सानाखानेपानी आयोजनालाई सहयोगको खाँचो

वीरेन्द्रनगर नगरपालिकाको ठुलो जनसंख्यालाई खानेपानी सुविधा सुर्खेत उपत्यका खानेपानी आयोजना (झुप्रा बृहत) ले उपलब्ध गराउँदै आएको छ ।खानेपानी भनेपछि झुप्रा बहृतकै पहिलो नम्बरमा चर्चा हुन्छ । उपभोक्ताबाट आफ्नै लगानीमा निर्माण भएको देशकै ठुलो र सफल आयोजना हो ।

यसआयोजनाको सफलताबाट देशैभरीका धेरै अन्य खानेपानी आयोजनाले सिकाई लिएका छन् । यस उपभोक्तासंस्थामा बढि राजनीतिकरण भएपछि संस्थाको निर्वाचन नभएको लामो समय भयो । संस्था आफैमा नेतृत्व विहिन जस्तै भएको छ । झुप्रा बृहतबाटै जडान भएका धाराबाट सुर्खेत उपत्यका भित्रका सबै टोल तथा समुदायमा नियमित पानी पुग्दैन । प्राविधिक समस्याका कारण सबै टोल तथा सामुदायमा खानेपानीले नियमित सुविधा उपलब्ध गराउन सकेको छैन ।

खानेपानीको समस्या भएपछि स्थानीयबासीन्दा आफ्नै सक्रियतामा सार्वजनिक कुवा खन्ने, डिप बोरिङ, पानी संकलन र वितरणका कार्यहरु गरिँदै आएको छ । केही समुदायको निश्चित घरधुरीमा खानेपानीको सुविधा उपलब्ध गराउँदै आएका खानेपानी उपभोक्ता समितिबाट सञ्चालित खानेपानी आयोजनाहरुमा सम्बन्धित निकायको ध्यान नपुगेको गुनासो छ । वि.सं. २०५२ सालमा स्थापना भएको वीरेन्द्रनगर–११ धुलियाविटको लसुनपानी खानेपानी आयोजना, वीरेन्द्रनगर–१० बेलघारी खानेपानी आयोजना केही संघ संस्थाहरुले निर्माण गरी सञ्चालनमा ल्याएका आयोजना हुन ।

सुरुवात चरणमा सहयोग पाएपनि सञ्चालनमा बर्षेनी आउने समस्या, पाईपर्लाइन विस्तार, ट्याङ्की थप तथा विस्तार जस्ता कार्यमा कहिँ कतैबाट लगानी नभएको गुनासो छ । वीरेन्द्रनगर नगरपालिका, प्रदेश सरकार तथा दातृ निकाय कतैबाट सहयोग नलिएको, नपाएको, प्रदेश सरकारबाट समेत कुनै सहयोग नपाइएको गुनासोछ । खानेपानीको ठुलो आयोजनाले यस्ता साना आयोजनाहरु ओझेलमा परेका छन् ।

पहिले जिल्ला विकास समितिमा दर्ता गर्दै आइरहेको खानेपानीका आयोजनाहरु स्थानीय तहलाई जिम्मा दिन थालेपछि स्थानीय तहमै दर्ता हुने गरेका छन् । वीरेन्द्रनगरमा हालसम्म १८ वटा खानेपानीका आयोजना दर्ता भएका छन् । चिप्ले ढुङ्गा धारा खानेपानी मुहान वीरेन्द्रनगर–१३ कोलडाँडा, खोरिया खानेपानी निर्माण उपभोक्ता समिति वीरेन्द्रनगर–१२ खोरिया, रातानाङ्गला लिफ्टिङ्ग खानेपानी आयोजना वीरेन्द्रनगर–१३÷१४, निगालापानी तथा सरसफाई आयोजनावीरेन्द्रनगर–१५ काफलटाकुरा, रतु खानेपानी आयोजना सञ्चालनमा छन् ।

त्यसैगरी सेतापैरा ग्रामिण सौर्य खानेपानी आयोजना, ईन्द्रेणी खोला खानेपानी जल आयोजना, पिपलडाँडा डिप बोरिङ्ग खानेपानी आयोजना, बेलघारी खानेपानी आयोजना, सुर्खेत उपत्यका खानेपानी आयोजना, अन्तरकाँडा बेलघारी खानेपानी आयोजना, बसेली ठुला खानेपानी आयोजना, करेखोला सिपापुर खानेपानी आयोजना, सिरेनी राताडाँडा झुप्रा खानेपानी आयोजना, शितल खानेपानी आयोजना, डङडङे खानेपानी आयोजना, प्रगती टोल सिंचाई आयोजना र मुलपानी खानेपानी आयोजना दर्ता भएका छन्।

स्थानीय सरकार सबैको अभिभावकिय संस्था हो । स्थानीय तहले आफ्नो कार्यक्षेत्रमा रहेका खानेपानी आयोजनाहरुको अभिलेख राखी उनीहरुको बार्षिक क्षमता विकास, सेवा प्रवाहमा थप सहयोग तथा आयोजना सुदृढिकरणमा लागि दातृ निकायसंग समन्वय, सहकार्य गर्नुपर्ने देखिन्छ । खानेपानीको ठुलो आयोजनाको (छाँया) ओझेलमा परेर पनि स्थानीय समुदायमा राम्रो सेवा, सुविधा उपलब्ध गराएका त्यस्ता आयोजनालाई नगरपालिकाको बार्षिक नीति तथा कार्यक्रम, बार्षिक बजेटमासमावेश गरी सहयोग गर्नुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया