हिल्सा छोडेर सिमिकोट बस्दै आएका थिए । तर प्रहरी हिल्साफिर्ता भएपनि भन्सार कार्यालय प्रमुख सिमिकोटमै छन् ।

थप सात वटा नाका खोल्न चीन तयार
चीनले नेपालतर्फको थप सात वटा नाका खोल्नका लागि तयार भएको छ । चीनसँग जोडिएको नेपालका परम्परागत १४ वटा नाकामध्ये तत्काल थप सात वटा नाका खोल्न तयार रहेको पत्र परराष्ट्र मन्त्रालयलाई पठाएको हो ।

प्रधानमन्त्री प्रचण्ड चीन भ्रमण गएको बेला विभिन्न १४ वटा नाका खोल्ने सहमति भएको थियो । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले हालै सम्पन्न गरेको चीन भ्रमणको क्रममा पनि नाका खोल्ने बारेमा छलफल भएका थियो ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार नाका खोल्नका लागि चीनले अग्रसरता लिएपनि नेपालको तर्फबाट चासो दिइएको छैन । चीनले पत्र पठाएको एक महिनाभन्दा बढी बितिसकेपनि प्रक्रिया खासै अघि बढ्न नसकेको ती अधिकारीले बताए । तर प्रधानमन्त्री कार्यालयले भने यस बारे आन्तरिक तयारी भइरहेको र यो प्रक्रिया छिट्टै अघि बढाउने बताएको छ ।

१४ वटा नाकामध्ये यसअघि नै तातोपानी, केरुङ, कोरला र हिल्सा नाका सञ्चालनमा आइसकेका छन् । बाँकी नाकामध्ये पहिलो चरणमा सात वटा नाका खोल्नका लागि चीन तयार भएको हो । झोङ्वा र डोल्पाको मेयोङ नाका, झोङ्बा र मुगुको यासिमा नाका, जिरोङ र गोरखाको झोङ्गा नाका र गोङ्डाङ नाका, न्यालामु र दोलखाको झासिगांग नाका, डिङ्जे र ताप्लेजुङको रिवु नाका तथा पुलान नाका र बझाङको बोलिना नाका खोल्नका लागि चीनले पत्र पठाएको छ ।

तपाईको प्रतिक्रिया