कर्णालीका ४९४ जना कोरोना संक्रमित डिस्चार्ज

सुर्खेत, ४ असार ।
कर्णालीमा कोरोना संक्रमितहरु आइसोलेसनबाट डिस्चार्ज हुनेक्रम पनि बढेको छ । सामाजिका विकास मन्त्रालयकाअनुसार हालसम्म प्रदेशमा चार सय ९४ जना संक्रमित डिस्चार्ज भएका छन् । बुधबारमात्रै दैलेखको महावु गाउँपालिकाको आइसोलेसनबाट एकसय ६ जना, नारायण क्याम्पस, जिल्ला अस्पतालको आइसोलेसनबाट ४३ जना र प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनबाट तीन जना गरी कुल एकसय ५२ जना डिस्चार्ज भएका छन् । यद्यपी कर्णालीमा हालसम्म मृत्यु भएका चार जनामा कोरोना देखिएको छ ।

प्रदेशमा कोरोना संक्रमितको संख्या एकहजार एकसय चारजना पुगेको छ । जसमध्ये बुधबारमात्रै थप १८ जना कोरोना संक्रमित पुष्टि भएका हुन । सुर्खेत, दैलेख र कालिकोटका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थपिएका संक्रमितमध्ये सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ५, लेकबेशी नगरपालिका वडा नं. ३, दैलेखको भैरवी गाउँपालिका वडा न. ७ र भगवतिमाइ गाउँपालिका वडा ७ का एक÷एक जना रहेका छन् । त्यस्तै सान्नीत्रिवेणी गाउँपालिका वडा नं. २ मा ७ जना, वडा नं. ३ मा ६ जना र वडा नं. ५ मा एक जना रहेको मन्त्रालयले जनाएको छ । दैलेख र सुर्खेतका प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कालिकोटका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षणले संक्रमण पुष्टि गरेको हो ।

तपाईको प्रतिक्रिया