दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणका लागि चीनबाट सामानहरू आउन थाले


दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा हुन लागेको पेट्रोलियम पदार्थ अन्तिम अन्वेषणका लागि चीनबाट सामानहरू आउन थालेका छन् । २०७६ साल असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम ड्रिलिङ सर्वेको कामका लागि नेपालगन्ज नाका रुपैडियामा रोकिएको ठुला उपकरणहरु आउन थालेको हो ।

ड्रिलिङ सर्वेको लागि ल्याइने ठुला उपकरणहरु राख्ने पाउण्डेशन तयारी भईसकेको छ । मेशिन चीनबाट कलकत्ता हुँदै अन्वेषण स्थलमा ल्याइएको हो । शनिवार साँझ उपकरण बोकेको ३ वटा ट्रक दैलेख आएसँगै काम गर्न ३ सिफ्टमा विभाजन भएर गर्न थालिएको जनाइएको छ ।

अन्वेषण परियोजनाका अनुसार २४ घण्टा नै ३ सिफ्टमा काम गर्ने गरी व्यवस्थापन गरिएको जनाइएको छ । २४ घण्टा काम गर्ने कार्य योजना भएपछि सशस्त्र प्रहरी बलले सुरक्षा दिने गरी सुरक्षा व्यवस्था मिलाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । चीनबाट सामानहरू आउन थालिसकेका छन् । प्रमुख जिल्ला अधिकारीले भने, कामहरू दिनरात नभनेर गर्ने कार्य योजना अनुसार सशस्त्र प्रहरीलाई सुरक्षा जिम्मेवारी दिएका छौँ । तत्कालका लागि चिनियो टोलीसँगै स्थानीय १२ जनालाई अन्वेषणले रोजगारी दिएको छ। काम अघि बढेसँगै स्थानीयहरूलाई बढी रोजगारी दिइने परियोजनाले जनाएको छ ।

अब हुने अन्तिम अन्वेषण भएकाले दैलेखमा कति क्षमता (भण्डारण) को पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउनुका साथै गहिराई पनि मापन हुने जनाइएको छ । परिणाम कति छ? कहाँ कहाँसम्म फैलिएको छ? उत्खननका लागि खर्च र फाइँदाबारे भने अन्तिम अन्वेषण ड्रिलिङ गर्ने कार्यपछि थाहा हुने भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश नापितले बताए । ‘ड्रिलिङ हुने स्थानमा फाउन्डेसन लगायत सबै तयारी पुरा भएको छ’ पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश नापितले भने, मेशिन झन थालेसँगै ड्रिलिङ गर्न सुरु हुन्छ ।’ उनका अनुसार ड्रिलिङ भएको ४ देखि ५ महिनाभित्र अन्वेषणको काम सकिने छ ।

अन्वेषणका लागि आवश्यक पर्ने ठुला उपकरण सुर्खेतदेखि दैलेख ल्याउन कर्णाली राजमार्ग हुँदै साँगेतडा बजारबाट चामुण्डाविन्दासैनी नगरपालिकाबाट पुष्पलाल (मध्यपहाडी) राजमार्ग हुँदै ड्रिलिङ सर्वे हुने स्थान भैरवी गाउँपालिकाको जलजलेसम्म ल्याइएको छ । सडक डिभिजन सुर्खेत मार्फत सडकको मोडहरू फराकिलो पार्न ४ करोड ३६ लाखमा ठेक्का सम्झौता गरी ठाउँठाउँमा सडकका मोडहरू चौडा बनाइएको छ । १५ मिटर लम्बाइ र ४० देखि ४५ टनको ठुलो ड्रिलिङ मेशिन ल्याउन सडक साँगुरो भएको हो ।

नेपाली र चीनको प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी ४ वटा सर्भेका काम भईसकेको छ। यसअघि टोलीले पहिलो चरण सम्भाव्यता अध्ययन र दोस्रो चरणमा ड्रिल मेसिनमार्फत अन्वेषण सकिसकेको छ। दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषणका लागि खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओलोजिकल सर्वे कम्पनीसँग २ अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा खानी अन्वेषण र उत्खननको काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। सरकारले भैरवी गाउँपालिका–१ जलजलेका २७ घरपरिवारको ४५ रोपनी जग्गाको मुआब्जा विवाद समाधान भएसँगै सरकारले प्रतिरोपनी १ लाख ७५ हजार रुपैयाँका दरले मुआब्जा दिएर अधिग्रहण गरिसकेको हो । –नागरिक)

तपाईको प्रतिक्रिया