उपचार नपाउँदा सुत्केरीको मृत्यु

जाजरकोट, २० साउन ।
अत्याधिक रक्तश्रावका कारण जाजरकोटमा एक सुत्केरीको मृत्यु भएको छ । छेडागाड नगरपालिका–१० काफ्ला निवासी २७ वर्षीया पशुपति थापा पुनको मृत्यु भएको हो । सोमबार बिहान ४ बजेतिर घरमै सुत्केरी भएकी पशुपतिको रक्तश्राव नरोकिएका कारण बिहान १० बजेतिर मृत्यु भएको उनका पति शंकर पुनले बताए ।

रक्तस्राव नरोकिएपछि उपचारका लागि कुशे गाँउपालिका–७ बाटुले बजारमा रहेको एक मेडिकलमा लगिएको थियो । तर मेडिकलमा पनि उपचार हुन नसकेपछि उनको मृत्यु भएको हो । बच्चा भने सकुशल रहेको छ । ‘धेरै रगत बगिसकेको थियो । अन्तिम अवस्थामा मेडिकलमा ल्याइएकी सुत्केरीलाई रगत चढाउनु पर्ने अवस्था थियो तर मेडिकलमा त्यस्तो सुविधा थिएन’ मेडिकल संकलक अहेब प्रवेश थापाले भने, ‘बचाउन धेरै कोसिस ग¥यौँ तर धेरै रगत बगिसकेकाले बचाउन सकेनौ ।’

जिल्लामै रगत दिने किसिमका सुरक्षित प्रसूतिगृह नहुँदा धेरै महिलाले अकालमा ज्यान गुमाउने गरेका छन् । भरपर्दो स्वास्थ्य संस्था नहुँदा घरमै असुरक्षित तरिकाले सुत्केरी हुँदा उनले अकालमा ज्यान गुमाउनु परेको हो । समस्यामा परेका दुर्गमका महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा उद्दार गर्ने गरिएपनि उक्त सुविधाबारे जानकारी नपाउँदा ती महिलाको अकालमा ज्यान गएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. सुनिल पुनले बताए ।

तपाईको प्रतिक्रिया