बलात्कारमा परेकी बालिका प्रदेश अस्पताल रिफर, आरोपी ५ जना पक्राउ

मुगु, २ माघ ।
सामूहिक बलात्कारमा परेकी मुगुको छायाँनाथ रारा नगरपालिका–१४ की बालिकालाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ । स्वास्थ्य सेवा कार्यालय गमगढी मुगुमा उपचार सम्भव नभएपछि अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) अन्तर्गत उनलाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।

बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ परेका छन् भने अन्य चार जना फरार छन् । छायाँनाथ रारा नगरपालिका–१४ घर भई हाल गमगढी बजारमा बस्दै आएकी पीडितमाथि नगर प्रहरीका एक जवानसहित ९ जनाले सामुहिक बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले छायाँनाथ रारा नगरपालिका–५, कार्कीवाडाका ३० वर्षीय नगरप्रहरी बसन्तबहादुर कार्की, कृषि विकास कार्यालय गमगढीमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका–८ का २२ वर्षीय बसन्त रोकाया लगायत १४ वर्ष मुनिका ३ जना नाबालकहरूलाई पक्राउ गरेको छ । बलात्कारमा संलग्न भएको आरोप लागेका कृषि विकास कार्यालयका सवारी चालक पदमबहादुर कठायत र अन्य ३ जना नाबालकहरू भने फरार रहेका छन् ।

प्रहरी कार्यालयका अनुसार बलात्कारमा परेकी बालिका यही पुस २० गते जिल्ला अस्पताल मुगुमा चेकजाँच गर्न आएकी थिइन् । अस्पतालमा उपचार सम्भव नभएपछि (ओसिएमसी) कार्यक्रम अन्तर्गत बालिकालाई पुस २३ गते प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुकी सिनियर अनमी रामदेवि केसिले बताइन् ।

बालिका अहिले प्रदेश अस्पतालको (ओसिएमसी) अन्तर्गत फाँटमा रहेकी छन् । छायाँनाथ रारा नगरपालिका–५ कार्कीवाडाका छायाँनाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी ३० वर्षीय बसन्तबहादुर कार्की, कृषि विकास कार्यालय गमगढी मुगुमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका–८ आँसिधाराका २२ वर्षीय बसन्त रोकाया र अन्य केही १४ वर्षका बालकले १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेका थिए ।

सामूहिक बलात्कारमा परेकी बालिकाको गर्भमा बच्चा समेत रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक (डिएसपी) बिरेन्द्रबहादुर थापाले बताए । १४ वर्षका बालकहरूले गत १६ भदौमा आफूमाथि बलात्कार गरेका र १० असोजमा नगर प्रहरी बसन्त कार्कीसहित बसन्त रोकाया र पदमबहादुर कठायतले बलात्कार गरेको पीडित बालिकाले बयानमा बताएकी प्रहरीले जनाएको छ ।

पीडित बालिकाको भनाइ उद्धृत गर्दै प्रहरी नायव उपरीक्षक थापाले भने, ‘१४ वर्षका किशोरहरूले गएको भदौ १६ गते बेलुका आफ्नो कोठामा भेट्न बोलाएपछि उनी सोही दिन बेलुका अन्दाजी ९ बजेको समयमा उनीहरूको गमगढीस्थित कोठामा भेट्न गएको र ६ जनाले जबरजस्ती करणी गरेको बताएकी छन् ।’

बलात्कारबाट पेट दुख्नेजस्ता समस्याहरू भएपछि जिल्ला अस्पताल मुगुमा चेकजाँच गराउँदा आफ्नो पेटमा गर्भ रहेको कुरा थाहा पाएको पीडित बालिकाले बताएकी छन् । नगर प्रहरीसहितले गरेको सामूहिक बलात्कारबारे पीडित बालिकाले प्रहरीलाई बयान दिएकी छन् ।

‘असोज १० गते राति अन्दाजी ९ बजेको समयमा नगर प्रहरी बसन्तबहादुर कार्कीले आफू बस्ने डेरा बाहिर आई आफू एकछिन काम छ बाहिर आऊ त नानी भन्दै आफ्नो हात समाई आफूसँगै हिँड भनी कृषि विकास कार्यालयको भवनको एक कोठामा लगि उक्त कोठामा पुग्नासाथ नगर प्रहरी बसन्त कार्की, बसन्त रोकाया र पदमबहादुर कठायतले आफूलाई विभिन्न खालका प्रलोभन, डर त्रास देखाई पालैपालो बलात्कार गरेका बयान दिएकी छन् ।’

तपाईको प्रतिक्रिया