दैलेखमा एसईई परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

दैलेख सदरमुकामको त्रिभुवन मावि दैलेख बजार परीक्षा केन्द्रमा एसईई परीक्षाका नक्कली परीक्षार्थी फेला परेका छन् । नक्कली परीक्षार्थी भन्ने निश्चित भएपछि प्रहरीको जिम्मा दिइएको केन्द्राध्यक्ष निरकबहादुर तारामीले जानकारी दिए ।

एसईई परीक्षाको पहिलो दिन भाई सट्टामा दाईले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेको खुलेकोले नक्कली परीक्षार्थी पक्राउ गरी आवश्यक कानूनी कारवाही थालिएको दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक डीएसपी किशोर लम्सालले बताए ।

गैडाबाज मावि रानीवनका नियमित एसईई परीक्षार्थी भाईका लागि नक्कली परीक्षार्थी बनेका आरोपित बालक सदरमुकामको त्रिभुवन मावि दैलेखबजारमा कक्षा १२ का विद्यार्थी हुन् । मुखमा मास्क लगाई आएका र प्रवेशपत्रको फोटो पछि टाँसेको देखेर सोधीखोजी गर्दा पत्ता लागेको हो ।

१५ वर्षको सहोदर भाईको सट्टा नक्कली परीक्षार्थी बन्ने दाजु चाहिँ १७ वर्षका बालक हुन् । ‘पढाईमा कमजोर भएकोले नियमित परीक्षामै पास गराउन सक्छु’ भनेर भाईको प्रवेशपत्रमा आफ्नो टाँसेर परीक्षा हलमा गएको आरोपित बालकले भने । उनका बुबा भारतमा मजदूरी गर्न गएका र आमा खेती किसानी गर्छिन् । १५ वर्षको एसईई परीक्षार्थी भाईपछि ११ वर्ष बहिनी छिन् ।

मुलुकी अपराध सहिंता २०७४ र राष्ट्रिय परीक्षा बोर्ड नियमावली अनुसार अरु कसैको नाममा परीक्षा दिएको पाइएमा परीक्षार्थीलाई दुई वर्षसम्म त्यो तहको परीक्षा दिन नपाउने दुई वर्षसम्म कैद हुनसक्ने कानूनी व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया